दुईवटा खुद्रा पसलबाट म्याद सकिएका सामान बरामद – Karnali News

दुईवटा खुद्रा पसलबाट म्याद सकिएका सामान बरामद

 २१ फाल्गुन २०७७, शुक्रबार ०७:५३  

कालीवहादुर परियार, फागुन २१ जुम्ला
जुम्ला बजारमा रहेका मध्ये २६ वटा खुद्रा पसलहरुको विहिबार अनुगमन गरिएको छ । दैनिक उपभोग्य सामानको मूल्य बढे नबढेको जानकारी लिन र उपभोक्ता हितको संरक्षण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नन्दराम चौलागाईको संयोजकत्वमा बजार अनुगमन गरिएको हो । अनुगमन गर्ने क्रममा कालेखोलिमा रहेको एनिसा खुद्रा पसलबाट सबैभन्दा बढी म्याद सकिएका सामान बरामद गरिएको छ । मरिज धुलो ४० प्याकेट, घरमा लगाउने पालिस २५ डिब्बा, फुरनदाना ६ प्याकेट र पुजाका लड्डु २ प्याकेट बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले बताउनु भयो । यसैगरी, निरुता जनरल स्टोर एण्ड अर्डर सप्लार्यसबाट ९ प्याकेट खुर्सानीको धुलो र २४ प्याकेट सरफ बरामद गरिएको उहाँको भनाइ छ ।

त्यस्तै कालेखोलीमा रहेको राज फ्रेस हाउसमा मासु र जिउदा कुखुरा सँगै राखेको भेटिएको हुनाले सँगै नराख्न अनुगमन टोलीले सुझाव दिएको छ । अनुगमनका क्रममा मूल्य सूचि नराखेको, स्थायी लेखा नम्बर नलिई व्यापार गरेको, सामानको मूल्य भन्दा बढी मूल्य व्यापारीले लिने गरेको भेटिएको छ । दैनिक उपभोग्य सामानको मूल्यमा बृद्धि भएको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन गरिएको हो ।

अहिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । पहिले प्रति प्याकेट ७५ रुपैयामा पाइने स्वास्तिक तेल अहिले १ सय १० रुपैयामा किनबेच भइ रहेको छ । यस्तै अन्य दैनिक उपभोग्य सामानको मूल्य बढेर आकासीयको छ । तर, सरोकारावाला निकायको अनुगमन प्रक्रिया फितलो र नियमित नभएकै कारण उपभोक्ताको ढाड सेकिने गरी व्यापारीले मूल्य वृद्धि गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र खाद्य गुण तथा नियन्त्रण डिभिजन कार्यालयको संयोजनमा बजार अनुगमन गरिएको चौलागाइले बताउनु भयो । अनुगमन टोलिले दिएको सुझावलाई अटेर गरेमा बजार अनुगमन निर्देशिका अनुसार जरिवाना तथा कारबाही गरिने चौलागाइले बताउनु भयो । बरामद गरिएका सामानको आजै नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।