
नौरते नेपाली, माघ १४ जुम्ला
तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३१ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । जिल्ला प्रशान कार्याल जुम्लाले दिएको जानकारी अनुसार गोठीगाउँको आगलागीबाट ३१ घर, १७ गाई, २३ गोरु र २४ बाख्रा जलेर नष्ट भएका हुन् । आगलागीबाट मानवीय क्षति भने कुनै पनि भएको छैन । स्थानीय परबहादुर रोकायको घरमा खाना पकाउने चुल्होको पाईपबाट आगोको झिल्का निस्कन गई घरको छाना सल्केर आगलागी भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भयो । आगलागिबाट १ सय ९८ जना पिडित भएको उहाँले जानकारी गराउनु भयो ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेको बताउनु भयो । विकट भूगोलमा अवस्थित बस्ती र पानीको अभाव भएकोले आगो पूर्णरुपले नियन्त्रणमा आउन नसकेको उहाँको भनाइ । करिब तीन करोडको क्षति भएको अनुमान गरिए पनि पूर्ण विवरण भने आईपुगेको छैन ।
सडक सञ्जालसँग नजोडिएको कारण दमकल लिएर जाने अवस्था नभएको र भिरालो बस्तीमा भएका घरले तलदेखि माथिसम्म एकैपटक आगलागी हुँदा ठूलो क्षति हुन पुगेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम जुम्ला खलंगादेखि ३५ किलोमिटर दूरीमा रहेको छ ।
जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको आपतकालिन बैठकले राहतका सामग्री लिएर घटना स्थलमा जाने निर्णण गरेको छ । राहतको लागि प्रति परिवार ५ जना सदस्य भएको घरमा १५ हजार र ५ जना भन्दा बढी परिवार भएका घरमा २० हजारका दरले नगद राहत उपलब्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । उहाँका अनुसार राहत सामग्री चामल, दाल, नुन, तत्ता कपडा लिएर आगलागी घटना स्थल जाने तयारी गरिएको जानकारी गराउनु भयो ।
आगलागि पीडित परिवारलाई तत्काल आपतकालिन व्यवस्थापनको लागि त्रिपाल, भाडाकुडा, कम्बल, लत्ता कपडा प्रति परिवारलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले उपलब्ध गराउने निर्णय गरिएको छ । चामल, दाल तेल र नुन लगायत खाद्यान्न किडार्क नेपालले विपद् व्यवस्थापन समितिलाई मार्फत पीडित परिवार राहत उपलब्ध गराउने भएको छ । आगालागि पीडितहरुको प्रथामिक उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जिल्ला जन स्वस्थ्य सेवा कार्यालयले तत्काल प्रथामिक उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।