तातोपानी ५ का चारसय बढी घरलाई ग्यास चुलो र हिल ट्याङ्क वितरण – Karnali News

तातोपानी ५ का चारसय बढी घरलाई ग्यास चुलो र हिल ट्याङ्क वितरण

 २३ पुष २०७९, शनिबार १७:२५  

नौरते नेपाली, पुष २३ जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ ले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो र हिल ट्याङ्क वितरण गरेको छ । वडा नम्बर ५ भित्र पर्ने विभिन्न गाउँका करिब ४ सय २० परिवारलाई ग्यास चुलो र हिल ट्याङ्क वितरण गरेको वडाध्यक्ष छिरिङ्ग महतले बताउनु भयो । उहाँका अनुसार, एैरेनी, लाम्रा र श्रीनगर लगायतका टोलका बासिन्दालाई ग्यास चुलो वितरण गरेको उहाँको भनाइ छ ।

धुवाँमुक्त समाज बनाउने र वनजङ्गलको संरक्षण गर्ने उद्देश्यले ग्यास सिलिण्डिर सहित चुलो वितरण गरिएको वडाध्यक्ष महतले जानकारी दिनुभयो । वडावासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँले मानव स्वास्थ्यमा असर गर्ने र दाउराको बढी प्रयोगले वनजङ्गल विनास हुने भएकाले प्रत्येक परिवारलाई ग्यास चुलो र सिलिण्डर वितरण गरेको महतको भनाइ छ ।

उहाँका अनुसार, धुवाँले श्वासप्रश्वास र दम लगायतका रोग लाग्ने भएकाले स्थानीय नागरिकको स्वास्थ्य अवस्थालाई मध्येनगर गर्दै ग्यास चुलो र हिल ट्याङ्क उपलब्ध गराएको जानकारी गराउनु भयो । चिसो समयमा ग्यास चुलो र हिल ट्याङ्कको प्रयोग गाउँघरमा कमैले गरेपनि गर्मी सिजनमा प्रयोग गर्नका लागि वितरण गरेको उहाँको भनाइ छ ।

वडाध्यक्ष महतका अनुसार, भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको जानकारी गराउनु भयो । स्वास्थ्यका हिसाबले मानव सूचाङ्कमा समेत पछि परेको वडाका नागरिकको स्वस्थ्य अवस्थामा सुधार गर्न खोजिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ग्यास चुलो र हिल ट्याङ्क पाउदा वडाबासि निकै खुसी भएका छन् ।

चिसोको समयमा जुम्लाका आगो बाल्ने चुलोमा बढी दाउराको प्रयोग हुने र यसले वनजङ्गल विनास गर्ने भएकाले नागरिकलाई ग्यास चुलो वितरण गरेको महतले बताउनु भयो । साथै घरमा दाउरा बोक्न नसक्ने परिवारका लागि वडाले वितरण गरेको ग्यास चुलोले सहयोग पुग्ने अपेक्षा गरेको उहाँको भनाइ छ ।

सरफाईमा सहयोग गर्ने उद्देश्यले हिल ट्याङ्क वितरण गरिएको महतले बताउनु भयो । गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई र प्रमुख प्रशासकिय अधिकृत तिर्थवहादुर कठायतको रोहोबरमा वडाबासिलाई ग्यासचुलो वितरण गरिएको वडाले जनाएको छ ।