हिमा गाउँपालिकाको आयोजनामा स्वास्थ्य शिविर संचालन – Karnali News

हिमा गाउँपालिकाको आयोजनामा स्वास्थ्य शिविर संचालन

 ३ असार २०७९, शुक्रबार १६:३५  

नौरते नेपाली, असार ३ जुम्ला
जुम्लाको हिमा गाउँपालिकाले स्वास्थ्य शिविर संचालन गरेको छ । गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि शिविर संचालन गरेको हो । स्थानीय तह निर्वाचनको बेला घोषणा पत्रमा बोलेको कुरा पुरा गर्नको लागि स्वास्थ्य शिविर संचालन गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनु भयो । आफ्नो नेतृत्वको सरकार गाउँपालिकामा आएपछि हरेक ३ महिनाको फरकमा स्वास्थ्य शिविर संचालन गर्ने बाचा अनुुसार पहिलो पटक प्राथमिक स्वास्थ्य केन्द्र कालिखेतुमा दुई दिने शिविरको आयोजना गरेको उहाँको भनाइ छ ।

घोषणा पत्रमा उल्लेख गरेको कुरा पुरा गर्नको लागि स्वास्थ्य शिविर संचालन गरिएको बताउदै अध्यक्ष शाहीले अब प्रत्येक ३ महिनाको फरकमा शिविर संचालन हुने बताउनु भयो । अध्यक्ष शाहीका अनुसार स्थानीय सरकारको नागरिकलाई अनुभूति गराउनको लागि स्वास्थ्य शिविर गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, अब नागरिकले सामान्य उपचारको लागि स्वास्थ्य संस्था जानु पर्दैन गाउँमा सेवा पाउनेछन् ।

हाडजोर्नि, नशारोग, स्त्रीरोग, सर्जरी, कुपोषण र जिपि लगायतका आधारभुत सेवा शिविर मार्फत प्रदान गरिने उहाँको भनाइ छ । कर्णाली स्वास्थ्य विज्ञान लगायतका जिल्ला बाहिरका ठुला अस्पतालमा गएर नागरिकले उपचारको लागि रकम खर्च गर्न नपरोस भनेर शिविर संचालन गरिएको अध्यक्ष शाहीले बताउनु भयो ।

हिमाका नागरिकहरु विशेष गरि हाडजोर्नि, स्त्रीरोग, नशा र बालबालिकामा कुपोषणको समस्या भएकाले स्वास्थ्य सचेतना दिनको लागि शिविरले राहत गर्ने उहाँको भनाइ छ । सामान्य चेकजाचका लागि जुम्ला सदरमुकाम सम्म पुग्दा यातायाता, खाना बस्न र उपचारका लागि खर्च हुने सबै रकमको बचत गराउँदै नागरिकलाई घरमआगनमै स्वास्थ्य सेवा दिने लक्ष्य रहेको शाहीले बताउनु भयो ।

हिमाका सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनको लागि सुरुवात गरिएको शिविरले दुखेको घाउमा मलहम् पट्टिको काम गरेको उहाँको भनाइ छ । नागरिकलाई निःशुल्क विमा गर्ने भनि हिमा सरकारले घोषणा पनि गरेको छ । विमा कार्यक्रम आउदो भदौ महिनाबाट लागु हुने अध्यक्ष शाहीले बताउनु भयो ।

उहाँका अनुसार स्वास्थ्य शिविरमा समस्या देखिएका व्यक्तिलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्म रेफर गरी थप उपचारमा सहयोग गर्न खोजिएको बताउनु भयो । भिडियो एक्सरे र सादा एक्सरे पनि शिविरमा गरिने उहाँको भनाइ छ । अध्यक्ष शाहीका अनुसार यहि असार ६ र ७ गतेका दिन निःशुल्क आँखा शिविर पनि संचालन गर्न लागिएको बताउनु भयो । हिमाका नागरिकको स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर शिविर संचालन गरिएको शाहीको भनाइ छ ।

हिमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रणवहादुर बुढाले नागरिकलाई निःशुल्क सेवा दिनको लागि शिविर संचालन गरिएको बताउनु भयो । लक्ष्मणवहादुर शाहीको नेतृत्वमा आएको नयाँ सरकारले घरआगनमै स्वास्थ्य सेवा दिने कार्यको थालनी गर्दा नागरिकहरु धेरै खुसी भएको उहाँको भनाइ छ ।

विकास निर्माणका कार्यसँगै नागरिकको स्वास्थ्य समस्याको हल गर्ने कामको थालनीले हिमा बासीको मुहारमा खुसी छायको बुढाले बताउनु भयो । प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा संचालन भएको शिविरमा हाडजोर्नि विशेषज्ञ डाक्टर पुजन रोकायाको नेतृत्वमा ८ जनाको टोली खटिएको छ । स्त्रीरोगका विशेषज्ञ डाक्टर सोनम गुरुङ्ग, सर्जरी डाक्टर सूर्यमान लिम्बु, भिडियो एक्सरे डाक्टर उमा गुरुङ्ग, जिपि डाक्टर वेद चौधरी लगायतको टोली उपचारमा खटिएको छ ।

शिविरमा समस्या देखिएका विरामीलाई प्रतिष्ठानसम्म थप उपचारका लागि रेफर गरिने हाडजोर्नी विशेषज्ञ डाक्टर पुजन रोकायाले बताउनु भयो । उहाँका अनुसार हड्डिमा समस्या देखिएका र नसा च्यापिएका विरामीको उपचारका लागि शिविरले सहयोग गर्ने बताउनु भयो । प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा संचालन भएको स्वास्थ्य शिविरमा उपचार गर्न पुग्नु भएका ६५ वर्षका सार्के रावतले आफ्नो समस्या डाक्टरसँग राख्न पाउदा खुसी भएको बताउनु भयो ।

छाती सम्बन्धी समस्या लिएर रावत शिविरमा पुग्नु भएको थियो । उहाँले भन्नुभयो, यसैका लागि बजारसम्म पुग्दा धेरै खर्च हुन्थ्यो, घरआगनमै स्वास्थ्य सेवा पाउदा खुसी भएको छु । रंगा अधिकारीको पाठेघरबाट सेतो पानी बग्ने, तल्लो पेट र ढाड दुख्ने समस्या भएकाले उपचारको लागि स्वास्थ्य शिविरमा आउनु भएको थियो ।

काठमाण्डौँका ठुला अस्पतालमा उपचार गर्दा पनि पुन समस्या बल्झीएकाले शिविरमा सेवा लिन आएको उहाँले बताउनु भयो । ३८ वर्षकै उमेरमा उहाँले पाठेघर सम्बन्धि समस्या झेल्नु परेको छ । शिविरले रंगा जस्ता धेरै महिलाको समस्या हल गरेको छ । घरयासि कामकाजले स्वास्थ्य संस्थासम्म पुगेर उपचार गर्न नभ्याउने महिलाको लागि शिविरले ठुलै राहत गरेको छ ।

गाउँपालिकाले संचालन गरेको स्वास्थ्य शिविरमा बृद्ध देखि महिला र बालबालिका सम्मले सेवा लिएका छन् । हिमा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको हो ।