गुठीचौर गाउँपालिकाद्धारा दुईदिनमा काठेपुल निर्माण – Karnali News

गुठीचौर गाउँपालिकाद्धारा दुईदिनमा काठेपुल निर्माण

 ४ कार्तिक २०७९, शुक्रबार १६:०७  

कार्तिक ४ जुम्ला
अविरल वर्षा पछि बाढीले बगाएको काठेपुल गुठीचौर गाउँपालिकाले दुई दिनमा निर्माण गरेको छ । गुठीचौर गाउँपालिका वडा नम्बर २ मा पर्ने कुडीगाउँ नजिक रहेको कोदारी काठेपुल दुई दिनमा निर्माण गरिएको हो । जुम्ला डोल्पा हुँदै मनाङ्ग मुस्ताङ्ग जोड्ने काठेपुल असोज १९ देखि २३ गतेसम्म परेको अविरल वर्षाले बगाएको थियो ।

गुठीचौर गाउँपालिकाको अगुवाई, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको क्रियतामा दुई दिनमा पुल निर्माण गरिएको हो । पुल नहुँदा डोल्पा जोड्ने राजमार्ग अवरुद्ध भएको थियो । बाढीले पुल बगाउँदा गुठीचौर गाउँपालिका वडा नम्बर १ का पाँचवटा वस्ति प्रभावित भएका थिए । नेपाली सेनाको नन्दावक्स गण जुम्लाका जमदार भेषबहादुर रायमाझीको नेतृत्वमा गएको ३० जना नेपाली सेनाको जनशक्ति, नेपाल प्रहरी र स्थानीय बासीसहितको श्रमदानमा काठेपुल निर्माण गरिएको हो ।

पुल निर्माण हुदा गुठीचौरको माथिल्लो क्षेत्रसहित डोल्पा जिल्लाको तल्लो क्षेत्रसम्म आवतजावत गर्न सहज भएको छ । बाढीले पुल बगाएपछि सडक सम्पर्क विच्छेद भएको डोल्पा हुँदै मनाङ्ग मुस्ताङ्ग आवागमन सुचारु भएको छ । बाढीले काठेपुल पुल बगाएपछि गाडीको आवतजावत नै ठप्प भएकाले दुई दिनमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहभागितामा काठेपुल निर्माण गरेको अध्यक्ष दानवहादुर बुढाले बताउनु भयो ।

काठको पुल नहुँदा सवारीसाधनलाई आवतजावत गर्न समस्या भएकाले चिनिया शैलीमा दुई दिनमा पुल निर्माण गरि विपद्बाट भएको जोखिमलाई कम गरिएको उहाँको भनाइ छ । सवारी धान्ने पुल बनाइए पछि आवागमनमा सहज भएको बताउदै उहाँले पुल नहुँदा डोल्पा जिल्ला पुरै र गुठीचौर गाउँपालिकाको वडा नम्बर १ का पाँचवटा बस्तिका झण्डै ७ सय घरधुरी प्रभावित भएको बताउनु भयो ।

अस्थायी पुल बनेपछि तत्कालका लागि चाडपर्वका बेला आवश्यक पर्ने खाद्यन्न गाउँसम्म लिनको लागि सहज भएको उहाँको भनाइ छ । बाढी पहिरोले अवरुद्ध सडक संचालन भएपनि पुल नहुँदा डोल्पा र गुठीचौर १ का नागरिकले उपभोग्य वस्तुको अभाव भएको गुनासो आउन नदिनको लागि दुई दिनमा पुल निर्माण गरिएको अध्यक्ष बुढाले बताउनु भयो ।

झण्डै १० लाख रुपैयाँको लागतमा निर्माण हुने काठेपुल जनश्रमदान भएकाले साढे २ लाख रुपैयाँको खर्चमा निर्माण गरिएको उहाँले बताउनु भयो । स्थानीयको दैनिकलाई सहज गर्नको लागि पुल निर्माण कार्यमा सहयोग गर्ने नेपाली सेना र नेपाल प्रहरीलाई अध्यक्ष बुढाले धन्यवाद दिनु भएको छ । बाढी पहिरोले वडा नम्बर १ र २ मा बढी क्षति गरेको उहाँको भनाइ छ ।

वर्षाले सबै भन्दा बढी सडकमा क्षति गरेको उहाँले बताउनु भयो । अवरुद्ध सडक पुरै संचालन गरि नागरिकलाई आवतजावतमा सहज गराई सकेको उहाँले जानकारी गराउनु भयो । विपद्ले गर्दा अस्तव्यस्थ बनाएको अवस्थालाई सामान्य बनाउनको लागि पुल निर्माणमा नेपाली सेनाले गरेको सहयोग मत्वपूर्ण भएको उहाँको भनाइ छ ।

अध्यक्ष बुढाका अनुसार विपद् व्यवस्थापन स्थानीय स्तरबाटै गर्न सफल बताउनुभयो । पहिरोले अवरुद्ध गुठीचौर गाउँपालिका अन्तर्गत पर्ने सडकहरु संचालन गरि सकेको बताउँदै उहाँले बाढीले बगाएको पुल निर्माण सम्पन्न भएकाले दैनिक उपभोग्य सामानहरु गाउँसम्म लिन सहज भएको जानकारी गराउनु भयो ।

गुठीचौर गाउँपालिकाको दानसाँघु देखि चोत्रागाउँसम्मको सडकमा आएको पहिरो पन्छाउने काम गरेको बुढाले बताउनु भयो । जुम्लाका आठवटा स्थानीय तह मध्ये सबैभन्दा पहिले गुठीचौर गाउँपालिकाले अवरुद्ध सडक खुलाउने काम गरेको उहाँले बताउनु भयो । वडा नम्बर १ का वडाध्यक्ष अर्जुन कुमार महताराले स्थानीय सरकारले दुई दिनमा काठेपुल निर्माण गरि नागरिकको दैनिकिलाई सहज बनाउन सफल भएको बताउनु भयो । कुँडीगाउँको कोदारीमा काठेपुल नहुँदा सवारी आवगमन पुरै बन्द भएको उहाँले बताउनु भयो ।

चाडपर्वको बेला स्थानीयलाई गाउँमा दैनिक उपभोग्य सामान बजारबाट ल्याउन सजिलो होस भनेर पुल निर्माण गरिएको महताराले बताउनु भयो । पुल अत्यावश्यक रहेकाले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासिको सहभगितामा निर्माण भएको उहाँको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिको सक्रियतामा इतिहासमै पहिलो पटक पुल निर्माण भएको उहाँले बताउनुभयो ।

 

नदिले बगाएको पुल दुई दिनमै निर्माण गर्ने स्थानीय सरकारलाई कुडिगाउँका नागरिकले धन्यवाद दिएका छन् । स्थानीय सिंहबिर बोहोराका अनुसार नेपाली सेनाको सहयोगमा पुल निर्माण हुँदा खुसी भएको बताउनु भयो । पुल निर्माण भएकाले चाडपर्वको बेला दैनिक उपभोग्य सामान ल्याउन सहज हुने उहाँको भनाइ छ । बोहोराका अनुसार, स्थानीय सरकारले नागरिकको समस्यालाई मध्य नजर गर्दै पुल निर्माण गरेकोमा धन्यवाद दिनु भएको छ ।