गुणस्तरीय शिक्षामा सवै नागरिकको पहुँच पुराउने लक्ष्य – Karnali News

गुणस्तरीय शिक्षामा सवै नागरिकको पहुँच पुराउने लक्ष्य

 ३ माघ २०७७, शनिबार ०६:५२  

नौरते नेपाली, माघ ३ जुम्ला
जुम्लाको कनकासुन्दी गाउँपालिकाले शिक्षा नीति २०७६ बनाईएको छ । असल, योग्य, सक्षम, प्रतिस्पर्धी जनशक्ति तयार गर्ने उद्देश्यका साथ गाउँ शिक्षा नीति बनाईएको प्रमुख प्रशासकिय अधिकृत नैनसिंह बुढाले बताउनु भयो । उहाँका अनुसार पुष महिनाको २५ गतेका दिन सकिएको हिउदे गाउँसभाले शिक्षा नीति पास गरेको भन्दै कार्यान्वयन प्रक्रियामा लगिने जानकारी गराउनु भयो । सीपमूलक, वैज्ञानिक व्यवहारीक तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ शिक्षा नीति पास भएको बुढाले बताउनु भयो ।

उहाँका अनुसार विकासको मूख्य आधार शिक्षा भएकाले गुणस्तरीय शिक्षामा सवै नागरिकको समतामुलक र न्यायोचित पहुँच स्थापित गर्नु गाउँपालिकाको प्रमुख आवश्यकता रहेको सुनाउनु भयो । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक उल्लेख भएको अवगत गराउदै बुढाले उक्त धाराले प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुने तथा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तह सम्मको शिक्षा निशुल्क तथा अनिवार्य र माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था मौलिक हकमा गरेकाले त्यसैमा टेकेर शिक्षा नीति निर्माण भएको जानकारी गराउनु भयो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को अनुसूची ११ (ज) ले पनि स्थानीय तहलाई आधारभुत तथा माध्यामिक तह सम्मको शिक्षा व्यवस्थापन सम्बन्धी विभिन्न २३ वटा अधिकारहरु प्रदान गरेको हुनाले त्यसलाई आधार मानी शिक्षा नीति निर्माण भएको कनकासुन्दरी गाउँपालिका शिक्षा संयोजक नारायण प्रसाद न्यौपानेले बताउनु भयो । संघिय सरकारद्धारा राष्ट्रिय शिक्षा नीति २०७६ जारी भएको वर्तमान परिप्रेक्षमा संघिय संरचना अनुसार कनकासुन्दरी गाउँपालिकाको शिक्षा क्षेत्रको मार्गदर्शक नीतिका रुपमा स्थानीय शिक्षा नीति २०७६ गाउँसभाले अनुमोदन गरी सकेको उहाँको भनाइ छ ।

शिक्षा नीतिमा टेकेर गाउँ शिक्षा समिति गठन, विद्यालयको भौतिक पूर्वाधार विकास, शिक्षामा समावेशीता, शिक्षक व्यवस्थापन तथा पेशागत विकास, शिक्षक तथा कर्मचारीका लागि छोटो अवधिका पुर्नताजकि तालिम, प्र.अ. तथा लेखा कर्मचारीहरुको लागि क्ष्ऋत् सम्बन्धी तालिम, नियमित प्र.अ. बैठक, अभिभावक शिक्षा, समुदायमा विद्यार्थीहरुको पठन सिप विकासका लागि पढाई कुना निर्माण, बालवालिका मैत्रि शौचालय र खानेपानी तथा छापामय कक्षा कोठाको व्यवस्थापन जस्ता कार्यक्रमहरु मार्फत शिक्षा क्षेत्रको विकासका लागि संस्थागत प्रयासहरु गरिने विषय शिक्षा नीतिमा समावेश भएको न्यौपानेले बताउनु भयो ।

गाउँपालिकामा जम्मा २७ वटा विद्यालयहरु संचालनमा रहेका छन । २० वटा विद्यालयहरु आधारभूत तहका छन भने बाँकी ७ वटा वद्यालय माध्यमिक तहका छन । २७ वटा विद्यालयमा ४ हजार २ सय ३ जना विद्यार्थीहरुले अध्ययन गरी रहेको शिक्षा संयोजक न्यौपानेले बताउनु भयो । गाउँपालिका भित्र जम्मा २४ वटा बाल विकास केन्द्रहरु स्थापना भई संचालन भइ रहेको उहाँले जानकारी गराउनु भयो । शिक्षा नीतिले बालबालिकाको सर्वाङ्गिण विकासका लागी प्रारम्भिक बालविकास केन्द्रलाई गुणस्तरीय, समावेशी र प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

साथै गाउँपालिका भित्र रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई गुणस्तरिय र समावेशी शिक्षा प्रदान गरिने नीतिमा उल्लेख भएको न्यौपानेको भनाइ छ । आधारभूत शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच सुनिश्चित गर्दै जिवन उपयोगी, प्रतिस्पर्धि, गुणस्तरयुक्त शिक्षाको प्रत्याभुति गरिनुका साथै माध्यमिक शिक्षाबाट सृजनशिल, अध्यनशिल, सदाचार गुण भएका सिपयुक्त जनशक्ति तयार गर्ने शिक्षा नीतिको प्रमेख उद्देश्य रहेको न्यौपानेले बताउनु भयो ।