
नौरते नेपाली, जेष्ठ २४ जुम्ला
जुम्ला चन्दननाथ नगरपालिकाका १३ जना स्वास्थ्यकर्मीले ११ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । १३ जना स्वास्थ्यकर्मी मध्ये दुईजनाले दुई महिनाको तलबभत्ता पाएका छभने अरु ११ जनाले ११ महिनाको तबलभत्ता नपाउँदा समस्यामा परेको सिनियर अनमी मेनका देवकोटाले बताउन भयो ।
समायोजनबाट नगरपालिकामा सुरुवा भई आएका १३ जना स्वास्थ्यकर्मीले गएको साउन महिना देखि तलब नपाएको उहाँको भनाइ छ । हिमाबाट २ जना, कनकासुन्दरीबाट ३ जना, तिलाबाट १ जना, सल्यान जिल्लाबाट १ जना, मुगुबाट १ जना र अन्य सात जना नगरपालिका भित्रैका स्वास्थ्यकर्मीले झण्डै वर्ष दिन हुन लागि सक्दा पनि तलबत्ता नपाएको देवकोटाले गुनासो गर्नुभयो । साउन महिनादेखि तलब नपाउँदा समस्या भएकोे उहाँले बताउनु भयो ।
ऋण निकालेर खर्च चलाउनु पर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । एघार महिनासम्म तलब नपाउँदा खर्च कसरी धानेका हौँला, देवकोटाले भन्नुभयो, कसरी काम गर्ने, हाम्रो घरव्यवहार चलाउनु पर्दैन ? धेरै पटक हारगुहार्दा पनि तलब नपाएको उहाँको भनाइ छ । देवकोटाका अनुसार, मासिक खर्चका लागि घरबाटै रकम माग्नु पर्ने बाध्यता छ ।
उहाँले भन्नुभयो, आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छौँ । स्वास्थ्यकर्मीले एघार महिनादेखि तलब पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले चाँडो भन्दा चाडो तलब भत्ताको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ । तलब भत्ता नपाउदा एघार जना स्वास्थ्यकर्मी फाजिल हुनु परेको देवकोटाले बताउनु भयो ।
उहाँले भन्नुभयो, हाजिर गरेका छौँ, तर तलब पाएका छैनौँ । काम गर्दा पनि तलब नपाउनु दुःख लाग्दो अवस्था रहेको उहाँले सुनाउनु भयो । नगरपालिकाले मन्त्रालयमा बुझी रहेका छौँ भनेर जवाफ दिने गरेको देवकोटाले बताउनु भयो । मन्त्रायबाट तलब आएको छैन् भन्ने जवाफ दिने गरिएको बताउँदै उहाँले भन्नुभयो, जहाँबाट आएका हौँ त्यहि जाउ भन्ने गरिएको छ ।
११ जना सिनियर अनमी, एक जना एचए र एकजना अहेब अहिले फाजिल अवस्थामा छौँ । यता चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत सिताराम खड्काले जुम्लाको चन्दननाथ नगरपालिकाको मात्रै नभएर नेपालका १६० वटा स्थानीय तहको समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो, जुम्लाको चन्दननाथ नगरपालिकाको मात्रै समस्या होइन, सबै ठाउँको समस्या यस्तै हो ।
यो समस्या स्वास्थ्यकर्मी आफैले सृजना गरेका हुन् । जनप्रतिनिधिले आफ्ना मान्छेलाई भटभट सहमति दिने गरेकाले दरबन्दि भन्दा बढी स्वास्थ्यकर्मी नगरपालिकामा भएकाले तलबभत्ता दिन नसकिएको उहाँको भनाइ छ । दरबन्दि भन्दा बढी समायोजन भएर आएका हुनाले स्वास्थ्यकर्मी फाजिल भएको खड्काले बताउनु भयो ।
स्वास्थ्य मन्त्रालयले दरबन्दि अनुसारको तलबभत्ता नपठाउँदा सबैलाई तलब दिन नसकिएको उहाँले स्वीकार गर्नुभयो । १३ जना मध्ये दुई जना स्वास्थ्यकर्मीले दुई महिनाको तलब र दशैँ खर्च पाएको उहाँको भनाइ छ । त्यो कसरी दिइयो उहाँले भन्नुभयो, यस बारेमा मलाई थाहा छैन् । अर्थमन्त्रालयले रकम पठाएमा स्वास्थ्यकर्मीलाई तलबभत्ता दिन समस्या नहुने उहाँले जानकारी गराउनु भयो । तलब आउने भएकाले नआत्तिन उहाँले अनुरोध गर्नु भएको छ ।