कारागारको खानेपानी र बिजुलीको समस्या हल गर्न १० लाख विनियोजन भएको मन्त्री भण्डारीको भनाइ – Karnali News

कारागारको खानेपानी र बिजुलीको समस्या हल गर्न १० लाख विनियोजन भएको मन्त्री भण्डारीको भनाइ

 ३ माघ २०७७, शनिबार २०:१२  

गोल्डेन बुढा माघ ३ गते कारागार जुम्लाका कैदीबन्दीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सँग खानेपानी र बिजुली व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । लामो समयदेखि खानेपानी र बिजुली समस्या रहँदै आएको कारागारमा अनुगमनका क्रममा मन्त्री भण्डारी सँग कैदीबन्दीले यस्तो आग्रह गरेका हुन् । विहिबार कार्यकर्ता भेटघाट गर्न जुम्ला पुगेका कानुनमन्त्री नरेश भण्डारीले शुक्रबार कारागारमा अनुगमन गरेका थिए ।

भौतिक संरचना बस्न, खान, सुत्न कुनै समस्या नएको भन्दै कैदीबन्दीहरुले खानेपानी र बिजुलीको समस्या लामो समयदेखि भोग्दै आएको गुनासो पोखेका थिए । अहिले तिला नदीको पानी जेनेरेटर मार्फत तानेर कारागारमा ल्याइने गरेको मन्त्री समक्ष कैदीबन्दीहरुले दुखेसो गरेका छन । तिला नदिको पानी पिउनुको विकल्प अरु कुनै नभएको जानकारी गराएका थिए ।

मन्त्री भण्डारी सँग कारागार पुग्नु भएका जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले खानेपानी र बिजुली जिल्ला सदरमुकाम खलंगाकै समस्या रहेको बताउनु भएको थियो । जुम्लाका नागरिकले पनि खानेपानी र बिजुलीको समस्या झेल्दै आएको उहाँको भनाइ छ् । कारागार संवेदनशील क्षेत्र भएकाले खलंगा खानेपानी उपभोक्ता जुम्ला सँग नियमित खानेपानी उपलब्ध गराइदिन भनेको प्रजिअ थापाले बताउनु भयो ।

खलंगामा खानेपानी आपूर्ति गर्दै आएको उपभोक्ता समितिको क्षमता कम हुनु,जनसंख्या बढ्दै जानु र नयाँ खानेपानीका आयोजना विस्तार नभएकोले यस्तो समस्या झेल्नु परेको हो । मन्त्री भण्डारीले कारागार सुधारगृह भएकाले सरकारले बन्दीहरूको मागअनुसार खानेपानी र बिजुली व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट १० लाख रुपैयाँको बजेट कारागारको खानेपानी र बिजुलीका लागि विनियोजन गरिएको जानकारी मन्त्री भण्डारीले दिनु भएको थियो । विनियोजित बजेट जिल्ला प्रशासन कार्यालय जुम्लाबाट कार्यान्वयन हुने उहाँको भनाइ छ ।