
नौरते नेपाली, पुष २० जुम्ला
हिमा गाउँपालिका जुम्लाले १३ औँ हिउदे गाउँसभाबाट युवा विकास समिति नियम २०७९ पास गरेको छ । हिमा गाउँपालिका जुम्लामा रहेका युवाहरुलाई रोजगारी सृजना गर्ने र युवाका क्षेत्रमा काम गर्नको लागि युवा विकास समिति नियम पास गरिएको अध्यक्ष लक्ष्मणवहादुर शाहीले जानकारी गराउनु भयो ।
यस्तै निर्माण व्यवसायिक कार्यविधि, २०७९ र निर्माण व्यवसायि ऐन, २०७९ गाउँसभाबाट पारित गरिएको उहाँको भनाइ छ । अध्यक्ष शाहीका अनुसार, सेवा करारका कर्मचारिहरुको म्याद थप, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक प्राविधिक कर्मचारीको विगत साढे २ वर्ष देखि स्थगन गरिएको विज्ञापन रद्ध गरि नयाँ विज्ञान गर्ने विषय पनि गाउँसभाबाट पास भएको जानकारी गराउनु भयो ।
हिउदे गाउँसभाबाट दिगो खानेपानी तथा सरसफाई स्वच्छता परियोजना सुस्वाको आयोजना र कार्यक्रम स्वीकृत तथा समर्थन, आर्थिक वर्ष २०७८÷०७९ को लिसा र फारा मुल्याङ्कन, सूचना प्रविधि अधिकृतको पारिश्रमिक र स्थानीय भत्ता, कर्मचारीको जिम्मेवारी र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट आएका योजनाहरुको कार्यान्वयन गर्ने लगायतका विषयहरु गाउँसभाबाट पारित भएको शाहीको भनाइ छ ।
उहाँका अनुसार, हिमा गाउँपालिकाले निर्माण गरेको काठेपुलको सिंजा र कनकासुन्दरी गाउँपालिकाले सिकै गर्दै निर्माण गरेको बताउनु भयो । हिमाका ४४३ घरपरिवारको सुरक्षित नागरिक आवास कार्यक्रमबाट छाना फेरिने उहाँको भनाइ छ । हिमाको सरकारबाट जुम्लाका अन्य स्थानीय तहले कामको देखासिकि गर्न थालेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, सुरुवाति चरणमा हामीले राम्रो कामको अभ्यास गरेका छौँ । पाँच वर्षको अवधिमा जनताका आधारभुत समस्या हल गर्नेछौँ, अध्यक्ष शाहीले भन्नुभयो, राजनीतिक हिसाबमा आफ्ना पराई नभइ हिमाको विकास र समृद्धिका लागि सबैसँग समन्वय र सहकार्य सरकारले गर्ने बचन वद्धता गर्नु भएको छ ।
यस्तै १३ औँ हिउदे गाउँसभामा उपाध्यक्ष सुर्पना शाहीले वर्तमान सरकारले गरेको २१ बुदे कामको विवरण पेश गर्नु भएको थियो । वडा नम्बर १ को मालिङ्गेमा फोरजि टावर संचालन, नाम्म खोला काठेपुला निर्माण, वडा नम्बर ४ र ७ का वडा कार्यालयहरुको जग्गा पास तथा वडा कार्य संचालन, स्वास्थ्य विमा कार्यक्रम पूर्णमा कार्यान्वयन, हिमा गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म राष्ट्रिय प्रशारण लाईन पुराउन सफल भएको बताउनु भयो ।
यस्तै सुत्केरी महिला तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, असोज तेस्रो साता परेको अविरल वर्षाले अवरुद्ध भएका ग्रामिण सडक संचालन, निःशुल्क स्वास्थ्य शिविर संचालन गरि नागरिकलाइ घर आगनमै स्वास्थ्य सेवा दिन सफल, वडा नम्बर २ को रिखिदेउ र ७ को धाँचु गाउँमा स्वास्थ्य इकाई स्थापना, रुपाकोट आधारभुत विद्यालयमा चार कोठे पक्कि भवन संचालन, कालिका मा.वि. बड्किमा चार कोठे र दुई कोठे पक्कि भवन संचालन, ग्रीन रोड ग्रीन रिभर कार्यक्रमको प्रारम्भ, बाढी पहिरो पिडित परिवारलाई राहत वितरण, डिजिटल सूचना बोर्ड स्थापना, मुस्कान सहितको सेवा प्रवाह, वडा नम्बर ४, ५, ६ र ७ मा फलामे विजुलीका पोलहरु वितरण र ४५० वटा विपन्न परिवारलाई सुरक्षित आवास कार्यक्रम प्राप्त गरि कार्यान्वयन गरिएको लगायतका कामहरु उपाध्यक्ष शाहीले गाउँसभामा पेश गर्नु भएको थियो ।
सरकारका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष रतनवहादुर शाहीले वर्तमान सरकारले जनताको पक्षमा काम गरेको बताउनु भयो । छोटो समयमा हिमा सरकारले गरेको कामले गर्दा आम नागरिक खुसी भएको उहाँको भनाइ छ ।
गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म रहेको बैँकसम्म सामाजिक सुरक्षा भत्ता बुझ्न आउने जेष्ठ नागरिकलाई यातायात सेवा दिएको उहाँले जानकारी गराउनु भयो । वडा नम्बर ७ का वडाध्यक्ष विक्रम वहादुर शाहीले वडा कार्यालयबाट सेवा दिदै नागरिकका समस्या हल गर्न सफल भएको दावि गर्नु भएको छ ।
हिमाको वर्तमान सरकारले विभिन्न समयमा स्वास्थ्य शिविर संचालन गरि नागरिकलाई सेवा दिएको उहाँको भनाइ छ । नेकपा एसका भैवहादुर रोकायाले वर्तमान सरकारले राम्रो काम गरेको हुनाले समर्थन रहेको बताउनु भयो । प्रतिपक्ष दलहरुले विरोध मात्रै नगरि राम्रो कामको प्रशंसा पनि गर्न सक्नु पर्ने उहाँको भनाइ छ ।