प्रतिष्ठानका डाक्टहरु आन्दोलनका कार्यक्रम स्थगीत गर्दै नियमित काममा फर्किए – Karnali News

प्रतिष्ठानका डाक्टहरु आन्दोलनका कार्यक्रम स्थगीत गर्दै नियमित काममा फर्किए

 २४ भाद्र २०७९, शुक्रबार ०८:४१  

नौरते नेपाली, भदौ २४ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनका कार्यक्रम स्थगीत गरि नियमित काममा फर्केका छन् । ६० जना डाक्टरहरुले दिएको सामुहिक राजीनामा फिर्ता लिदै डाक्टरहरु नियमित काममा फर्केको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले बताउनु भयो ।

उहाँका अनुसार सबै राजनीतिक दलहरुले डाक्टरहरुको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने, बाल हिंसा विरुद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि डाक्टरहरु नियमित काममा फर्केको जानकारी गराउनु भयो । प्रतिष्ठानमा डाक्टहरुले इर्मेजेन्सी बाँहेक ठप्प पारेका सबै सेवाहरु नियमित रुपमा शुक्रबारका दिनबाट सुचारु हुने महतले बताउनु भयो ।

डाक्टर करण शाह माथि लागेको आरोप फिर्ता लिने सहमति पछि सबै डाक्टरहरु काममा फर्केको उहाँले बताउनु भयो । भयरहित वातावारणमा डाक्टरहरुले काम गर्ने पाउनु पर्ने माग राखेको र उक्त माग आगामी दिनमा सबै जुम्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकार र प्रहरी प्रशासनले उपलब्ध गराउने प्रतिवद्धता गरेपछि डाक्टरहरु नियमित काममा फर्किएको उहाँको भनाइ छ ।

रजिष्ट्रार महतका अनुसार डाक्टरहरुले जुम्लामा बसेर सहज रुपमा सेवा गर्ने वातावारण उपलब्ध गराई दिन आम जुम्लाबासिलाई अनुरोध गर्नु भएको छ । जुम्ली जनताको सेवा गर्न आएका डाक्टर माथि गरिने व्यवहारले प्रतिष्ठान र सिंगो जुम्लाको संस्कार माथि प्रश्न उठ्ने अवस्था सृजना भएको उहाँले बताउनु भयो ।

प्रतिष्ठानमा सृर्जित घटनाको परिस्थितीलाई सामान्य बनाउनुको साटो मलजल गर्ने काममा कोहि कसैलाई पनि सरिक नभई दिन उहाँले अनुरोध गर्नु भएको छ । प्रतिष्ठानका विषयमा पछिला दिनमा बजारमा आएको हल्लाको पछि नलागि देशकै गौरव आयोजनाको रुपमा चिनिएको संस्थाको विकास र विस्तारमा सहयोग गरिदिन पनि महतले सबैलाई आग्रह गर्नु भएको छ ।