
गोल्डेन बुढा पुष २५ गते जहाँतही कार्यविधि कुल्चेर सिसि क्यामरा जडान गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले निगरानी बढाएको छ। प्रशासन कार्यालयले तत्काल सिसि क्यामरा जडान गरिएको बारे जानकारी सहित उपस्थित हुन निर्देशन गरेको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बिना जानकारी सिसि क्यामरा जडान गर्न नपाउने बताउनु भएको छ । नियम संगत सिसि क्यामरा जडान भए नभएको बारेमा अनुगमन भइरहेको छ ।
कार्यविधि कार्यान्वयन नगरेर जडित सिसि क्यामरा जफत हुने छ ।जसका कारण एक साताको समय दिइएको छ । सबै प्रक्रिया अपनाएर सिसि क्यामरा जडान गर्न आग्रह गरिएको छ ।सिसि क्यामरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ मा सिसि क्यामराको प्रयोगलाई तीन तहमा वर्गिकरण गरिएको छ । सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने, ब्यापारिक प्रयोजनका लागि प्रयोग हुने र निजी प्रयोजनका लागि प्रयोग हुने उल्लेख छ ।
अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउँदै सिसि क्यामराको प्रयोगलाई व्यवस्थित र प्रोत्साहन गर्ने कार्यविधिले बोलेको थापाको भनाइ छ ।अब स्थानीय प्रशासनले कडा निगरानी राख्ने छ ।सिसि टिभी जडान गर्ने ठाउँ वा भवनहरुमा सबैले देख्ने गरि आवश्यकता अनुसार ठाउँठाउँमा जडान भएको सूचना अनिवार्य रुपमा राख्नु पर्ने प्रावधान छ ।
सार्वजनिक व्यापारीक वा सिसि टिभीको नियमन गर्ने निकायाले अद्यावधिक अभिलेख राख्नु पर्ने, व्यक्तिको गोपनीयताको हक संरक्षण हुने र मानवअधिकारमा प्रतिकुल असर नपर्ने व्यवस्थाको सुनिश्चितता हुने गरि सिसि टिभी सञ्चालन र जडान हुनु पर्ने कार्यविधिमा समेटिएको छ ।अब कार्यविधि अनुसार सिसि क्यामरा जडान गर्नको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले कडाइ गरेको छ।
कार्यविधि बमोजिम कार्यन्वयन भए नभएको अनुगमनका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी तोकेको छ ।अनुगमन र नियमन कार्यका लागि जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसहितको प्रहरी टोली खटाउन सक्ने कार्यविधिमा व्यवस्था छ ।कार्यविधि विपरित सिसि टिभी जडान भएर सञ्चालन भएको देखिएको खण्डमा विद्युतीय कारोवार ऐन २०६३ बमोजिम कार्वाही हुने छ ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार कार्यविधि अनुसार सिसि टिभी जडान गर्नुहोस। यो सबैको हितमा हुने छ ।सिसि टिभी जडानको लागि प्रयोजन खुलेको निवेदन पत्र, व्यक्तिको नागरिकताको प्रतिलिपि, परिचय खुल्ने अन्य कागजातहरु, घरको नक्साको प्रतिलिपी, जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी, गाउँपालिका वा नगरपालिकाको सिफारिस, सिसि टिभी क्यामराको निगरानीका लागि सम्बन्धी पक्षबाट खटिने ब्यक्तिको विवरण आवश्यक पर्छ ।
डेढ वर्ष अघि पनि जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यविधि अनुसार सिसि टिभी जडान गर्न आग्रह गरेको थियो। अब कार्यविधि अनुसार नचलेका सिसि टिभी बन्द हुने छन्।जुम्लामा धेरैले सिसि क्यामरा जडान गरेको तर प्रशासनको अनुमति नलिएको भन्ने तथ्यांक छ ।
यो सबै जानकारी प्रशासन कार्यालयमा हुनुपर्ने प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो । प्रशासनले रेकर्ड राख्नु पर्ने हो। डेढ वर्षअघि नै सिसि क्यामरा कार्यविधि अनुसार राख्न सूचना गरेका थियौँ। अटेर गरियो। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार प्रशासनलाई टिभी जडान गरेको जानकारी पत्र दिएर सञ्चालन गर्दा न शुल्क लाग्छ ।जथभावी सिसि क्यामरा जडानले सुरक्षाका नाममा असुरक्षा बढ्दो छ ।
बैंकहरुले बाहेक कुनै निकायले पनि सिसि क्यामरा जडानको जानकारी दिएका छैनन्।प्रशासनलाई समयमै जानकारी गराउन एक साताको सूचना प्रकाशित भएको छ ।सुरक्षा संवेदनशिलता अपनाउदै अपराध अनुसन्धानका हिसावमा सहयागी बनोस भन्ने सबैको चाहना हो।जिल्लाका अधिकांस ठाउँमा सार्वजनिक, व्यवसायिक र निजी हिसावले सिसि क्यामराको जडान गरिएको छ।