गुठीचौरले गाडीलाई तत्कालका लागि बिरामी बोक्न प्रयोग गर्ने – Karnali News

गुठीचौरले गाडीलाई तत्कालका लागि बिरामी बोक्न प्रयोग गर्ने

 १७ जेष्ठ २०७९, मंगलवार १८:५५  

कालीवहादुर परियार, जेठ १७ जुम्ला
गुठीचौर गाउँपालिकाको स्कार्पियो गाडीलाई तत्काल एम्बुलेन्सको प्रबन्ध नहुन्जेल सम्म सरकारी काममा प्रयोग गर्नुका साथै बिरामी बोक्न प्रयोग गरीने भएको छ । गुठिचौर गाउँपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाका अनुसार गाउँपालिकामा अहिले एम्बुलेन्सको ब्यवस्था नभएकाले एम्बुलेन्सको प्रबन्ध नहुन्जेल सम्म गाउँपालिकाको स्कार्पियो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताउनु भयो ।

उहाँका अनुसार जुम्ला बजार देखि गुठिचौर गाउँपालिका टाढा भएकाले र सवारी साधनको आवत जावत नहुने भएकाले गम्भीर खालका बिरामीको सहजताका लागि गाउँपालिकाको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गरीने बताउनु भयो । गाउँपालिकाको स्कार्पियो गाडी गाउँपालिकामा हुने सरकारी काममा प्रयोग र बिरामीका लागि प्रयोग हुने अध्यक्ष बुढाको भनाइ छ ।

उहाँका अनुसार गाउँपालिकाको गाडी कुनै कर्मचारीले आफ्नो ब्यक्तिगत काम लागि प्रयोग नगरी कार्यालयको कामकाजका लागि प्रयोग गर्न निर्देशन दिईएको बताउनु भयो । गाउँपालिकामा बिरामी ओसारपसार गर्नको लागि एम्बुलेन्स अति आवश्यक रहेको बताउदै उहाँले तत्काल एम्बुलेन्स खरिद गरी नागरिकलाई सेवा दिने जानकारी गराउनु भयो ।

अध्यक्ष बुढाका अनुसार बिषेश गरेर गुठिचौर गाउँपालिकाका वडा नम्वर १ र २ सबैभन्दा टाढा भएकाले ति गाउँका बिरामीलाई बजार सम्म ल्याउनको लागि एम्बुलेन्सको प्रबन्ध नहुन्जेल सम्म गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाईने निर्णय भएको बताउनुभयो । यसैबिच गुठिचौर गाउँपालिकाका सम्पूर्ण सहायक रोडहरू बनाईने निर्णय भएको छ ।

जनताको आवत जावतलाई सरल र सहज बनाउनको लागि गाउँपालिका भित्रका सम्पूर्ण सहायक रोडहरु बनाईने अध्यक्ष बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै वडामा सहायक रोड निर्माण गर्नको लागि गाउँपालिकाको डोजर र ट्याक्टर गाउँस्तरमा परिचालन गरिने बताउनु भयो ।

गाउँपालिकामा पहिलो प्रथामिकता भनेको सबै वडामा रोड पुर्याउने र सहज र सरल यात्रा नागरिकले गर्न पाउनु पर्ने उहाँको भनाइ छ ।