
नौरते नेपाली, माघ १६ जुम्ला
जुम्लामा स्तनपान गराउने महिलाहरुले सहि आसनका बारेमा राम्रोसँग जानकारी नभएको बताएका छन् । स्तनपान गराउने विषयमा आफुहरुलाई खासै जानकारी नभएको चन्दननाथ नगरपालिका दुईका पम्फा भण्डारीले बताउनु भयो । उहाँका अनुसार सहि आसन र स्तनपानका विषयमा राम्रोसँग नबुझेको जानकारी गराउनु भएको हो । स्तनपान सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रममा बुधबार बोल्दै उहाँले यस्तो बताउनु भएको हो । वल्र्डभजिन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदीमा स्तनपानका बारेमा आमा, महिला स्वास्थ्य स्वयम सेविका र जनप्रतिनिधिहरुलाई जानकारी गराइएको छ ।
स्तनपान गराउनाले आमा र शिशु दुवैको स्वास्थ्यमा फाइदा पुग्नुका साथै आमाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुनबाट बच्न सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर गुणवती चौलागाइले बताउनु भयो । बच्चा जन्मेको ६ महिनासम्म नियमित रुपमा स्तनपान गराउँदा तत्कालै गर्भ बस्नबाट समेत बच्न सकिने उहाँको भनाइ छ । बच्चा जन्मेपछि आउने पहिलो बाक्लो र पहेंलो बिगौती दूधले बच्चामा खोपको काम गर्ने उहाँले जानकारी गराउनु भयो ।
बिगौती दूधमा प्रचुर मात्रामा हुने भिटामिन ए र रोग प्रतिरोधात्मक तत्वले बच्चालाई स्वासप्रश्वास सम्बन्धी समस्या र झाडापखालाबाट बचाउने डाक्टर चौलागाइले बताउनु भयो । स्तनपानले आमा र बच्चाको आत्मीयतालाई प्रगाढ बनाउन सहयोग पु¥याउने बताउँदै उहाँले आमाहरुलाई स्तनपान गराउने तरिका सम्बन्धि जानकारी गराउनु भएको छ । समुदाय स्तरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर आमा र सम्पूर्ण परिवारलाई स्तनपानका बारेमा चेतना फैलाउनु पर्ने उहाँको भनाइ छ । शिशुको आवश्यकता अनुसार दिनमा ८ देखि १२ पटकसम्म स्तनपान गराउनु पर्ने स्वास्थ्यकर्मी तेन्जी तामाङ्गले बताउनु भयो ।
आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकोले ६ महिनासम्म पानी पनि खुवाउन नहुने उहाँको भनाइ छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुरा खान उहाँले सुझाव दिनु भएको छ । आमाहरुले स्तनपान गराउँदा तनावमा, दुःखी मनले, दिक्क मान्दै, रिसाउँदै, गाली गर्दै खुवाउनु नहुने तामाङ्गले बताउनु भयो ।
यसो गर्दा दूध कम आउने भन्दै उहाँले स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुने जानकारी गराउनु भयो । स्तनपान गराउनु अघि र पछि स्तन सफा गर्न, हात धुन, सफा र खुकुलो लुगा लगाउन अर्काे स्वास्थ्यकर्मी अन्जना न्यौपानेले बताउनु भयो । आमाले स्तनलाई सी आकारमा समात्नु पर्ने भन्दै उहाँले बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनु पर्ने र अरु औंला स्तनको तलपट्टि हुनुपर्ने जानकारी गराउनु भयो ।
शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काइ दूध चुसाउन न्यौपानेले सल्लाह दिनु भएको छ । स्तनपान गराउँदा एकापट्टिको दूध पूर्ण खाली हुनेगरी दूध खुवाउनु पर्ने बताउँदै उहाँले त्यसपछि अर्कोपट्टिको स्तनपान गराउन आग्रह गर्नु भएको छ । दूध खुवाइ सकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्यूँमा विस्तारै विस्तारै मुसार्न सुझाव दिनु भएको छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता नगर्ने उहाँको भनाइ छ ।