जुम्लामा तेस्रो पटक सामान्य हिमपात – Karnali News

जुम्लामा तेस्रो पटक सामान्य हिमपात

 २३ माघ २०७७, शुक्रबार ०८:२३  

नौरते नेपाली, माघ २४ जुम्ला
जुम्लामा विहिबार बिहानपख तेस्रो पटक भएको हिमपातका कारण कृषक खुसी भएका छन् । हिमपातसँगै चिसोले यहाँको जनजीवन कष्टकर भएको छ । तर यतिखेर परेको हिँउले स्याउ तथा हिउँदे बालिमा फाइदा पुग्ने भन्दै कृषक खुसी भएका छन् । जति हिउँदमा हिमपात हुन्छ, त्यति नै बाली राम्रो हुने स्थानीय बताउँछन् । कृषि विज्ञले हिउँ संकलन गरेर पोखरी वा विरुवामा जम्मा गर्न अनुरोध गरेका छन् । हिउँ परेपछि अधिकांशमा खुसियाली छाएपनि यसबाट बालबालिका र वृद्ववृद्वा बढी प्रभावित भएका छन् ।

माघ महिनाको अन्तिम साता जुम्लामा पुन हमिपात भएको छ । लेकतिर धेरै भएपनि बेसी तिर भएको थोरै हिमपातले गर्दा किसानहरु खुसी भएका छन् । जुम्लामा पहिलो पटक मंसिर अन्तिममा हिउँ प¥यो । त्यो हिउँले जमिन पनि भिजेन । किसानहरुले जमिन भिजिहाल्छकी भनी आश गरेका थिए । तर, प्रशस्त मात्रामा किसानको अनुहार उज्यालो हुन पाएन ।

दोस्रो पटक जुम्लामा पुस महिनामा हिउँ प¥यो करिब ६ इन्च बराबर । दोस्रो पटकको हिउँले किसानलाई खुसी बनायो । चिसो निकै बढेकाले उमेर ढल्केका वृद्धलाई सकस भयो बाँकी सब खुसी भए । विहिबार बिहानै देखि लगातार परेको भारि हिमपातले सबैभन्दा बढी खुसी किसानलाई बनायो । किसानहरुका अनुहार हिउँ परेपछि निख्रिएको आकाशजस्तै भएका छन् ।

यसरी बेलाबेलामा हिउँ पर्नुले हिउँदे बाली जौ, गहुँ, उवा राम्रो हुन्छ । सबैभन्दा राम्रो वर्षामा हुने फलफूल हुन्छन् । हिउँदमा हिउँ बढी प¥यो भने आरू, ओखर, स्याउ, नास्पाती लगायत जुम्लीलाई धेरै लाभ दिने फलफूललाई आवश्यक पर्ने पानी पूर्ति हुन्छ । फलस्वरूप फलफूल राम्रा हुन्छन् र किसानले मनग्ये आम्दानी लिन्छन् ।