छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका निवेदन आह्वान – Karnali News

छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका निवेदन आह्वान

 १९ फाल्गुन २०७७, बुधबार ०९:३१  

नौरते नेपाली, फाल्गुन १९ जुम्ला
सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउनको लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमको लागि निवेदन आह्वान गरेको छ । प्राविधिक शिक्षामा कर्णाली प्रदेशका महिलाहरूको पहुँच बढाउन कर्णाली प्रदेश सरकारले अघि सारेको छोरीबुहारी छात्रवृत्ति कार्यक्रम कार्यान्वयनका लागि कार्यालयले निवेदन दिन आह्वान गरेको हो ।

नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इञ्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने छ । कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढाउन छात्रवृत्ति प्रदान गर्नको लागि प्रदेश सरकारले कार्यक्रम ल्याएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलविर सुनारले बताउनु भयो । डिप्लोमा अध्ययन पूरा गर्दासम्मका लागि प्रदेश सरकारले नियमित छात्रवृत्ति उपलब्ध गराउने उहाँको भनाइ छ ।

सम्बन्धित विद्यालयबाट पहिले छात्रवृत्ति नपाएको सिफारिस र वडाको सिफारीस सहित निवेदन दिन सुनारले सबैलाई आग्रह गर्नु भएको छ । प्राविधिक शिक्षामा छोरीबुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्न यो कार्यक्रम प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷०७६ देखि अघि सारेको उहाँले जानकारी गराउनु भयो । सामाजिक विकास अधिकृत सुनारका अनुसार कार्यालयले सूचना प्रकाशन नगर्दा पनि दर्जन भन्दा बढी निवेदन परी सकेको बताउनु भयो । प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउनुको साथै कर्णाली प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुरुप एक जनालाई ६६ हजार देखि १ लाख ३० हजार रुपियाँसम्म छात्रवृत्ति प्रदेश सरकारले उपलब्ध गराउने सुनारको भनाइ छ ।

प्रदेश सरकारले अघि सारेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीय भगवति चौलागाइले बताउनु भयो । छात्रवृत्तिको लागि फर्म भर्न सामाजिक विकास कार्यालय जुम्लामा पुग्नु भएका उहाँले प्राविधिक शिक्षा पढ्ने इच्छा भएका तर आर्थिक नभएका छोरीबुहारीका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । प्राविधिक शिक्षा पढ्ने पहिले देखिको रहर अब पुरा हुनेमा चौलागाइ आशावादी हुनुहुन्छ । छनौट भएमा प्राविधिक धारको विषय पढेर समाजको लागि केहि गर्ने सोच रहेको उहाँले सुनाउनु भयो ।