
एनिशा हमाल, फाल्गुन १५ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर ४ सिंगाचौर गाउँमा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शहरी स्वास्थ्य केन्द्रको संचालन गरिएको हो । गाउँमा स्वास्थ्य केन्द्र संचालन भएबाट नागरिकले गाउँमै स्वास्थ्य सेवा पाएका छन् । सामान्य विरामी हुँदा उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म जानु पर्ने बाध्यता हट्ने छ ।
चन्दननाथ नगरपालिका वडा नम्बर १ मा आधाभूत वडा स्वास्थ्य सेवा केन्द्र स्थापना भएकाले सोहि ठाउँको शहरी स्वास्थ्य केन्द्र सिंचागौर गाउँमा सारिएको हो । सिंगाचौर गाउँमा स्थापना भएको शहरी स्वास्थ्य केन्द्रबाट सेवा दिन सुरु भइ सकेको छ । गाउँ नजिकै स्वास्थ्य सेवा केन्द्र स्थापना भएकाले नारिकलाई सहज भएको सिंगाचौर गाउँका स्थानीय डिके नेपालीले बताउनु भयो । उहाँका अनुसार सदरमुकाम नजिक रहेको गाउँमा स्वास्थ्य सेवा केन्द्र नभएकै कारण यो भन्दा पहिले प्रतिष्ठान र अन्य स्वास्थ्य संस्थामा जानु पर्ने बाध्यता हटेको प्रतिक्रिया दिनुभयो ।
नागरिकको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी गाउँमा शहरी स्वास्थ्य केन्द्र संचालन गरेकोमा उहाँले नगरपालिकालाई धन्यवाद दिनु भएको छ । सामान्य बिरामी हुँदा पनि कर्णाली स्वास्थ्य विज्ञानमा गएर घन्टौँ लाइन लाग्नु पर्ने बाध्यता अब हटेकोे नेपालीको भनाइ छ । शहरी स्वास्थ्य केन्द्र बाट ३५ प्रकारका औषधिहरु नागरिकले निःशुल्क पाउने अनमि मोक्ति आचार्यले बताउनु भयो ।
नगरपालिकाले औषधि खरिद गरि स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने हुँदा नागरिकलाई निःशुल्क औषधि दिने गरिएको उहाँको भनाइ छ । शहरी स्वास्थ्य केन्द्रमा सामान्य स्वास्थ्य चेकजाँच र गर्भ जाँच लगायतका सेवा दिने गरिएको अनमि आचार्यले जानकारी गराउनु भयो । बिहान १० देखि दिउसो ३ बजे सम्म स्वास्थ्य सेवा खुल्ला रहने र बिरामीको चाप भएमा ५ बजे सम्म पनि सेवा दिदैँ आएको आचार्यको भनाइ छ ।
पहिले चन्दननाथ नगरपालिकाको १ नम्बरमा रहेको र अहिले ४ नम्बरमा सरेको हुनाले सबैलाई राम्रोसँग जानकारी नभएको उहाँले बताउनु भयो । गाउँमा कसैलाई रुघाखोकि लागेमा, ज्वरो आएमा, टाउको दुखेमा, गर्भ चेकजाँच गर्नु पर्ने शहरी स्वास्थ्य केन्द्रमा आउन आग्रह गरिएको छ ।