जुम्लामा क्रस जातको बोयर बाख्रा पालन व्यवसाय सुरु – Karnali News

जुम्लामा क्रस जातको बोयर बाख्रा पालन व्यवसाय सुरु

 १४ फाल्गुन २०७७, शुक्रबार ०७:३७  

नौरते नेपाली, फाल्गुन १४ जुम्ला
फाल्गुन १३ जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १० मा क्रस जातको बोयर बाख्रा पालन व्यवसाय सुरु भएको झण्डै ४ वर्ष भइ सकेको छ । ज्वाला बोयर बाख्रा पालन उद्योग स्थापना गरी व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरिएको हो । तराइको हावापानीमा सहजै हुर्कने र तौलमा चाँडै वृद्धि हुने जातको बाख्रा पालन गरिएको जुम्लामा पहिलो पटक हो ।

बारकोटे वाडागाउँका जंगहादुर शाहीका छोरा तुफान शाहीले व्यक्तिगत लगानीमा क्रस जातको बोयर बाख्रा पालन सुरु गर्नु भएको हो । व्यवसाय सुरु गर्ने बेला चन्दननाथ नगरपालिका जुम्लाले शाहीलाई बोयर जातको एउटा बोका अनुदान दिएको तुफानका अभिभावक जंगवहादुर शाहीले बताउनु भयो । १४ वटा जमुना र १ वटा सानन जातको बाख्रा ल्याएर व्यवसाय सुरु गरेको उहाँले बताउनु भयो । व्यवसायिक रुपमा बाख्रापालन गर्दै शाहीले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले बोयर जातका बोका ल्याएको उहाँले बताउनु भयो ।

हिउँदको सिजनमा हरियो डाले घाँसको अभावले तराईमा रहेका बोयर जातका बाख्रा जुम्लामा वृद्धि नभएको शाहीको भनाइ छ । थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रा पालनका लागि ल्याइएका बोका र पाठीबाट शुद्ध बोयर बाख्रा उत्पादन हुन नसकेको उहाँले जानकारी गराउनु भयो । क्रस जातको बोयर बाख्रा पालेबाट हालम्म १५ वटा विक्रि गरेको जानकारी गराउँदै उहाँले आफुसँग हाल २ वटा बोका र ४ वटा पाठी रहेको शाहीले बताउनु भयो । जुम्लामा चैत देखि कार्तिक महिनासम्म क्रस जातको बोयर बाख्रा राम्रो वृद्धि भएको उहाँले सुनाउनु भयो । कार्तिक देखि फाल्गुन महिनासम्म जुम्लामा हरियो डाले घाँसको अभावले तौलमा वृद्धि हुन नसकेको शाहीले जानकारी गराउनु भयो ।

क्रस गरी उत्पादन भएका बोयर बोका १५ देखि २० हजारमा बिक्र हुने गरेको शाहीले बताउनु भयो । छिटो तौल बढ्ने र आम्दानी पर्याप्त हुने भएकाले जुम्लामा परिक्षणको लागि क्रस जातको बोयर बाख्रा पालन व्यवसाय गरेको उहाँको भनाइ छ । शाहीका अनुसार शिक्षक पेशाबाट अवकास प्राप्त भएपछि यसलाई विस्तार गर्दे जुम्लामा उन्नत जातको बाख्रा पालन व्यवसाय गर्ने सोचले छोराको नाममा उद्योग स्थापना गरेको जानकारी गराउनु भयो । उद्योगमा अहिले क्रस बोयर जातका गरी ६ वटा बाख्रा रहेका छन् ।

जुम्लाको हावापानी अनुसार बोयर जातको बाख्रा पालन व्यवसाय जुम्लामा सफल रहेको शाहीले सुनाउनु भयो । सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोभन्दा बढीको हुने गर्छ । तर जुम्लामा तराइको जति तौलमा वृद्धि नभएको शाहीले बताउनु भयो । बोयर जातको बाख्राको छिटो शारीरिक वृद्धि, तौल बढी, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी भएको र स्थानीय हावापानी अनुकूल भएकाले जुम्लामा बोयर जातका बाख्रा पालन गरिएको उहाँको भनाइ छ ।

यता पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द वहादुर महतका अनुसार जुम्लामा बोयर जातको बाख्रा पालन व्यवसया संभव नभएको बताउनु भयो । तराईको हावापानीमा सुहाउदो जातको बाख्रा जुम्लामा उपयुक्त नभएको उहाँको भनाइ छ । केहि किसानले परिक्षणका लागि क्रस जातको बोयर बाख्रा पालन गरे पनि त्यसबाट देखिने उपलब्धि नभएको महतले बताउनु भयो । उहाँका अनुसार जुम्लामा बाह्रै महिना हरियो घास नहुनु र हावापानी सुहाउदै नभएका कारण तराईमा पाइने बोयर जातको बाख्रा पालन व्यवसाय जुम्लामा तत्कालको लागि संभन नरहेको सुनाउनु भयो ।