
गोल्डेन बुढा पुष २२ गते ९ महिनादेखि जुम्लाको ओडारमा बस्दै आएकी बेवारिसे बृद्ध महिला सहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यान्वयन अभियान अन्तरर्गत बुधबार प्रशासनको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा बृद्ध महिलासहित चार जनालाई बेवारिसे सडक मानवलाई उद्धार गरिएको हो ।
चन्दननाथ नगरपालिका ३ स्थित गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने बृद्ध महिला कमला कुमाई, चन्दननाथ नगरपालिका ९ निवासी पुनि तिरुवा, तातोपानी गाउँपालिका ५ निवासी बाहुनी लाटी र सिंजा गाउँपालिका घर बताउने प्रेमकली नेपालीलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो ।
१६ पुसमा सडक मानवको तथ्यांक संकलन गरी सामाजिक विकास मन्त्रालयसँंगको सहकार्यमा उद्धार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भए अनुसार पहिलो चरणमा चार जनालाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।उद्धार गरी पठाएका चारजना महिला मध्ये एक जना स्पष्ट बोल्न नसक्ने र र अपांगता भएका भएपनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् ।
शारीरिक तथा मानसिक अपांगता भएका बेवारिसे सडक मानवलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेतस्थित मानव सेवा आश्रममा पठाइएको प्रजिअ थापाले जानकारी दिनु भयो ।उद्धार गरिएकी बृद्ध बेवारिसे महिलाले भने ओडारबाट अन्त कतै नजाने बताउदै आउनु भएको थियो । तर प्रशासनले बृद्ध महिलालाई मात्र नभई अन्य तीनलाई पनि पठाउने गरी समन्वय गर्दा चार जनाको उद्धार भएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद् व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत गएका छन् । उहाँका अनुसार मानसिक रुपमा समस्या भएका, कहिले गाडी नचेढको हुनाले चुनौतीका बाबजुत पनि सुर्खेत लगिएको हो ।राज्यको दायित्व र जिम्मेवारी अनुसार सडक मानवको उद्धारमा प्रहरी प्रशासन र नगरपालिका खटिएको चन्दननाथका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताउनु भयो ।
उहाँका अनुसार चार जना सडक मानवलाई सुर्खेतसम्म लैजाने सबै खर्च नगरपालिकाले व्यवहोरेको छ ।सुर्खेतमा बसोबासका लागि प्रशासनले समन्वय गरेको छ । महिनादेखि ओडारमा बस्दै आएकी बृद्ध महिलालाई उद्धार गरेर प्रहरी प्रशासन, नगरपालिकाले निकै प्रशंसनिय काम गरेको स्थानीयहरुको भनाइ छ ।
पहिला ओडार छोडेर अन्त कतै नजाने बताई रहेकी बृद्ध कमला कुमाईले आफुलाई सुरक्षित स्थान पठाउन लागिएको भन्दै निकै खुसी हुनु भएको थियो । कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भइसकेकोले सडकमा बेवारिसे देखिने सबैलाई उद्धार र राहतमा प्रहरी प्रशासन नियमित जुटिरहेका छन् ।