तातोपानी गाउँपालिकाको हिउँदे गाउँसभा, घुम्ती कोष प्रस्ताव टेबुल – Karnali News

तातोपानी गाउँपालिकाको हिउँदे गाउँसभा, घुम्ती कोष प्रस्ताव टेबुल

 २१ पुष २०७९, बिहीबार १९:२१  

नौरते नेपाली, पुष २१ जुम्ला
प्रतिनिधिसभा सदस्य विनिता कठायतले जेष्ठ नागरिकहरुको स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गर्नु भएको छ । तातोपानी गाउँपालिका जुम्लाको १२ औँ हिउँदे गाउँसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जेष्ठ नागरिक र महिलाहरुको स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिन आग्रह गर्नु भएको हो ।

नागरिकको घरदैलोमा पुग्दा स्वास्थ्य र शिक्षालाई विशेष ध्यान दिन सुझाव आएको हुनाले स्थानीय सरकारले पनि यसै विषयमा काम गर्दा राम्रो हुने कठायतको भनाइ छ । उहाँका अनुुसार, स्थानीय सरकारले भोग्नु परेका समस्या हल गर्नको लागि संघबाट आफुले सकेजति पहल गर्ने जानकारी गराउनु भयो ।

नागरिकको सुखदुखमा स्थानीय सरकारले साथ दिने भएकाले ससाना समस्या हल गर्न सकेमा जनता खुसी हुने कठायतले बताउनु भयो । तातोपानी गाउँपालिकामा रहेका ठुला देवि देउताको संरक्षण र प्रचारमा जोड दिनु पनि उहाँले सुझाव दिनु भएको छ ।

तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नन्द प्रसाद चौलागाईले तातोपानीलाई आन्तरिक पर्यटन प्रर्वद्धनका रुपमा विकास गरिने बताउनु भयो । तातोपानी धारा र गिडिदहलाई आन्तरिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । जिल्ला बाहिर देखि तातोपानी धारामा नुहाउन आउने भएकाले व्यवस्थापकिय पाटोलाई राम्रो गर्न सकिएमा आन्तरिक स्रोत वृद्धि गर्न सकिने उहाँले जानकारी गराउनु भयो । अध्यक्ष चौलागाईका अनुसार, विकास निर्माणका ठुला कामहरु नगरि जनताको सुखदुखमा सरकारले साथ दिन सकेमा नागरिकहरु सुखी हुने बताउनु भयो ।

बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएका ४५ परिवारले ५ लाख रुपैयाँ नगद पाउने उहाँले बताउनु भएको छ । वर्तमान सरकारले कर्मचारीसँग कार्यसम्पादन सम्झौता, तातोपानी टाईम्स, खादा लगाउने कार्य निरुत्साहित, सुत्रमा योजना तथा बजेट इन्ट्रि, गिडिदह तथा तातोपानी मिडिया सम्मेलन, विपद्ले क्षति गरेका भौतिक संरचना मर्मत र उपभोक्ता समितिका नाममा गरिने गलत हर्कत रोक्ने लगायतका कार्यहरु गाउँपालिकाले गरेको उहाँको भनाइ छ ।

वैशाख मसान्तसम्म गाउँपालिकामा संचालन भएका सबै योजनाहरु सम्पन्न गर्ने सोच रहेको चौलागाईले बताउनु भयो । उहाँका अनुसार, असार महिनामा काम गर्न भ्याई नभ्याई गर्ने चलनलाई परिमार्जित गर्दै वैशाखसम्म योजनाका कामहरु सम्पन्न गराउने लक्ष्य राखेको सुनाउनु भयो । गरिब परिवारका विद्यार्थीका लागि छात्रवृत्ति, डिजिटल प्रणालीबाट राजश्व संकलन, गएको भदौ महिनामा ९० प्रतिशत योजनाको सम्झौता गरि हालसम्म १५ वटा योजनाको भुक्तानि दिन सफल, शिक्षकहरुको दरबन्दि र प्र.अ. मिलान जस्ता कामहरु गर्न सफल भएको अध्यक्ष चौलागाईले गाउँसभामा सुनाउनु भएको थियो ।

 

यस्तै, उपाध्यक्ष रेवति रावल (सिमा)ले स्थानीय सरकार गठन भएको छोटो समयमा देखिने कामहरु गर्न सफल भएको बताउनु भयो । उहाँका अनुसार, स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार काम गर्दै आएको जानकारी गराउनु भयो ।

गाउँसभाको अवसरमा योजना शाखा प्रमुख ओमवहादुर चन्द र इन्जिनियर डिल्ली बुढा सम्मानित हुनु भएको छ । इमान्दार, कर्तव्यनिष्ठ, लगनसिल र उत्तरदायि भई सेवा गरेको भन्दै गाउँपालिकाले सम्मान पत्र प्रदान गरेको छ ।

यसैगरि, तातोपानी गाउँपालिका जुम्लाको १२ औँ हिउँदे गाउँसभामा विभिन्न विद्येकहरु पेश भएका छन् । तातोपानी गाउँपालिकाको शिक्षा ऐन, २०७४ को पहिलो संशोधन २०७९, शिक्षा नियमावलि २०७४ को पहिलो संशोधन २०७९, सार्वजनिक सम्पतिको संरक्षण तथा व्यवस्थापन निर्देशिका २०७९, तातोपानी धारा व्यवस्थापन तथा संचालन कार्यविधि २०७९, खानेपानी तथा सरसफाई र स्वच्छता व्यवस्थापन गर्न बनेको विद्येक २०७९, सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका २०७९, तातोपानी खानेपानी सरसफाई तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली निर्देशिका २०७९, खानेपानी गुणस्तर तथा अनुगमन निर्देशिका २०७९, स्थानीय पूर्वाधार मर्मत संभार कोष तथा कार्यसंचालन कार्यविधि २०७९, स्थानीय विकास पूर्वाधार विकास आयोजना संचालन कार्यविधि २०७९ र बाल विवाह न्युनिकरण सम्बन्धि रणनीति तथा कार्ययोजना, २०७९ गाउँसभामा निर्णायार्थ पेश भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थवहादुर कठायतले जानकारी गराउनु भयो ।

हिउदे गाउँसभा ऐन, नियम, कार्यविधि र मापदण्ड बनाउनका लागि आह्वान भएको उहाँको भनाइ छ । दैनिक कार्य संचालन गर्दा आईपर्ने समस्यालाई हल गर्नको लागि आवश्यक पर्ने ऐन नियमहरु गाउँसमा पेश भएको उहाँले जानकारी गराउनु भयो ।

घुम्ती कोष व्यवस्थापन सम्बन्धि प्रस्ताव टेबुल
गाउँसभाको बन्द सत्रमा तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा सरकारका प्रवक्ता अमरवहादुर रोकायाले घुम्ती कोष व्यवस्थापन सम्बन्धि प्रस्ताव टेबुल गर्नु भएको छ । गरिबी निवारण कोषद्धारा परिचालित घुम्ती कोष रकमको तथ्याङ्क संकलन तथा दिगो व्यवस्थापन गर्नका लागि नीतिगत निर्णय गर्न उहाँले प्रस्ताव टेबुल गर्नु भएको हो ।

वडाध्यक्ष रोकायाले टेबुल गरेको प्रस्तावमा नेपालको अर्थतन्त्रमा गिरावट आएको बेला आर्थिक रुपमा विपन्न तथा बञ्चितिकरणमा परेका वर्ग र समुदायलाई विकासका लागि यो प्रस्ताव कोशेढुङ्गा साबित हुनेछ । पछि परेका तथा गरिब समुदायलाई मुलप्रवाहिकरण गरि गरिबी निवारणमा योगदान पुराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

२०६० सालमा गरिबी निवारण कोषको स्थापना गरि गरिबी निवारण ऐन, २०६३ जारी भएपछि उक्त कोषको कार्यक्रम लागु भएका विभिन्न जिल्लाहरुमा गरिबी निवारण कार्यक्रमको मुख्य साझेदारका रुपमा रहेको विश्व बैँकको अनुदानबाट साविकका गाउँविकास समितिहरुका वडा बस्तिहरुमा २५ देखि ५० घरधुरीहरु समेटेर सामुदायिक संस्थाहरु गठन भएका र तिनै सामुदायिक संस्थाहरुलाई घुम्ती कोष रकम उपलब्ध गराउदा राम्रो हुने रोकायाको भनाइ छ ।

साविकाको हाँकु गाविसमा १३ वटा, लाम्रा गाविसमा १० वटा, तातोपानी गाविसमा १७ वटा र ताम्ती गाविसमा १९ वटा गरि जम्मा ५९ वाटा भन्दा धेरै सामुदायिक संस्था मार्फत परिचालित करिब ५ करोड ३४ लाख घुम्ती कोष रकम हाल गरिबी निवारण कोष कार्यक्रम फेजआउट पश्चात उक्त कोषहरु व्यवस्थित रुपमा परिचालन हुन नसकि डुबन्ते कोषका रुपमा देखा परेको उहाँले टेबुल गरेको प्रस्तावमा उल्लेख गरिएको छ । यसलाई तातोपानी गाउँपालिकाले लेखाजोखा गर्दै अर्थतन्त्र चलाएमान गर्न सकेमा गाउँपालिकाको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षाका साथ प्रस्ताव टेबुल गरेको उहाँको भनाइ छ ।