
नौरते नेपाली, जेठ २९ जुम्ला
जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेको १४ वर्ष भइ सकेको छ । तर, अर्गानिक जिल्लामा रासायनिक विषादीको प्रयोग हटेको छैन् । न रासायनिक विषादीको प्रयोग हटेको छ । नत अर्गानिक कृषिजन्य वस्तुको उत्पादन नै भएको छ । अर्गानिक जिल्लाको रुपमा जुम्ला घोषणा भएपनि धान खेतीमा लुकिछिपी झार नासक विषादी ब्युटाक्लोर प्रयोग गर्ने गरेको पाइन्छ ।
झार नासक ब्युटाक्लोरलाई निवारण गर्नका लागि कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा रहेको सुधारसिल कृषि समूहले अभियान सुरु गरेको छ । कारितास जर्मन र कारितास नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकिकृत खाद्य सुरक्षा बिपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलन कार्यक्रम अन्तर्गत उक्त समूहले अभियानको थालनी गरेको हो ।
कनकासुन्दरी गाउपालिका वडा नम्वर ७ रोकायावाडा स्थित डालथोप्रा ज्युलोमा वडाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत, कृषि शाखा प्रमुख र कृषकको उपस्थितिमा स्थानीय मार्सी धान संरक्षण तथा प्रवद्र्धन अभियान सुरु गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताउनु भयो ।
स्थानीय रैथाने मार्सी धान प्रवद्र्धन, ब्युटाक्लोर नामक विषादिको निवारण गर्नका लागि अभियान थालिएको उहाँको भनाइ छ । जबसम्म रासयनिक विषादिमुक्त जिल्ला बनाउन सकिदैन तबसम्म अर्गानिक जिल्लाको घोषणा गरेको सार्थक नहुने उहाँको बुझाइ छ । खेतमा धान रोपे लगतै किसानहरुले झार नउम्रियोस भनेर विषादि प्रयोग गर्दै आएका छन् ।
खेतमा आउने झारपातलाई बटुलेर जैविक मल उत्पादनमा ध्यान केन्द्रीत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । भट्टका अनुसार वर्षायामको समयमा पाइने हरियो झारपातलाई खाल्डोमा कुहाएर जैविक मल बनाएर अर्गानिक खेति गर्न सकिने प्रयाप्त सम्भावना रहेको बताउनु भयो । उहाँले भन्नुभयो, अर्गानिक जिल्ला घोषणा नाम मात्रको भएको छ ।
वास्तविक अर्गानिक उत्पादन के हो ? भन्ने बारेमा पहिचान गर्न सकिने अवस्था नरहेको उहाँको बुझाइ छ । रैथाने बालीको संरक्षण गर्नमा कसैको ध्यान केन्द्रीत हुन नसकेको उहाँले बताउनु भयो । अर्गानिक जिल्लाको पहिचान दिन सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै उहाँले सरोकारवालाहरु सबैको समन्वय र सहकार्य अति आवश्यक रहेको बताउनु भयो । भट्टका अनुसार नेपाल कृषि प्रधान देश भएकोले सबै मिलेर कृषि क्रान्तिमा लाग्नु पर्नेमा जोड दिनुभयो ।