नेकपाको जिल्ला कमिटि विस्तार – Karnali News

नेकपाको जिल्ला कमिटि विस्तार

 १५ माघ २०७७, बिहीबार १६:०५  

नौरते नेपाली, माघ १५ जुम्ला
नेकपा जुम्लाको संस्थापन पक्षले जिल्ला कमिटि विस्तार गरेको छ । १ सय ३५ सदस्यीय जिल्ला कमिटि विस्तार गरिएको नेकपा केपी पक्ष जुम्लाले जनाएको छ । नेकपाका केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री बलवहादुर महतको संयोजनमा जिल्ला कमिटि विस्तार गरिएको बताईएको छ । यस्तै ७५ सदस्यीय सल्लाहकार कमिटि र ७५ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरिएको नेकपाका केन्द्रिय सदस्य धिरेन्द्रराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी वैधानिक रुपमा विभाजन नभएपनि दाहाल नेपाल पक्षले पार्टी कमिटिहरु विस्तार गर्दै गएको हुनाले संस्थापन पक्षले पनि आफ्नो तयारी थालेको बताउनु भयो ।

विस्तार गरिएको जिल्ला कमिटिमा परेका सबैलाई विहिबार सपथ खुवाउनुका साथै प्रशिक्षण समेत गरिएको उहाँको भनाइ छ । नेकपा भित्रको संस्थापन पक्ष केपी लाइन भएको बताउँदै उहाँले तत्कालिन अवस्थाका एमालेका बिचार बोकेकाहरु एकै थलोमा आउने बताउनु भयो । जिल्ला कमिटिमा आवद्ध सदस्यहरुले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्दे पार्टीको गोपनियता एवं नैतिक आचरणयुक्त जीवन बिताउने भन्दै शपथ खाएका छन् । शपथ खाएका सदस्यहरुले सबै खाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहने बताएका छन् ।

शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा पूर्व राज्यमन्त्री बलवहादुर महतले नेकपाले नेपाली जनताको इच्छा र आकांक्षा पुरा गर्ने भएकाले कार्यकर्ताहरु नढकमकाउन आग्रह गर्नुभयो । नेकपा भित्रको केपी पक्ष आधिकारिक भएकाले भोली पार्टी विभाजन पछि सूर्य चिन्ह पनि आफुरुसँग आउने उहाँको भनाइ छ । वर्तमान सरकारलाइ पार्टी भित्रकै शिर्ष नेताहरुले काम गर्न नदिएकै कारण संसद विघठन भएको भन्दै उहाँले उच्च मनोबलका साथ कार्यकर्ताहरुलाई संगठन विस्तारमा सहभागि हुन निर्देशन दिनु भएको छ । सरकारले आउदो वैशाख १७ र २७ गतेका दिन तोकेको मध्यावधि निर्वाचनको व्यापक तयारीमा जुट्न उहाँले आग्रह गर्नु भएको छ ।

नेकपाका केन्द्रिय सदस्य टेकराज पछाइले नेपाली कम्युनिष्ट आन्दोलनाबाट प्राप्त उपलब्धिको रक्षाको लागि नेकपा भित्रको आधिकारी पक्ष केपीलाइन भएको बताउनु भयो । अहिलेको राजनीतिक परिघटनाका विषयमा जानकारी गराउँदै उहाँले विचलित नहुन कार्यकतालाई अनुरोध गर्नु भएको छ । सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटि सदस्य गोर्ख पछाई, मेनका रेग्मी लगायतका नेकपाका जिल्ला स्तरका नेताहरुले कार्याकर्ताहरुलाई उच्च मनोबलका साथ संगठन र निर्वाचनको तयारीमा सहभागि हुन आग्रह गरेका छन् ।