
नौरते नेपाली, फाल्गुन २ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर १ मा आधारभूत वडा स्वास्थ्य सेवा केन्द्र आइतबार देखि संचालनमा आएको छ । यो सँगै नगरपालिका भित्रका पाँचवटा वडामा आधारभूत वडा स्वास्थ्य सेवा केन्द्र पूर्ण रुपमा संचालनमा आइ सकेका छन् । वडा नम्बर १, २, ३, ६ र ९ वडामा पूर्णमा स्वास्थ्य सेवा केन्द्रबाट सेवा दिन सुरु भइ सकेको छ । नागरिकलाई घरदैलोमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको नगरपालिकाले जनाएको छ । संघियताको मर्म र स्वर्गीय मानव सेजुवालको सपनालाई पुरा गर्न प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुँच पुराइएको मेयर कान्तिका सेजुवालले बताउनु भयो । स्वर्गीय पति सेजुवालले परिकल्पना गरे अनुसार सबै वडामा स्वास्थ्य सेवा उपलब्ध गराउन आधारभूत वडा स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको उहाँको भनाइ छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दे मेयर सेजुवालले यस्तो बताउनु भएको हो । सरल र सहज रुपमा प्रत्येक नागरिकलाई गाउँमै सेवा दिनको लागि स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको उहाँको भनाइ छ । विना शुल्क नागरिकले औषधि उपचार गर्न पाउन भन्ने ध्ययले स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिएको सेजुवालको भनाइ छ । सामान्य उपचारको लागि नागरिकले प्रतिष्ठान सम्म आएर लिनु पर्ने सेवालाई गाउँमै दिन खोजिएको उहाँले जानकारी गराउनु भयो । नागरिकको स्वास्थ्यलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै मेयर सेजुवालले नगरभिका सबै नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुगेको जानकारी गराउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत तिर्थराज पौडेलले सामान्य उपचारमा खर्च हुने रकम बचत होस भनेर प्रत्येक वडामै स्वास्थ्य सेवा दिन खोजिएको बताउनु भयो । मातृमृत्यू दर र बाल मृत्यू दरमा कमी गर्नको लागि स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको पौडेलले बताउनु भयो । आधारभूत वडा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि टेण्डर आह्वान भइसकेकोले अब चाण्डै भवन निर्माण हुने उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका वडा नम्ब १ का वडाध्यक्ष जयवहादुर रावलले आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुनिश्चित गरिएको बताउनु भयो । गाउँमा रहेका गर्भवती महिला, जेष्ठनागरिक, बालबालिका, अशाय व्यक्तिले घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पाउने रावलको भनाइ छ । सामान्य विरामी हुँदा अस्पतालमा गएर किन्नु पर्ने औषधीहरु आधारभूत वडा स्वास्थ्य सेवा केन्द्रबाट नागरिकले निःशुल्क पाउने उहाँको भनाइ छ ।
चन्दननाथ नगरपालिका जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रवहादुर महतले गाउँमै आधारभूत वडा स्वास्थ्य सेवा केन्द्र संचालन भएकाले सबै नागरिकलाई राहत हुने बताउनु भयो । ठुला समस्या बाँहेक अन्य सामान्य विरामीको चेकजाँच स्वास्थ्य सेवा केन्द्रमै हुने उहाँको भनाइ छ । विहान १० देखि दिउसो ३ बजेसम्म चेकजाँच हुने र ३ देखि साँझ ५ बजेसम्म प्रशासनिक काम हुने भएकाले चेकजाँचको समयमा आएर सेवा लिन उहाँले नागरिकलाई आग्रह गर्नु भएका छ । आचार्यवाडाका समाजसेवि रमानन्द आचार्य र गौरीनन्द आचार्यले गाउँमा स्वास्थ्य सेवा पुराएकोमा नागरपालिकालाई धन्यवाद दिनु भएको छ । सामान्य समस्याका लागि ठुला अस्पतालमा उपचार गर्न जानु पर्ने बाध्यता हटेको रमानन्द आचार्यले बताउनु भयो । आधारभूत वडा स्वास्थ्य सेवा केन्द्रको भवनका लागि जग्गा आवश्यक परेमा उपलब्ध गराउन तयार रहेको उहाँले बताउनु भयो ।
मानिसको स्वास्थ्य सबै भन्दा महत्वपूर्ण भएकाले आधारभूत स्वास्थ्य सेवा गाउँमै पाउनु नागरिकको लागि राम्रो अवसर भएको गौरीनन्द आचार्यको भनाइ छ । उहाँका अनुसार स्वर्गीय मानव सेजुवालले उतिबेलै स्थापना गर्ने तयारी गरेको स्वास्थ्य सेवा केन्द्र बल्ल स्थापना भएको जानकारी गराउनु भयो । यसै आर्थिक वर्षको अन्तिम सम्म आफ्नै भवनबाट सेवा दिनेगरी काम अघि बढी रहेको नगरपालिकाले जनाएको छ । आधारभूत वडा स्वास्थ्य सेवा केन्द्रबाट नेपाल सरकारले दिने ३५ प्ररकारका र बाँकी २९ गरी जम्मा ६४ प्ररकारका औषधी नगरपालिकाले खरिद गरि नागरिकलाई निःशुल्क उपलब्ध गराउने छ ।