काब उपकुलपतिको जिम्मा डा. मंगल रावललाई – Karnali News

काब उपकुलपतिको जिम्मा डा. मंगल रावललाई

 १८ फाल्गुन २०७७, मंगलवार ०७:५०  

फाल्गुन १८ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवहाक उपकुलपतिको जिम्मा डा. मंगल रावलले पाउनु भएको छ । सोमबार सहकुलपति समेत रहनु भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिनु भएको हो । चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सम्पन्न भएपछि डा. रावलले कार्यवाहकको जिम्मेवारी पाउनु भएको हो ।

कार्यवाहकको जिम्मेवारी दिइएको पत्र आफुलाई प्राप्त भएको डा. रावलले बताउनु भयो । कर्णालीको हिमाली दुर्गम जिल्ला हुम्लामा जमिनु भएका डा. रावल विगत ६ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हुनुहुन्छ । डा. रावल पछिल्लो समय अस्पताल निर्देशकको रुपमा काम गर्दै आउनु भएको थियो । हाडजोर्नी विशेषज्ञ चिकित्सक तथा एशोसिएट प्रोफेसर डा. रावलले प्रतिष्ठानको वृद्धि विकासका लागि निकै महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ ।

कर्णालीमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका डा. रावल यस वर्षको प्रबल जनसेवा श्रीबाट विभूषित समेत हुनु भएको छ ।