
कालीवहादुर परियार, जेठ ३० जुम्ला
वर्षायाम सुरु भएकाले सुरक्षाकर्मीद्धारा स्थानीय नागरिकलाई विपद्बाट जोगिनका लागि सिमुलेसन माध्यमबाट सिकाईएको छ । बिपद्का समयमा कसरी बच्ने, भिरबाट लड्दा उद्धार गर्ने देखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकाहरू अभ्यास गरि सिकाईएको हो । बिपद् कोहि कसैलाई नसोधी र बाजा बजाएर नआउने भएकाले बिपद्बाट बच्नको लागि नागरिकामा सचेतना जोगाउनको लागि सोमबार बिहान जुम्लाको दानसाँघुमा बिपद् प्रतिकार्य सम्बन्धी अभ्यास गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा दानसाँघुमा रहेको तिला नदी र नजिकैको भिरमा गएर कसरी बच्ने र बिपद् आउदा कसरी आफु जोगीन सकिन्छ भन्ने बारेमा सिमुलेसन अभ्यास गरेका हुन । जिल्ला बिपद् ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि जनतामा चेतनाको कमी भएकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्धारा व्यवहारिक अभ्यास गरेर सिकाइएको बताउनुभयो ।
उहाँका अनुसार बिपद् आउदा कसैलाई सोधेर र बजा बजाएर सबैलाई म आउदै छु भनेर नआई एक्कासी आउने भएकाले पूर्व सावधानीका विषयमा सबै चनाखो बन्नु पर्ने बताउनुभयो । जुम्ला पनि विपद्को उच्च जोखिममा रहेकाले जुनसुकै समयमा विपद् आउने हुदा सबै नागरिक सचेत रहन जरुरत रहनुपर्ने उहाँको भनाइ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रसाईका अनुसार यहि आर्थिक वर्षमा जुम्लामा बिपद्जन्य घटनाका कारणले ११ जनाको अकालमा मृत्यु भएको र पातारासिका एक जना बालिका हराई रहेको जानकारी दिनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरुले बिपद्का सामग्री किन्नको लागि रकम बिनियोजन गर्न आग्रह गर्नु भएको छ ।
पहिले चन्दननाथ नगरपालिकाको वडा नम्वर १ मा आगलागि हुदा राति जानको लागि टर्चलाईटको ब्यवस्था समेत नभएको बताउनुभयो । बिपद्का लागि टर्च लाईट, एम्बुलेन्स लगायतका सामग्री उपलब्ध गराउन अहिलेका जनप्रतिनिधिलाई अनुरोध गर्नु भएको छ । सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गरेको, नदिमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र ग्यासमा लागेको आगो निभाएको बारेमा व्यवहारिक अभ्यास गरिएको थियो ।
अभ्यासमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय समुदायको सहभागिता थियो । बिना जानकारी आउने विपद्ले जनधनको क्षति गर्ने भएकाले यसबाट बच्न सचेत हुनुपर्ने अभ्यासमा सिकाईएको सुरक्षाकर्मीहरुले बताएका छन् ।