जुम्लाका स्याउका विरुवा निर्यात हुन सुरु – Karnali News

जुम्लाका स्याउका विरुवा निर्यात हुन सुरु

 २ माघ २०७७, शुक्रबार १३:५७  

गोल्डेन बुढा माघ २ गते जुम्लाका किसानले उत्पादन गरेका स्याउका विरुवा जिल्लाबाहिर निर्यात हुन सुरु भएको छ। जिल्ला बाहिरका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गरेका छन्। यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ विरुवा निर्यात भएको हो।यहाँका एकैजना किसानले ६ हजार विरुवा बेचेका हुन्। सिँजाका किसान हंस कठायतले ६ हजार विरुवा बेचेको युवा किसान गोपाल रोकायाले बताउनुभएको छ ।

विरुवा लिन कृषि कार्यालय दाङको टोली गाडी लिएर जुम्ला पुगेको रोकायाको भनाइ छ । नर्सरीबाटै ६ हजार विरुवा दुई गाडीमा लोड गरेर लिएका हुन । किसानले सबै विरुवाको नगद नर्सरीमै पाएका छन ।रेड, रोयल र गोल्डेन जातको स्याउ जिल्ला बाहिर निर्यात भएको हो।स्याउका विरुवा रोप्ने सिजन आउन बाँकी भएपनि तातो हावापानी भएको जिल्लामा स्याउ रोप्न थालिएको हो।

नर्सरीमै ४० रुपैयाँ प्रतिविरुवा बेचेको किसानहरुको भनाइ छ। फाटफुट किन्दा प्रति विरुवा ५० रुपैयाँ पर्छ । निरोगी विरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान उत्साहित छन ्। अर्गानिक मलखाद्य प्रयोग गरेर हुर्केका स्याउका विरुवा किन्न ब्यापरी गाउँमै पुग्ने गरेका छन्। स्याउका विरुवा जिल्ला बाहिर निर्यात गर्नको लागि यहाँका किसान संगठिन हुने गोपाल रोकायाले बताउनु भयो ।

जिल्ला बाहिरबाट आएको माग अनुसार सबै किसानले सल्लाह गरेर एकै पटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ। यो कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकरात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका विरुवा निर्यात हुने गरेको छ । यहाँको विरुवा तत्कालिन कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुंङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेको छ।

चिसो हावापानीमा निरोगी विरुवा पाइने भएकोले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसानहरुको भनाइ छ ्।हाल जुम्लामा स्याउ नर्सरी १ सय १० छन । तर ७५ नर्सरी धनीले सक्रिय रुपमा विरुवा उमारिरहेका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जुम्लामा साढे पाँच लाख विरुवा रहेको बताउनुभयो ।जिल्ला बाहिर पठाउने तर्खरमा रहेको उहाँको भनाइ छ ।

स्याउ लगाउने सिजन सुरु भएकोले विरुवा बिक्री हुने अपेक्षा गरिएको छ।यो पटक सोचे जस्तो गरेर हिउँ नपरेकोले खाल्डा खन्न गाह्रो हुने भएको छ। फागुन पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकोले माग आउने अपेक्षा गरिएको छ ।

हाल जिल्लाको सिँजा क्षेत्र र गुठिचौर क्षेत्रतीरबाट स्याउ निर्यात भइरहेको जानकारी भएको प्रमुख देवकोटाको भनाइ छ्। स्याउका विरुवा यहाँका किसानको प्रमुख आम्दानीको स्रोत हुन् । यहाँ ३८ सय हेक्टरमा स्याउ रोपिएकोमा १५ सय हेक्टरको स्याउले फल दिने गरेको छ।