
नौरते नेपाली, माघ १२ जुम्ला
पार्टीको झण्डा हालेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको दुईवटा मोरसाइकलाई विना कारबाही छोडेको छ । नियन्त्रणमा लिएका दुईवटा मोटरसाइकल चालकलाई सामान्य सम्झाई बुझाई गरी प्रहरीले छोडेको हो । माघ महिनाको १० गतेका दिन जुम्लामा नेकपाको दाहाल नेपाल पक्षले आयोजना गरेको मोटरसाइकल र्यालीमा सरकारी नम्बर प्लेट भएका सावरी साधानमा पार्टीका झण्डा हालेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका मोटरसाइकलाई प्रहरीले सामान्य रुपमा सम्झाई बुझाई गरी विना कारबाही छोडिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव प्रसाद काँफ्लेले बताउनु भयो । प्रहरीले नियन्त्रणमा लिएको क १ ब ५५ र क १ ब १३९ नम्बरका मोटरसाइकल चालकलाई अब उप्रान्त गलत काममा सरकारी प्लेट नम्बर भएका सवारी साधन प्रयोग नगर्न सुझाव दिदै छोडिएको उहाँको भनाइ छ ।
स्थानीय प्रशासनले तिन महिना पहिले सरकारी सवारी साधन संचालन कार्यविधि २०७७ जारी गर्दे कार्यालयको काम विना कार्यालय समय अगाडि र पछाडि सवारी साधन प्रयोग नगर्न उल्लेख गरेको छ । सार्वजनिक विदाको दिनमा सञ्चालन गर्दा वा जिल्ला बाहिर प्रयोग गर्दा सबै कार्यालय तथा स्थानीय तहका कार्यालयले प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर मात्रै प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यालयको तर्फबाट सहभागी हुनुपर्ने कार्यक्रममा बाहेक अन्य कुनै सामाजिक, साँस्कृतिक, धार्मिक वा अन्य कार्यक्रम, जमघट, भेला, समारोह, उत्सवहरुमा सरकारी साधनको प्रयोग गरी सहभागी हुन नपाइने व्यवस्था छ । सरकारी सवारी साधनको दुरुपयोग गरेको पाइएमा त्यसरी दुरुपयोग गर्ने कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिने कार्यविधिमा स्पष्ट खुलाइएको छ । तर, जुम्लामा कार्यविधि कुल्चेर सार्वजनिक विदाका दिन सरकारी सवारी साधनमा पार्टीका झण्डा हाल्दा पनि स्थानीय प्रशासन यो विषयमा बेखर भएको छ ।
जिल्ला भित्र र जिल्ला बाहिर जानु पर्दा प्रमुख जिल्ला अधिकारीको आदेश विना जान नमिल्ने कार्यविधि बनाइए पनि त्यो सरकारी कार्यालय र सर्वसाधरणको लागि मात्रै बनाएको जस्तै देखिएको छ । राजनीतिक कार्यक्रममा खुल्याम रुपमा झण्डा हालिएका मोटराइकलाई विना कारबाही छोडिएको भन्दै नागरीकले प्रहरी प्रशासनको चर्काे आलोचना गरेका छन् ।
अरु बेला सडकको छेउछेउमा बसेर जरीवाना काट्ने गरिएको भन्दै स्थानीय नागरिक मदन कुमार शाहीले राजनीतिक पार्टीका झण्डा गाडिएका मोटरसाइकलाई जरिवना नगरी छोडिनु भनेको नागरिक माथि अन्याय भएको बताउनु भयो । मोटरसाइकलमा तिन जना हालेको, हेलमेट नलगाएको र क्षमता भन्दा बढी यात्रु हालेको भन्दै बेलाबखत ट्रयाफिकले सवारी चालकलाइ सोधिखोजी गर्दे कारबाही गर्ने गरेको छ ।
ठुलाका लागि ऐन र सानाको लागि चेन भएको भन्दै उहाँले सबैका लागि नियम कानुन बराबर हुनु पर्ने बताउनु भयो । प्रहरी प्रशासनले राजनीतिक गतिविधिमा प्रयोग भएका सवारी साधानलाई कारबाही नगरी छोड्नु गलत भएको शाहीको भनाइ छ ।