
नौरते नेपाली, जेठ १७ जुम्ला
हिमा गाउँपालिकाका ७ वटै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ । हिमाका प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था रहने प्रतिवद्धता गरिएको अध्यक्ष लक्ष्मण शाहीले बताउनु भयो । उहाँका अनुसार नागरिकलाई आधारभुत स्वास्थ्य सेवा वडामै उपलब्ध गराउनको लागि प्रत्येक वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने प्रतिवद्धता गरिएको बताउनु भयो ।
मंगलबारका दिन अध्यक्ष लक्ष्मणवहादुर शाही, उपाध्यक्ष सुर्पना शाही, प्रमुख प्रशासकिय अधिकृत रणवहादुर बुढा, स्वास्थ्य शाखा प्रमुख रतनवहादुर रावत, विषयगत शाखा प्रमुख र स्वास्थ्य संस्थाका इन्चार्जहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । स्वास्थ्य सेवालाई सर्वसुलभ र नागरिक मैत्री बनाउन प्रत्येक वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरि सेवा दिने प्रतिवद्धता भएको अध्यक्ष शाहीले बताउनु भयो ।
उहाँका अनुसार त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने, अर्ध वार्षिक रुपमा आँखा शिविर संचालन गर्ने, घरमा हुने सुत्केरीलाई शुन्यमा झार्ने निर्णय भएको बताउनु भयो । अहिले पनि घरमै सुत्केरी गराउने प्रचलन भएकाले यसलाई कम गर्दै स्वास्थ्य संस्थामै सुत्केरी गराउनको लागि सबै प्रतिवद्ध भएको उहाँको भनाइ छ ।
यसैगरी जेष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गर्ने, हिमा सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, जेष्ठ नागरिक, अपाङ्ग, असहाय र गर्भवति तथा सुत्केरी महिला र गरिब तथा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन हामी प्रतिवद्ध रहेको निर्णय गरिएको उहाँले बताउनु भयो ।
अध्यक्ष शाहीका अनुसार प्रत्येक महिनाको पहिलो दिन स्वास्थ्य सरसफाई कार्यक्रम संचालन गर्ने र अन्तिम दिन आधारभुत तथा माध्यमिक विद्यालयहरुमा किशोर किशोरीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय भएको जानकारी गराउनु भयो । बाल विवाह, बहुविवाह, छुईप्रथा, यौन हिंसा, घरेलु हिंसा, बलात्कार जस्ता जघन्य अपराध तथा विकृतिहरुलाई न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने,
सबै स्वास्थ्य संस्थाहरुमा इन्टरनेट, विद्युतिय हाजिरी, सिसि क्यामरा, सोलार सिष्टम जडान गरि संचालन गर्ने, सुत्केरी महिलाहरुका लागि उपाध्यक्ष (पोषण कोसेली) कार्यक्रम संचालन गर्ने, हिमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरु नियमित रुपमा प्रभावकारी सेवा संचालन गर्न प्रतिवद्ध रहने,
हिमाका सबै वस्तिहरुमा घुम्ती स्वास्थ्य सेवा संचालन गर्ने र १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागि प्रक्रिया अगाडी बढाउने निर्णयहरु भएको अध्यक्ष शाहीको भनाइ छ । उहाँका अनुसार सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि उपाध्यक्षसँग पोषण कोसेली कार्यक्रम गर्ने निर्णय भएको बताउनु भयो ।