तिलाका आठवटा विद्यालयमा शैक्षिक रेडियो बहस कार्यक्रम (फोटोफिचर सहित) – Karnali News

तिलाका आठवटा विद्यालयमा शैक्षिक रेडियो बहस कार्यक्रम (फोटोफिचर सहित)

 २ असार २०८०, शनिबार १६:१९  

नौरते नेपाली, असार २ जुम्ला
तिला गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयमा सार्वजनिक शिक्षा सुधारका लागि शैक्षिक रेडियो बहस कार्यक्रम गरिएको छ । सामुदायिक विद्यालयको सार्वजनिक शिक्षा सुधार गर्नका लागि शैक्षिक रेडियो बहस कार्यक्रम गरिएको हो । तिला गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा जुम्लाको सहयोग र रेडियो कर्णाली जुम्लाको आयोजनामा शैक्षिक रेडियो बहस कार्यक्रम गरिएको हो ।

वडा नम्बर ९ मा रहेको ज्योति मावि राँसा मालापानी, वडा नम्बर ६ मा रहेको देवि महादेव मावि रुखेडाचौर र जनजागृति मावि घोडे, वडा नम्बर ८ मा रहेको देउरालि मावि जुम्लाकोट, वडा नम्बर १ मा रहेको सिता मावि रारालिहि, वडा नम्बर ३ मा रहेको सरस्वति मावि कुडारी, वडा नम्बर ५ मा रहेको कालिका मावि मुल र वडा नम्बर ४ मा रहेको सेतिवाडा मावि नुवाकोटमा शैक्षिक रेडियो बहस कार्यक्रम भएको छ ।

ज्योति मावि राँसा मालापानीमा भएको बहस कार्यक्रमले एक हप्ता भित्र शौचालय मर्मत गरी प्रयोगमा ल्याउने, शिक्षकले पाठ्योजना बनाई अध्यापन गराउने, विद्यालयको घेरबार तिन महिना भित्र गरि सक्ने प्रतिवद्धता वडाध्यक्ष धनवहादुर रावत र प्रधानाध्यापक मोतिराम बुढाले गर्नु भएको छ ।

यस्तै देवि महादेव मावि रुखेडाचौरमा भएको बहस कार्यक्रमले सेनिटरी प्याड बिर्सजन सहितको शौचालय ६ महिना भित्र निर्माण गर्ने, विद्यालयको पश्चिम तर्फ एक महिना भित्र तटबन्धन गर्ने, १५ दिन भित्र खानेपानीको धारा निर्माण गरि संचालनमा ल्याउने गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया, वडाध्यक्ष जंगवहादुर रोकाया र प्रधानाध्यापक झुपे रावतले प्रतिवद्धता गर्नु भएको छ ।

यस्तै, देउरालि मावि जुम्लाकोटमा भएको बहस कार्यक्रमले यहि असार महिना भित्र दलित र छात्रा छात्रवृत्ति वितरण गर्ने, विद्यालयमा खानेपानी एक महिना भित्र उपलब्ध गराउने, कम्प्युटर कक्षा संचालन गर्ने र शिक्षकलाई नियमित विद्यालयमा हाजिर गराई पठनपाठन क्रियाकलापमा सहभागि गराउने वडाध्यक्ष आँसे बस्नेत र प्रधानाध्यापक रामभजन यादवले प्रतिवद्धता गर्नु भएको छ ।

सिता मावि रारालिहिमा भएको बहस कार्यक्रमले विद्यालयको चौरमा अव्यवस्थित रुपमा रहेको धाराको पन्द्र दिन भित्र व्यवस्थापन गर्ने, कम्प्युटर कक्षा एक हप्ताबाट संचालन गर्ने, विज्ञान प्रयोगशाला पन्द्र दिन भित्र प्रयोगमा ल्याउने, खेलकुद गतिविधिमा विद्यार्थीलाई सहभागि गराउने वडाध्यक्ष जंग बस्नेत र प्रधानाध्यापक शिव प्रसाद पाण्डेले प्रतिवद्धता गर्नु भएको छ ।

यस्तै, सरस्वति मावि कुडारीमा भएको शैक्षिक रेडियो बहस कार्यक्रमले १ एक महिना भित्र भत्किएको पर्खाल मर्मत गर्ने, फिल्डलाई व्यवस्थित बनाउने, कम्प्युटर कक्षा साउन महिना संचालन गर्ने, छात्रछात्रालाई खेलकुदका सामाग्री उपलब्ध गराउने, स्वास्थ्य शिक्षा कार्यक्रमलाई जोड दिने, शैक्षिक सामाग्रीको प्रयोग तथा लेसन प्लान अनुसार शिक्षण गराउने, विद्यालयमा आउने बाटो मर्मत तथा खानेपानीको व्यवस्थापन एक महिना भित्र गर्ने र शौचालयको बिग्रेको ढोका एक हप्ता भित्र मर्मत गर्ने प्रधानाध्यापक मानवहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनवहादुर हमालले प्रतिवद्धता गर्नु भएको छ ।

यस्तै कालिका मावि मुलमा भएको बहस कार्यक्रममा पन्द्र दिन भित्र विद्यालयमा खानेपानीको व्यवस्थापन गर्ने, फिल्ड व्यवस्थापन गर्ने, असार महिना भित्र छात्रवृत्ति वितरण गर्ने, थापा गाउँका अभिभावकलाई विद्यालय व्यवस्थापन समितिमा सहभागि गराउने, शैक्षिक सामाग्रीको प्रयोग गर्न लगाउने वडाध्यक्ष ललितवहादुर शाही र प्रधानाध्यापक भुपेन्द्रवहादुर शाहीले प्रतिवद्धता गर्नु भएको छ ।

यसैगरी सेतिवाडा मावि नुवाकोटमा भएको बहस कार्यक्रममा एक महिना भित्र शौचालय निर्माण गर्ने, पन्द्र दिनभित्र खानेपानीको व्यवस्थापन गर्ने, भवनको अभाव रहेकाले स्थानीय सरकासँग पहल गर्ने वडाध्यक्ष भद्रविर सार्की र प्रधानाध्यापक यज्ञ प्रसाद उपाध्यायले प्रतिवद्धता गर्नु भएको छ ।

सिता मावि रारालिहि र कालिका मावि मुलका अभिभावक तथा विद्यार्थीले उठाएको प्रश्नको जवाफ दिदै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मोहनवहादुर विष्टले सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न तिला गाउँपालिका तयार रहेको बताउनु भयो । शैक्षिक रेडियो बहस कार्यक्रमले विद्यालयमा देखिएका समस्यालाई बाहिर ल्याउने काम गरेको उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा कार्यक्रमले सहयोग पुराएको उहाँको भनाइ छ । आउदा दिनमा विद्यालयमा अनुगमन गर्दै गुणस्तरीय शिक्षा उपलब्ध गराउन पहल गर्ने विष्टको प्रतिवद्धता छ । धेरै विद्यालयमा शिक्षक दरबन्दिको समस्या रहेको प्रश्न उठेकोमा जवाफ दिदै उहाँले यसमा नेपाल सरकारको कमजोरी रहेको बताउनु भयो ।

स्थानीय सरकारले आन्तरिक स्रोत बाँहेक संघ र प्रदेशबाट आउने अनुदानमा शिक्षक राख्न नपाउने भएकाले अभाव रहेको शिक्षक दरबन्दि पूर्ति गर्न नसकिएको उहाँका भनाइ छ । यस्तै गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले शैक्षिक बहस रेडियो कार्यक्रमले तिलाको शिक्षा प्रणालीमा सुधार भएको बताउनु भयो ।

माध्यामिक स्तरका प्रत्येक विद्यालयमा भएको बहस कार्यक्रमले शिक्षक नियमित हुने र पठनपाठन गराउन शिक्षकलाई दबाब सृजना भएको उहाँको भनाइ छ । तिला गाउँपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि असार १० गते ल्याउने नीति तथा कार्यक्रम र बजेटमा शिक्षाको विषयलाई जोड दिन सहज हुने उहाँको भनाइ छ ।

सामुदायिक विद्यालयमा देखिएको राजनीतिलाई कम गर्दै गुणस्तरीय शिक्षामा जोड दिन अध्यक्ष रोकायाले शिक्षकहरुलाई अनुरोध गर्नु भएको छ । स्थानीय सरकारले विद्यालयमा देखिएका समस्या हल गर्नका लागि सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । अध्यक्ष रोकायाले सार्वजनिक शिक्षा सुधार गर्नका लागि रेडियो बहस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

बहस कार्यक्रममा उठेको प्रश्नलाई आउने आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने अध्यक्षले रोकायाले बताउनु भयो । बहस कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै तिला गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख झनमाया खत्री र सहसंयोजक दिपन्द्रराज हमालले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नको लागि शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधहरुको चिन्तन, चासो र जागरुकता आवश्यक पर्ने बताएका छन् ।

तिला गाउँपालिकाको देउरालि मावि जुम्लाकोट र सरस्वति मावि कुडारी बाँहेक अन्य विद्यालयमा देखिएको दरबन्दि अभावलाई परिपूर्ति गर्नको लागि संघिय सरकारले ध्यान दिनु पर्ने उनिहरुले बताएका छन् । प्रत्येक विद्यालयमा देखिएको दरबन्दिको अभावलाई सम्बोधन गर्नको लागि शिक्षा युवा तथा खेलकुद शाखाले सम्बन्धित मन्त्रालयमा लेखि पठाएको उनिहरुले बताएका छन् ।

शिक्षा शाखाले नियमित अनुगन गर्दै गुणस्तरीय शिक्षा उपलब्ध गराउन पहल गर्ने उनिहरुले प्रतिवद्धता समेत गरेका छन् । तिल्ला गाउँपालिकामा रहेका ३० वटै विद्यालयमा शैक्षिक रेडियो बहस कार्यक्रम हुनु पर्ने अभिभावकहरुले माग गरेका छन् । यो कार्यक्रमले विद्यालयले समस्या समाधान गर्न पुलको काम गरेको अभिभावक चक्रवहादुर शाहीले बताउनु भयो । मावि स्तरमा मात्रै नभइ आधार तहका विद्यालयमा पनि कार्यक्रम संचालन गर्न उहाँले अनुरोध गर्नु भएको छ ।