जुम्लामा ठुली भैली शुक्रबार देखी सुरु – Karnali News

जुम्लामा ठुली भैली शुक्रबार देखी सुरु

 ३ माघ २०७७, शनिबार २०:०५  

गोल्डेन बुढा माघ ३ गते

जुम्लामा शुक्रबार देखि ठुली भैलो शुरु भएको छ । स्थानीय परम्परा अनुसार जुम्लामा भैलो खेल्ने चलन रहि आएको छ । मंसिर शुल्क पुर्णिमाको दिन देखि खास भौलो सुरु हुने गर्दछ । त्यसलाई सानो भैलो भन्ने गरिन्छ । यसैगरि, औँसिको भोली पल्ट अर्थात शुक्रबार देखि भैलो शुरु भएको जुम्ला चन्दननाथ नगरपालिका २ आचार्यवाडा गाउँका संस्कृत सम्बन्धी जानकार व्यक्ति रमानन्द आचार्यले जानकारी दिनुभयो ।

जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पाला देखि जुम्लामा भैलो खेल्ने चलनको शुरुवात भएको मानिन्छ । आचार्यका अनुसार शुरुमा स्थानीय प्रशासनबाट भैलो खेल्न शुरु हुने गरेको बताउनु भयो ।

बडा हाकिमले भैलेरालाई ४ पैशा र भैलेरीलाई ४ पैशा दिने चलन रहेको अवगत गराउँदै उहाँले त्यसपछि चन्दननाथ भैरबनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको समेत जानकारी गराउनु भयो । गाउँमा भैलो खेल्न जानेहरुले अंचला हाल्ने, फुर्का गरेको सल, झोला हाल्ने गर्दथे ।

भैलेराले हातमा गृह लाट्ठि बोकेर हिड्थे भने भैली पुकार्ने बेला त्यहि लाट्ठि टेक्ने गरेको आचार्यको भनाइ छ । त्यति बेला भौलो खेल्न जाने समूहका भैलेरीहरुले तलतिर घाँघरा र माथिलो शरिरीरमा चौबन्धी चौली लगाउने गर्दथे । अहिले त्यो चलन हराएको आचार्यको भनाइ छ । अहिले गाउँमा भैलो छिटपुट रुपमा खेलेको पाइन्छ ।

ए आँसुबार भनेर गाउँमा पहिले भैलो खेल्ने चलन रहेको भन्दै आचार्यले त्यसलाई मागलको रुपमा पनि लय हालेर भन्ने गरिएको जानकारी दिनुभयो । भैलोको पहिलो र दोस्रो दिन आफ्नो गाउँ भन्दा टाढाका गाउँमा खेल्ने गरिन्थ्यो भने तेस्रो र चोथौ दिन आफ्नो गाउँमा भैलो खेल्ने चलन रहेको थियो । चोथौ दिनसम्म भैलो खेल्ने चलन रहेपनि गाउँमा भौलो खेल्न नभ्याएका घरमा पाँचो दिनसम्म पनि भौलो खेल्ने चलन रहेको संस्कृत सम्बन्धी जानकार आचार्यको भनाइ छ ।

ठुली भैलो शुरु भएको दिन देखि अन्तिमसम्म गाउँमा गएका पाहुनाहरुलाई भैलो छोप्ने चलन पनि रहेको थियो । भैलेरा भैलेरीले पाहुनालाई छोप्ने र भैलो नदिनेलाई टोपी, झोला, घडी, ज्याकेट र अन्य सामानहरु राख्ने चलन रहेको पनि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बाटोमा भेटिएका पाहुनालाई बेइजत हुने गरि भैलो छोप्ने गरेको कारण पनि यो चलन हराउँदै गएको बताउनु भयो ।

गाउँमा सर्वसाधारणले भौलो खेल्न आएकाहरुलाई भौलो नदिइ घरको ढोका बन्द गरेर अन्तै जाने गरेका कारण भैलो हराउँदै गएको आचार्यको भनाइ छ । भौलो खेल्ने चलनमा विकृति आएको कारण अहिले यो चलन एकादेशको कहानी जस्तो भएको उहाँले अवगत गराउनु भयो । जुम्लामा स्थानीय परम्पराको मान्यता बोकेको भौलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको उहाँको धारणा रहेको छ ।

भैलीका अबसरमा ईच्छा विपरित गाडी रोक्न, पैसा माग्न तथा सडकमा होहल्ला नगर्न जिल्ला प्रहरी कार्यालय जुम्लाले आग्रह गरेको छ । भैलो खेलिसकेपछि जुम्लाका गाउँमा पाटीभात खाने चलन रहेको जुम्ला खोलीकोट गाउँका सुर्जा बुढ्थापाले जानकारी दिनुभयो । उहाँलाई अहिले पनि भैलोको ताजा स्मरण रहेको छ । ठुली भैलोको बेला पोइल गएकी छोरी चेलीहरु सुख दुख साट्न माइती घरमा जाने गर्दछन् । बुढ्थापाले भैलो शुरुवात भएको जानकारी गराउनु भयो । चारदिन सम्म जुम्लाका विभिन्न गाउँमा भैलो खेल्ने गरिन्छ । महिला र बालबालिकाहरुले समूह बनाई भैली खेल्न सुरु गरेका छन् । केही वर्षहरुबाट कर्णाली राजमार्गमा बाटो छेकि सवारी चालकबाट भैली असुल्ने परम्परा बसेको छ ।

राजमार्गमा तिव्र गतिमा आवत जावत गरेका सवारी साधनलाई रोकेर महिला र बालबालिकाले भैलो उठाउने गरेका छन् । विभिन्न समूह बनाई महिला र बालबालिकाले सवारी साधानलाई रोकेर भैलो माग्ने गरेको पाइन्छ ।

बिच बाटोमा बसेर चली रहेका सवारी साधनलाई रोकेर उनिहरुले भैलो माग्ने र नदिएमा सवारी साधनलाई रोक्ने गरेका हुन् । पहिले गाउँमा खेलिने भैलो हिजोआज सडकमा रकम उठानको लागि खेल्ने गरिएको छ । तिव्र गतिमा कुदेका सवारी साधनलाई भैलो खेल्नेहरुले रोक्न खोज्दा ठुलो दुर्घटना हुने संभावना बढ्ने देखिन्छ ।