
गोल्डेन बुढा माघ २ गते जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माण गर्नका लागि गाउँपालिका अध्यक्ष नरविर रावतले शिलान्यास गर्नुभएको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल निर्माण कार्यसँगै यहाँको हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको छ ।
अस्पताल निर्माण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रु १८ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । अस्पताल बनाउन २२ जना स्थानीय बासी ३ हजार ५ सय वर्गमिटर जग्गा निशुल्क उपलव्ध गराएका छन् ।शिलान्यस कार्यक्रममा निशुल्क जग्गा उपलव्ध गराउने स्थानीय नागरिकलाई गाउँपालिकाले सम्मान गर्नुका साथै कदरपत्र पनि उपलव्ध गराएको छ ।
नागरिकले निशुल्क उपचार गर्न पाउने जुम्लाकै ठुलो १५ शैयाको सरकारी अस्पताल कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा बन्ने भएको भन्दै गाउँपालिका अध्यक्ष रावतले प्रशसा गर्नुभयो । उहाँले यहाँ अव अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले सहज रुपमा निशुल्क उपचार पाउने छन् ।
यस्तै यसअघि तिला गाउँपालिका–३ कुडारीमा १० शैयाको अस्पताल बनाउनका लागि शिलान्यास भईसकेकोे छ।अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत जुम्ला पुगेर शिलान्यास गरेका हुन् ।
यसैगरी कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा ल्याव सञ्चालन गरिएको छ । यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण ल्याव सञ्चालन नहुदा दुईदिन पैदल यात्रा गरी सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो ।
तर ग्रामीण भेगका स्वास्थ्य चौकीका ल्याव सञ्चालनमा आएपछि दिसा, पिसाव, खकार लगायत अन्य परीक्षण गर्न सहज भएको इन्चार्ज विरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।यहाँका नागरिक विरामी हुदा स्थानीय स्तरमै ल्याव परीक्षण गरी आवश्यकता अनुसार औषधि उपचार गर्न सकिने अवस्था भएको उनको भनाई छ ।कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा कोभिड अस्थायी अस्पताल समेत संचालनमा ल्याएको छ ।
बुधबार औपचारिक रूपमा उद्घाटन गर्दै कनकासुन्दरी गाउँपालिकाले ५ शैयाको भिन्नै कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको स्वास्थ्यकर्मी नेत्र खत्रीले जानकारी दिनुभयो । कोरोना संक्रमणका बिरामीको पालिकामै प्राथमिक उपचारका लागि कोभिड अस्पताल संचालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दामोदर आचार्यले थप्नुभयो ।
कोभिड अस्पताल व्यवस्थापनका लागि संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले जानकारी दिदै अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र कार्यालय सहयोगीको दरबन्दी छ ।तर, मेडिकल अफिसर वाहे अरू स्टाफ भर्ना गरी काम काम शुरु गरिएको छ ।