जनजाति महिलाहरुका लागि साक्षरता कार्यक्रम – Karnali News

जनजाति महिलाहरुका लागि साक्षरता कार्यक्रम

 २१ फाल्गुन २०७७, शुक्रबार ०७:५१  

नौरते नेपाली,फागुन २० जुम्ला
चन्दननाथ नगरपालिका भित्र रहेका जनजाति महिलाहरुलाई लक्षित गरी साक्षरता अभिवृद्धि कार्यक्रमको सुरुवात गरिएको छ । सामान्य लेखपढ पनि गर्न नजान्ने महिलाहरुलाई लक्षित गरी तिन महिनाको लागि साक्षरता अभिवृद्धि कार्यक्रमको सुरुवात गरिएको हो । चन्दननाथ नगरपालिका जुम्लाको सहयोगमा झण्डै ८० भन्दा बढी जनजाति महिलाहरु यो कार्यक्रमबाट साक्षर हुने लक्ष्य राखिएको छ ।

आफ्नो नाम समेत लेख्न नजाने र मोवाइलमा आएको फोन नम्बर पनि नचिन्ने महिलाहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको चन्दननाथ नगरपालिका जुम्लाका काब मेयर अप्सरादेवि न्यौपाने (महतले) बताउनु भयो । जनजाति महिलाहरुमा रहेको निरक्षर दरलाई न्युनिकरण गर्नको लागि साक्षर कार्यक्रम संचालन गरिएको उहाँले बताउनु भयो । विहिबार कार्यक्रमको उद्घाटन गर्दे महतले जनजाति महिलाहरुमा रहेको निरक्षर दरलाई कम गर्ने लक्ष्य रहेको जानकारी गराउनु भयो । शिक्षाले गर्दा रोजगार र आत्मनिर्भर हुन सिकाउने भएकाले जनतासँग उपमेयर कार्यक्रमबाट जनजाति महिलालाई साक्षर बनाइने महतले बताउनु भयो । जुम्लामा रहेका अधिकांश जनजाति महिलाहरु आफ्नो नाम पनि लेख्न जानेका छैन् ।

तिन महिनाको अवधिमा उनिहरुलाई नाम लेख्न सिकाउने, अक्षर चिनाउने र सामान्य लेखपढ गर्न सिकाइने चन्दननाथ नगरपालिका शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाईले बताउनुभयो । तिन महिना सम्म संचालन हुने साक्षरता अभिवृद्धि कार्यक्रमबाट महिलाहरु अक्षर चिन्न सक्ने उहाँको भनाइ छ । चौलागाइका अनुसार कार्यक्रममा सहभागि महिलाहरुलाई पढाउने पुस्तक तयार भएकाले त्यसैका आधारमा कखर देखि एबिसि र सामान्य जोड घटाउ पनि सिकाउने कार्यतालिका रहेको जानकारी गराउनु भयो । शिक्षा प्राप्त भएमा व्यापार व्यवसायमा पनि सहयोग पुग्ने चौलागाईले बताउनुभयो । साक्षरता दर वृद्धि गर्दे शिक्षित र सभ्य नागरिक तयार गर्ने नागरपालिकाले रणनीति अवलम्बन गरेका उहाँको भनाइ छ ।

चन्दननाथ नगरपालिका ६ नम्बर वडाध्यक्ष अजवहादुर रावलले नगरपालिकाले जनजाति महिलाहरुलाई साक्षर गराउने कार्यक्रम संचालन गरेकोमा खुसी व्यक्त गर्नु भएको छ । शिक्षाको पहुँचबाट पछि परेका जनजाति महिलालाई लक्षित गरी संचालन गरिएको कार्यक्रमले परिवर्तन ल्याउने उहाँको भनाइ छ । दि हिमालयन पिस एसोशिएसनका काब अध्यक्ष दावा लामाले निरक्षर जनजाति महिलाहरु साक्षर हुने बताउनु भयो । गाउँमा विद्यालय भएपनि पढ्न नपाएका महिलाका लागि यो कार्यक्रमले फाइदा गर्ने लामाको भनाइ छ ।

मोवाइलमा आएको नम्बर पनि चिन्न नसक्ने महिलाका लागि साक्षरता अभिवृद्धि कार्यक्रमले राहत प्रदान गर्ने उहाँले बताउनु भयो । जनजाति समुदायमा अशिक्षाको कारणले भन्न खोजेको कुरा सहि उच्चारण नभएको हुनालो बोलाइ र लेखाइमा अन्तर हुने गरेको उहाँले सुनाउनु भयो । सरकारी कामकाजको भाषामा सेवा लिन जाँदा उच्चारण गल्ती भएकै कारण समस्या भोग्नु परेको लामाले अनुभव सुनाउनु भयो ।

जनजाति महिलाका प्रतिनिधि छिरिङ्ग लामु लामा तामाङ्गले परिचय दिन सक्ने, नाम लेख्न सक्ने र फोनमा आएको नम्बर चिन्न सक्ने गरी कार्यक्रमले साक्षर बनाउने आशा गरिएको बताउनु भयो । जनजाति महिलाहरु सामान्य लेखपढ पनि गर्न नसक्ने भएकाले नगरपालिकाले प्रदान गरेको साक्षरता अभिवृद्धि कार्यक्रमले चेतनाको विकास गराउने उहाँको भनाइ छ ।

अरुको अघि खुलस्त भएर आफ्नो परिचय दिन डराउने महिलाहरु यो कक्षाबाट अक्षर चिन्न र लेख्न सक्ने क्षमताको विकास हुने उहाँले बताउनु भयो । चन्दननाथ नगरपालिका जुम्लाको सहयोग र दि हिमालयन पिस एसोशिएसनको आयोजनामा जनजाति साक्षरता अभिवृद्धि कार्यक्रम संचालन गरिएको हो । यो कार्यक्रम फागुन २० देखि २०७८ जेष्ठ २० गतेसम्म संचालन हुने छ ।