
नौरते नेपाली, पुष २८ जुम्ला
विद्यालयमा पहिलो पटक निर्माण भएको नयाँ विद्यालय भवन देखिपछि विद्यार्थी खुसी भएका छन् । विद्यालयमा भएका मध्ये सबैभन्दा राम्रो भवन निर्माण भएको देखेपछि कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ कोटघरमा रहेको पाण्डवगुफा माविमा अध्ययनरत विद्यार्थी खुसी भएका हुन् । रंगरोगन सहित नमूना र भूकम्प प्रतिरोधि भवन निर्माण भएको देखेपछि खुसी भएको विद्यार्थी वर्षा भण्डारीले बताउनु भयो । उहाँका अनुसार यस्तो भवन निर्माण भएको पहिलो पटक देखेको बताउनु भयो ।
विद्यालयमा पहिले र अहिले निर्माण भएका भवनमा धेरै फरक रहेको भण्डारीले बताउनु भयो । नयाँ भवन निर्माण भएकाले विद्यालयको रुप परिवर्तन भएको उहाँको बुझाइ छ । विद्यालयमा निर्माण भएको भवन देखेबाट विद्यार्थी खुसी भएको भन्दै उहाँले कक्षा कोठामा पस्दा आनन्द हुने गरेको अनुभव सुनाउनु भयो । विद्यार्थीहरु नयाँ भवनको कक्षा कोठामा जानको लागि रिसारिस गर्ने गरेको उहाँले बताउनु भयो ।
उक्त विद्यालयमा रहेका भवन मध्ये अहिले निर्माण भएको भवन विलकुलै फरक रहेको उहाँले जानकारी गराउनु भयो । हेर्दा सबैको नजर सिधै पर्ने भवन निर्माण भएको छ । नयाँ भवन निर्माणले विद्यार्थीको अध्ययनमा जोस जागर थपेको छ । निर्माण भएको भवनमा गरिएको रंगरोगन, पालिस र गुणस्तरले गर्दा सबै अभिभावकको रोजाइमा भवन परेको छ । विद्यालयमा हालसम्म भएका भवन मध्ये नमूना र भूकम्प प्रतिरोधि भवन निर्माण भएको अभिभावक नन्दवहादुर भण्डारीले बताउनु भयो ।
किर्डाक र प्लान नेपालले विद्यालयमा निर्माण गरेको भवन उदाहरणीय निर्माण भएको उहाँले प्रतिक्रिया दिनुभयो । सबैले यस्तै भवन निर्माण गरेमा प्रत्येक वर्ष भवन निर्माण गर्नु पर्ने झनझट हट्ने उहाँको भनाइ छ । दुर्गम गाउँमा रहेको विद्यालयमा सबैको नजर पर्ने भवन निर्माण गरेकोमा उहाँले किर्डाक नेपाल जुम्ला र प्लान इन्टरनेश्नल नेपाललाई धन्यवाद समेत दिनु भएको छ । चार कोठे नमूना भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपाल जुम्लाद्धारा संचालित कर्णाली शिक्षा परियोजना जुम्लाको सहयोगमा भवन निर्माण भएको हो । नेपाल सरकारको मापदण्डमा टेकेर भवन निर्माण भएको किर्डाक नेपाल जुम्लाका परियोजना अधिकृत निर्मला हमालले बताउनु भयो । सबै मापदण्डा पुरा गरिएकोले नमूना भवन निर्माण भएको उहाँको भनाइ छ ।
भवन निर्माणका लागि प्राविधिक सुपरभाइजर गगन शाहीले सबै हेर्नु भएको हो । जग हाल्ने देखि छाना छाउन्जेलसम्म प्राविधिक सुपरभाइजर शाहीले साइड हेरेको उहाँले बताउनु भयो । उहाँका अनुसार भवन निर्माणमा सहभागि कामदारलाई खटन पटन देखि प्राविधिक सर सल्लाह प्रादन गरिएकाले सोचे जस्तो भवन निर्माण भएको जानकारी गराउनु भयो । पाण्डगुफा माविमा बने जस्तै भवन हिमा गाउँपालिकाको रुपेलीदेवि आधारभुत विद्यालय मर्चिमा पनि निर्माणाधिन अवस्थामा रहेको छ ।
भवन सँगै अपाङ्ग र छात्रछात्र मैत्री नमूनाको शौचालय पनि निर्माण भएको शाहीले बताउनु भयो । शौचालयमा गएर आइसकेपछि हात धुनको लागि धारा पनि जडान गरिएको छ । जस कारणले विद्यार्थीहरुले सहजै रुपमा हातधुन सक्ने छन् । भवन निर्माणका लागि ४७ लाख १२ हजार ६ सय ४२ रुपैया दाताको सहयोग र १ लाख ९२ हजार १ सय ४५ रुपैया स्थानीय श्रमदानको गरी जम्मा ४९ लाख ४ हजार ७ सय ८८ रुपैयाको लागतमा भवन निर्माण भएको प्राविधिक सुपरभाइजर शाहीको भनाइ छ ।