कनकासुन्दरीमा हिउँदे गाउँसभा सकियो,वडा थप गर्ने प्रस्ताव पास – Karnali News

कनकासुन्दरीमा हिउँदे गाउँसभा सकियो,वडा थप गर्ने प्रस्ताव पास

 २५ पुष २०७७, शनिबार २०:०५  

गोल्डेन बुढा पुष २५ गते जुम्लाको कनकासुन्दरी गाउँपालिकाको हिउँदे छैटौँ गाउँसभा सकिएको छ । गाउँपालिकाको हिउँदे गाउँ सभाबाट स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र गाउँ शिक्षा नीति २०७७ पारित भएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताउनुभयो । गाउँपालिकाको वडा नम्वर ३ भुगोल र जनसंख्याको आधारमा ठुलो भएकोले वडा थप गर्न वडा विभाजन प्रस्ताव पास भएको उहाँको भनाइ छ ।

लुम, गौरी, ओखरपाटा एक वडा र माथिबुडु, माजबुडु, गोठेलाबाडालाई अर्को वडा बनाउने प्रस्ताव पारित भएको गाउँपालिका अध्यक्ष नरविर रावतले जानकारी दिनुभयो । उहाँले भने पारित वडा विभाजन पस्ताव प्रदेश सरकार र संघीय सरकारमा पेश गरिने छ । यस गाउँपालिका ८ वडा विभाजित थियो ।

अब ३ नम्बर वडा विभाजन गरेपछि ९ वडामा विभाजन हुने भएको छ । अध्यक्ष रावतका अनुसार १५ शैयाको अस्पताल सञ्चालन गर्ने, पोलीक्लिनिक सञ्चालन, एम्बुलेन्स सेवा, प्रसुति गृह सञ्चालन तथा आवश्यक स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन जस्ता कुरा स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७७ मा उल्लेख गरिएको छ । शिक्षा संयोजक नारायण धितालका अनुसार गाउँपालिको हिउँदे गाउँ सभाबाट गाउँ शिक्षा नीति २०७७ पारित भएको छ ।