परिक्षामा चिट चोराउन सेटिङ्ग हुने गरेको छ ः प्रजिय प्रसाई – Karnali News

परिक्षामा चिट चोराउन सेटिङ्ग हुने गरेको छ ः प्रजिय प्रसाई

 २३ जेष्ठ २०७९, सोमबार १७:५५  

जेठ २३ जुम्ला
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले एसईई, कक्षा ११ र १२ को परिक्षामा चिट चोराउन सेटिङ्ग हुने गरेको बताउनु भयो । जुम्लामा रहेका सबै स्थानीय तहका परिक्षा केन्द्रहरुमा चिट चोराउन सेटिङ्ग हुने गरेको उहाँले प्रमाण सहित खुलासा गर्नु भएको छ । वैशाख महिनामा भएको एसईई परिक्षा र अहिले चलि रहेको कक्षा ११ र १२ को परिक्षामा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको मिलोमतोमा सेटिङ्ग हुने गरेको उहाँले दावी गर्नुभयो ।

सोमबारका दिन विद्यालय सुधार योजना, गाउँ तथा नगर शिक्षा योजनाको कार्यशाला गोष्ठिमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । आठवटै स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरुको उपस्थितमा सुरु भएको ३ दिने कार्यशाला गोष्ठिका अवसरमा उहाले विद्यालयमा हुने राजनीतिकले शिक्षा क्षेत्रको अवस्था पार नलाग्ने बताउनु भयो । शिक्षक र विद्यालय व्यवस्थापन समिति पनि राजनीतिक हिसाबले मुछिएको बताउँदै उहाँले पवित्र स्थानमा फोहोरी खेल भएको बताउनु भयो ।

प्रजिअ प्रसाईले शिक्षा क्षेत्रमा भएको बेइमानीले एउटा पुस्तालाई पुरै असर गरेको बताउनु भयो । शिक्षा क्षेत्रको गुणस्तर नसुधारिए सम्म दक्ष विद्यार्थी उत्पादन हुने कल्पना पनि गर्न नसकिने उहाँको भनाइ छ । नीतिगत रुपमा शिक्षा क्षेत्रको सुधार नभएसम्म गुणस्तरीय शिक्षा प्राप्त गर्न गाह्रो हुने उहाँले बताउनु भयो । शिक्षकको व्यवहार परिवर्तन भएमा विद्यार्थीले असल शिक्षा प्राप्त गर्ने प्रसाईले बताउनु भयो । पालिकामा रहेको शिक्षा शाखालाई नियमित हिसाबले महिनाको १ पटक भएपनि विद्यालय अनुगमन गर्न अनुरोध गर्नु भएको छ ।

शिक्षा क्षेत्र सुधार लागि सबैले मन, वचन र कर्मले काम गर्नु पर्नेको उहाँको भनाइ छ । सामाजिक विकास कार्यालय जुम्लाका सामाजिक विकास अधिकृत तुलाराज चौलागाईले शिक्षाको वास्तविक आवश्यकतालाई योजनामा समावेश गर्न खोजिएको बताउनु भयो । टिकाउ र विकास शिक्षाको समस्या भएकाले अब विकाउ शिक्षामा जोड दिनु पर्ने उहाँको भनाइ छ ।

चौलागाईका अनुसार चिट चोराउनाले बालबालिको भविष्य अन्धकारमा परेको बताउनु भयो । चिट चोरेको विद्यार्थीले उच्चा शिक्षा सहजै रुपमा प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ । शिक्षा क्षेत्र सुधारका लागि गाउँ र नगर शिक्षा योजना निर्माण गर्न लागेको उहाँले बताउनु भयो । चौलागाईले भन्नुभयो, गुणस्तरीय शिक्षा सुधारका लागि हामीले आवसीय कार्यशाला गोष्ठिको आयोजना गरेका हौँ ।

यसमा सबैको अनुभवलाई समावेश गरि राम्रो किसिमको योजना तयार गर्दैछौँ । अबको गाउँ र नगर शिक्षा योजना कस्तो बनाउने भन्ने विषयमा घनिभुत रुपमा छलफल गरी मुर्त रुप दिईने उहाँको भनाइ छ । चौलागाईका अनुसार शिक्षा क्षेत्रका सुधार गर्न गाउँ र नगरमा रहेका शिक्षा शाखाहरुको महत्वपूर्ण भूमिका छ ।

तयार भएको शिक्षा योजनालाई कार्यान्वय गर्दै प्रयोगमा ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ । कार्यशाला गोष्ठिको सहिजीकरण मेघराज न्यौपाने र रेशमवहादुर शाहीले गर्नु हुनेछ । सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा विद्यालय सुधार, योजना गाउँ र नगर शिक्षा योजना निर्माण सम्बन्धि स्थानीय तहका सरोकारवालाहरुसँग ३ दिन कार्यशाला गोष्ठिको आयोजना गरिएको उक्त कार्यालयले जनाएको छ ।