नौरते नेपाली, माघ ९ जुम्ला
मध्यवधि निर्वाचनलाई मध्यनजर गर्दे जिल्ला निर्वाचन कार्यालय जुम्लाले विहिबार सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । सरकारले मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै देशका विभिन्न जिल्लामा निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते संघिय संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय जुम्लाले सक्रियता बढाएको हो । निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, जुम्लाले आवश्यक तयारीमा जुटेको छ ।
कार्यालयले जिल्ला मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा अन्तरक्रिया गरी मतदानको सूची र मापदण्ड जुम्लाका ८ वटै स्थानीय तह र जिल्ला स्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइ सकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कैलाश वहादुर ठकुराठीले बताउनु भयो । राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदान स्थलको निर्धारण गर्दा निर्वाचन प्रतिको विश्वास बढ्ने, निर्वाचन निष्पक्ष, धाँधली रहित र स्वतन्त्र रूपमा सम्पन्न हुने निर्वाचन कार्यालयको ठहर छ ।
वि.सं २०७४ को संसदीय निर्वाचनमा जुम्लामा ५९ हजार ५९ मतदाता थिए भने अहिले ६२ हजार ५ सय ४७ जना मतदाता कामय हुन सक्ने ठकुराठीले बताउनु भयो । उहाँका अनुसार पहिले ७६ मतदान केन्द्र रहेको भन्दै अब ९५ मतदान स्थल कायम हुन सक्ने अनुमान गरिएको जानकारी गराउनु भयो । तथापि राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायको सुझाव आउन बाँकी नै रहेकोले यसमा परिवर्तन हुन सक्ने प्रमुख ठकुराठीको भनाइ छ ।
निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी विशेष अन्तरक्रिया आयोजना गरेर निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ देखि २१ गतेसम्म र जिल्ला सदरमुकाममा माघ १५ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी दिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन शिक्षा र सचेतनाका अभियानहरु चलाउनेलगायत कार्यक्रम तय गरिएको जिल्ला निर्वाचन अधिकृत ठकुराठीले बताउनु भयो ।
उहाँका अनुसार आगामी माघ १६ र १७ गते दुई दिन प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्च्याउने, दोहोरो नामावली हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सकिने उहाँको भनाइ । स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ ।
उक्त कार्यक्रम मार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि सच्याउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्नेछ ।
त्रुटि सच्च्याउने, दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने र त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरोे विवरण हटाउने तथा आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराइएको विवरण आयोगको वेबसाइट मार्फत प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले आगामी निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सुझाव दिएका छन् ।