पटमारा स्वास्थ्य चौकिमा बर्थिङ्ग सेन्टर र प्रयोगशाला संचालनमा – Karnali News

पटमारा स्वास्थ्य चौकिमा बर्थिङ्ग सेन्टर र प्रयोगशाला संचालनमा

 ११ माघ २०७७, आईतवार २०:४४  

नौरते नेपाली, माघ ११ जुम्ला
पातारासि गाउँपालिका जुम्लाले पटमारा स्वास्थ्य चौकिमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला संचालनमा ल्याएको छ । बर्थिङ्ग सेन्टर तथा प्रयोगशालाको एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा र पातारासि गाउँपालिका जुम्लाका अध्यक्ष लछिमन बोहोराले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । बर्थिङ्ग सेन्टर नहुदा स्थानीय गर्भवति महिलाहरु सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउन बाध्य भएका थिए ।

वडामै बर्थिङ्ग सेन्टर संचालन भएसंगै स्थानीय गर्भवति महिलाहरुलाई सजिलो हुने भएको छ । बर्थिङ्ग सेन्टर तथा प्रयोगशालाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेवीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाले घरमै हुने सुत्केरी र वालमृत्युको दर घटाउन बर्थिङ्ग सेन्टरले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनु भयो । बर्थिङ्ग सेन्टर संचालनमा आए संगै स्थानीय गर्भवति महिलाहरु बाहिर सुत्केरी गराउन जानु पर्ने समस्याको हल हुने पातारासि गाउँपालिका जुम्लाका अध्यक्ष लछिमन बोहोराले बताउनु भयो ।

घरमा सुत्केरी हुने संख्या घटाउन बर्थिङ्ग सेन्टरले भूमिका खेल्ने उहाँको भनाइ छ । अध्यक्ष बोहोराले राम्रो बच्चा जन्माउन सकेमात्र देश समृद्ध रहने बताउदै स्वास्थ्य संस्था सम्म प्रसुती गराउन आउने महिलाहरुलाई राज्यले यातायाता खर्च वापत हिमाली जिल्लामा ३ हजार र नियमित चार पटक चेकजाँच गराए वापत थप ८ सय रुपैयाँ उपलब्ध गराउदै आएको बताउनु भयो । स्थानीय गर्भवति महिलाहरुको समस्यालाई मध्यनजर गर्दे ६ र ७ नम्बर वडाको पायक पर्ने स्थानमा बर्थिङ्ग सेन्टर संचालनमा ल्याइएको बोहोराले बताउनु भयो ।

आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई उहाँले आग्रह गर्नु भयो । गाउँमा बर्थिङ्ग सेन्टर संचालन भएकाले महिलाहरु खुसी भएका छन् । स्थानीय माया खडकाले अब सुत्केरी हुन बजार जानु पर्ने झनझट हटेको बताउनु भयो । सुरक्षित सुत्केरी गराउने ठाउँ नभएकै कारण घरमा सुत्केरी गराउने चलनमा कामी आउने उहाँको भनाइ छ । पातारासि गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढथापाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउँदा आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो हुने बताउनु भयो । सुरक्षित प्रसुती सेवा दिनको लागि बर्थिङ्ग सेन्टर संचालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

ग्रामणि क्षेत्रका गर्भवति महिलाहरुले स्थानीय स्तरमा नै बच्चा जन्माउनको लागि गाउँपालिकाले बर्थिङ्ग सेन्टर संचालनमा ल्याएको बुढथापाले बताउनु भयो । हालसम्म पातारासि गाउँपालिकाका ३ वटा स्वास्थ्य चौकिमा बर्थिङ्ग सेन्टर संचालनमा आएका छन् । छुमचौर, डिल्लीचौर र पटमारा स्वास्थ्य चौकिमा बर्थिङ्ग सेन्टर संचालनमा रहेको पातारासि गाउँपालिकाले जनाएको छ । पटमारा स्वास्थ्य चौकिका इन्चार्ज कृष्णवहादुर बुढाले बर्थिङ्ग सेन्टर सँगै प्रयोगशाला पनि संचालनमा आएको जानकारी गराउनु भयो ।

प्रयोगशालामा खकार, दिशा, पिसाब र रगत परिक्षण हुने उहाँले जानकारी गराउनु भयो । बर्थिङ्ग सेन्टरले मातृ मृत्युदरमा कमी गराउने भन्दै उहाँले प्रयोगशाला स्थापना भएका कारण समान्य विरामी हुँदा सदरमुकाम सम्म जानु पर्ने समस्या हल हुने जानकारी गराउनु भयो । साथै उहाँले जुम्लाका कुनै पनि बर्थिङ्ग सेन्टरमा नभएको नवजात शिशु निस्सासिएमा उपचार गर्ने टेबुल राखिएको बताउनु भयो ।