जिससको नयाँ पदाधिकारीका लागि जेठ २९ गते हुने निर्वाचन – Karnali News

जिससको नयाँ पदाधिकारीका लागि जेठ २९ गते हुने निर्वाचन

 २१ जेष्ठ २०७९, शनिबार १८:२४  

जेठ २१ जुम्ला

जिल्ला समन्वय समिति जुम्लाका नयाँ पदाधिकारीका लागि जेठ २९ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार जुम्लामा जेठ २९ गते जिससको निर्वाचन गर्ने बताइएको हो । त्यस्तै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस जवाहरप्रसाद सिंहले २९ गते निर्वाचनका लागि २१ गते मतदाता नामावली प्रकाशन गरिएको बताउनु भयो ।

उहाँका अनुसार २४ गते उम्मेदवारी गर्दा गरिने, २७ गते निर्वाचन चिन्ह प्रदान गरिने बताउनुभयो । प्रमुख र उपप्रमुख गरि ९ पदका लागि निर्वाचन हुने उहाँले जानकारी दिनुभयो । यसैगरी जिल्ला समन्वय समिति जुम्लाको निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षले मतदान गर्न पाउने छन् । जुम्लामा ८ वटा स्थानीय तह रहेका छन ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले ५ अध्यक्ष सहित २ उपाध्यक्ष र चन्दननाथमा उपप्रमुखको बिजय हासिल गरेको छ । कांग्रेसले कनकासुन्दरी, हिमा, पातारासी, गुठिचौर र तातोपानीमा प्रमुख पदमा बिजय हात पारेको छ भने हिमा, कनकासुन्दरीमा उपाध्यक्ष तथा चन्दननाथमा उपप्रमुख जित हात पारेको छ । यस्तै माओवादीले सिँजा र तिलामा अध्यक्ष तथा सिँजा, तिला र तातोपानी र पातारासीमा उपाध्यक्ष हात पारेको छ ।

यस्तै नेकपा एकिकृत समाजवादीले गुठिचौर गाउँपालिकामा उपाध्यक्ष तथा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले चन्दननाथ नगरपालिकामा नगरप्रमुखमा बिजय हात पार्नु भएको छ । यसरी अहिले जम्मा १६ मतदाता मध्य ८ कांग्रेस, ६ माओवादी, १ समाजवादी र १ स्वतन्त्र उम्मेदवार रहेका छन । यो बर्ष नेपाली कांग्रेसले समन्वय प्रमुख लिने करिब पक्का देखिएको छ ।

किनकी कांग्रेसलाई बहुमत पुग्न १ मत आवश्यक छ, सो मत, माओवादी, स्वतन्त्र वा समाजवादी कुनै एकले सहयोग गरेमा पुग्ने छ । यस अघि २०७४ को निर्वाचनमा समन्वयको प्रमुखमा नेकपा माओबादी केन्द्रका लालबहादुर सार्की र उपप्रमुखमा नेपाली काँग्रेसका कार्मा बुढा बिजयी हुनुभएको थियो ।