बाल विवाह न्युनिकरणमा ज्योतिष र धामीहरुले सचेतना दिदै – Karnali News

बाल विवाह न्युनिकरणमा ज्योतिष र धामीहरुले सचेतना दिदै

 १९ माघ २०७७, सोमबार ०७:४८  

नौरते नेपाली, माघ १९ जुम्ला
बाल विवाह न्युनिकरणका लागि जुम्लाका ज्योतिष र धामीहरुले सचेतना दिन थालेका छन् । समाजमा उमेर नपुगि हुने विवाह न्युनिरणका लागि जुम्लाका ज्योतिष र धामीहरुले सचेतचना दिन थालेका हुन् । विवाहको लागि साइत माग्न आउनेहरुलाइ उमेर नपुगि विवाह नगर्न सुझाव दिने गरिएको ज्योतिष चन्द्र प्रसाद रेग्मीले जानकारी गराउनु भयो । विवाहको साइत हेराइ माग्न आउनेहरुलाई उमेर नपुगी विवाह नगर्न सुझाव दिने गरेको उहाँको भनाइ छ ।

विभिन्न गाउँमा विवाह गराउन जाँदा बाल विवाह नगर्न जानकारी गराउदै आएको रेग्मीले जानकारी गराउनु भयो । कानुनले बन्देज गरेको बाल विवाह न्युनिकरणका लागि ज्योतिष र धामीहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले आफ्नो तर्फबाट सचेतना दिने काम गर्दे आएको बताउनु भयो । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।

नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष तोकिएको छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा विवाह नगर्न सुझाव दिने गरिएको कैलाश देउताको धामी तथा चन्दननाथ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनरासी भण्डारीले बताउनु भयो । उहाँका अनुसार शारीरिक र मानसिक रुपमा परिपक्क भइ सकेपछि मात्रै विवाह गर्न सुझाव दिने गरिएको बताउनु भयो । कलिलो उमेरमा विवाह गरि सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि २० वर्ष पुगेको हुनु पर्ने विषयमा जानकारी दिने गरिएको भण्डारीको भनाइ छ । परम्परागत हुने मागी विवाहको चलन कम भइ सकेकाले अब हुने प्रेम विवाह पनि उमेर नपुगी नगर्न सुझाव दिने गरिएको उहाँले जानकारी गराउनु भयो ।