हिमाको बालुवा खोलामा काठको पुल निर्माण हुँदा नागरिकहरु खुसी – Karnali News

हिमाको बालुवा खोलामा काठको पुल निर्माण हुँदा नागरिकहरु खुसी

 २८ जेष्ठ २०७९, शनिबार ०९:५८  

नौरते नेपाली, जेठ २८ जुम्ला
हिमा गाउँपालिका वडा नम्बर ६ मा पर्ने बालुवा खोलामा काठको पुल निर्माण हुँदा धेरै नागरिक खुसी भएका छन् । नाग्म देखि अलि माथि पर्ने बालुवा खोलामा बर्खा सिजनमा खोला बढ्दा आवत जावत गर्न निकै असहज हुने ठाउँमा हिमाको सरकारले काठको पुल निर्माण गरेको छ । उक्त खोलामा बर्खा सिजनमा धेरै मोटरसाईकलहरु बगेका छन् ।

खोलाको बिचबाट मोटरसाईकल र मानिसहरु आवत जावत गर्नु पर्ने भएकाले मोटरसाईकलहरु बर्खा सिजनमा बगेका हुन् । यसैलाई मध्येनगर गर्दै हिमा गाउँपालिका सरकारले खोलाको नजिकै काठको पुल निर्माण गरेको छ । यो पुल निर्माण हुँदा धेरै नागरिकहरुले खुसी व्यक्त गरेका छन् । सामाजिक संजालमा पुल निर्माण भएका फोटाहरु पोष्ट गर्दे बर्खा सिजनमा हुने जोखिमलाई मध्येनजर गर्दै काठको पुल निर्माण गर्ने हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीलाई धन्यवाद दिएका छन् ।

गएको वैशाख महिनाको ३० गते भएको स्थानीय तहको निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भइ सकेपछि उहाँले पहिलो देखिने काम पुल निर्माण गर्नु भएको छ । मुगुको राराताल जाने सडकको प्रवेशद्धारमै पर्ने नाग्म नजिकैको बालुवा खोलामा काठको पुल निर्माण गरि शाही लोकप्रिय बन्नु भएको छ । बर्खाको बेला मोटरसाईकल तार्न र नागरिकलाई खोला तर्न निकै गाह्रो हुने गरेको थियो ।

पुल निर्माणको विषयमा सामाजिक संजाल बेसबुकमा देवराज शाहीले हिमा गाउपालिकालाई धेरै धेरै धन्यवाद दिनु भएको छ । बर्खा सिजन आउदै गर्दा सबै यात्रुलाई चिन्ताले सताउने गरेको स्थानमा पुल निर्माण गरिएको विषयमा उहाँले स्थानीय सरकार हिमालाई आभार व्यक्त गर्नु भएको छ ।

स्थानीय तहको निर्वाचन भएको २१ दिन भित्र कसैको नजर नपुगेको ठाउँमा काठको पुल निर्माण हुँदा खुसी भएको उहाँले बताउनु भएको छ । अबका दिन्नमा रारा आउने पर्यटकलाई पनि सहज हुने र हिमाका जनताले पनि सुविधा पाउने उहाँले सामाजिक संजालमा लेख्नु भएको छ । यस्तै शारीरिक रुपमा असक्त सुर्य वहादुर अधिकारी हिमा गाउँपालिकाका कर्मचारि हुन् ।

बालुवा खोलामा काठको पुल निर्माण हुँदा अधिकारी सारै खुसी हुन भएको छ । अधिकारीले सामाजिक संजालमा लेख्दै हिमा गाउपालिकालाई अन्तर मनदेखि सेबासि दिनु भएको छ । उहाँले लेख्नु भएको छ, आज म धेरै खुसी छु । बर्खा आउदै गर्दा मलाई चिन्ताले सताउने गरेको थियो । मेरो घर परिवारले कहिले शान्ति पाएनन ।

यहि खोलामा आउदा जादा मैले मृत्यु रोजेर धेरै पटक पार गरेको छु । पार गर्न मलाइ रहर थिएन बाध्यता थियो । किन कि मैले गन्तव्यमा जसरी पुग्नु थियो । मृत्यु सँग लडेर खोला तरेको छु । आज म एउटा पात्र मात्र हुँ । यहाँ दुःख पाउने हजारौँको सङख्यामा छन् । धेरैले मोटरसाईकल पनि बगाए । धेरै आफु बगेर पनि बाचे करिब १० वर्ष अगाडि मेरै गाउँको भाई गुमायौँ ।

यति सम्म सास्ती दियो जहाँ अहिले व्याख्या गर्ने म सँग शब्द छैन । त्यसैले कसैको नजरमा काठको पुल भन्ने होला मेरो नजरमा सुनको पुल साबित भएको छ । किन कि सुन सानो, हुन्छ त्यसको महत्व धेरै हुन्छ । अबका दिनमा रारामा आउने पर्यटकलाई पनि सहज हुने भएको छ । यसबाट हिमाका जनता भन्दा पनि देश भरिका सबैले सुविधा पाउने छन् ।

अन्तमा पुल निर्माण गर्दा विशेष गरि मेरो इस्कुटरलाई सहज हुने साइज नापेर पुल निर्माण गर्ने सम्पूर्णलाई धन्यवाद भनेर अधिकारीले सामाजिक संजालमा लेख्नु भएको छ ।