
नौरते नेपाली, माघ ४ जुम्ला
जुम्लामा खासगरी पुष महिना देखि माघ महिनाको अन्त्यसम्म स्याउका विरुवा लगाउने गरिन्छ । स्याउका विरुवा लगाउनु पहिले खाडल खन्दा देखी नै ध्यान दिन कृषि विज्ञहरुले किसानहरुलाई सुझाव दिएका छन् । खाडल खन्दा एउटा स्याउको विरुवा देखि अर्काे स्याउका विरुवा सम्म कम्तिमा ५ मिटरको दुरीमा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवोटाले बताउनु भो । १÷१ मिटर लम्वाई, चौडाई र गहिराईको खाडल खनेर सबै भन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नु पर्ने उहाँको भनाइ छ ।
खाडल खन्दा माथिल्लो सतहको माटो एक तर्फ र तल्लो सतहको माटो अर्को तर्फ राख्नु पर्ने उहाँले बताउनु भयो । खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट मल, रसायनिक मल र माटो उपचार गर्ने विषादीहरु राम्रो सँग मिसाएर विरुवा लगाउन उहाँले जानकारी दिनुभयो । स्याउको बिरुवा विशेष गरि माघ र फाल्गुन महिनामा रोप्दा राम्रो हुने उहाँको भनाइ छ । प्राविधिक सल्लाह अनुसार स्याउका विरुवा रोप्दा गुणस्तरीय फल र बगैँचा राम्रो देखिने देवकोटाले जानकारी गराउनु भयो ।
फागुन महिनामा पालुवा पलाउने भएकाले त्यो भन्दा अगाडी नै स्याउका विरुवा रोपि सक्नु पर्ने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछीराम महतले बताउनु भयो । स्याउका विरुवा रोप्दा पाकेको गोठेमलाई माटोसँग मिसाएर हाल्दा राम्रो हुने उहाँको भनाइ छ । स्याउ खेतिका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने महतले बताउनु भयो ।
धेरै भिरालो भएको जग्गामा स्याउ गाउँदा पानी बगेर जाने हुँदा स्याउका विरुवामा सिंचाइ गर्न समस्या हुने भएकाले सम्म परेको जीमनमा बगैँचा निर्माण गर्दा राम्रो हुने उहाँको भनाइ छ । बगैँचा स्थापना गरिने जमिनमा अनावश्यक बोट बिरुवा, झाडी, बुट्यान र गहुँ बाली नलगाउन उहाँले सुझाव दिनु भएको छ । स्याउको बिरुवा रोप्नको लागि असोज र कार्तिक महिनामा खाडल खनेर राखेमा अझ राम्रो हुने महतले बताउनु भयो ।