जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी – Karnali News

जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी

 १६ जेष्ठ २०७९, सोमबार १४:४४  

जेठ १६ जुम्ला
जुम्ला बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । सोमबार विहान एक प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पसमा ताला लगाइएको हो । क्याम्पस प्रमुख, लेखा र प्रशासनले नियम विपरीत गतिविधि गरेको भन्दै बाध्य भएर तालाबन्दी गर्नुपरेको त्रिवि प्राध्यापक संघ क्याम्पस इकाई सभापति डम्बर बहादुर महतले बताउनु भयो ।

उहाँका अनुसार हामीले बारम्बार क्याम्पस प्रमुखलाई आग्रह गर्दा पनि उहाँ सच्चिनुभएन, क्याम्पस लथालिङ्ग छ, पठन पाठनको पनि उचित वातावरण नहुदा ताला लगाउन बाध्य भएका हौं । विज्ञप्तिमा डा. ओम प्रकाश आचार्य क्याम्पस प्रमुखमा नियुक्त भएपछि शैक्षिक तथा प्रशासनिक क्षेत्र खस्कनु मात्रै होइन स्खलित हुँदै नियमित गतिविधिहरु समेत ढिला सुस्ती हुँदै गएको आरोप लगाइएको छ । यस्तै, क्याम्पसमा अनावश्यक मर्मत सम्भार, लाखौंका सरसामानहरु सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित खरिद गरेको जस्ता गम्भीर आरोप लगाइएको छ ।

उहाँले भन्नुभयो, क्याम्पसलाई सहि ढंगबाट संचालन गर्ने वातावरण नहुन्जेलसम्म ताला खुल्दैन । विज्ञप्तिमा भनिएको छ, शैक्षिक उन्नयनको धरोहरको रुपमा स्थापित जुम्ला बहुमुखी क्याम्पस विभिन्न आरोह अवरोह पार गर्दै यस स्थितिमा पुगेको छ । विगतका दिनहरुमा जुम्ला बहुमुखी क्याम्पसका धेरै क्याम्पस प्रमुखहरुले प्रशासनिक जिम्मेवारी बहन गर्दै आउँदा शैक्षिक गुणस्तरको जग बसालेको र भौतिक पूर्वाधारको पूर्ण विकास गरेको सर्वविदितै छ ।

तर मिति २०७७ साल श्रावण १६ गते देखि डा. ओम प्रकाश आचार्य क्याम्पस प्रमुखमा नियुक्त भएपछि जुम्लाकै शैक्षिक गतिविधि र क्याम्पसको चौतर्फी विकास निर्माण हुने कुरामा हामी सम्पूर्ण प्राधापक तथा कर्मचारीहरु विश्वस्त थियौं ।  आन्दोलनरथ प्राध्यापक र कर्मचारीले मनपरी ढंगले प्रशासन संचालन गर्ने शिक्षक तथा कर्मचारीहरुको मनोवल गिराउने, क्याम्पसको शैक्षिक तथा प्रशासनिक कार्य लथालिङ्ग बनाउने कामको विरोध गरिएको बताएका छन् ।

पछिल्लो समय क्याम्पस प्रमुख प्रशासन प्रमुख र लेखा प्रमुखको मिलोमतोमा मनोमानी रुपमा हुने क्याम्पसको मर्मत सम्भार तथा सामान खरिद जस्ता विविध अनियमित गतिविधिहरु हरेक दिन उदाउने र अस्ताउने घामजस्तै बनेका छन, विज्ञप्तिमा भनिएको छ, प्रशासनबाट यस्ता क्रियाकलापहरु बारम्बार हुने गरेपछि क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीले यस्तो क्रियाकलाप नगर्न बारम्बार सुझाव दिदै आएका कयौं दृष्टान्तहरु छन् ।

तर सचेत वर्गको सुझावलाई रद्दीको टोकरीमा फाल्ने काम क्याम्पस प्रमुखबाट भएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आन्दोलनकारीले केही दिन अगाडि खरिद गरिएका सोफासेट, दराज, कुर्ची, टेबल, वाटर हिटर, मेसीनरी लगायत लाखौंका सरसामानहरु सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित भएको समग्र क्याम्पसलाई विधि र पद्धतिमा संचालन गर्ने विषयमा क्याम्पस प्रमुख आफैले बारम्बार बोल्दै आउनु भएको छ भने क्याम्पसमै बारम्बार निर्णय समेत भएपनि आफैले गरेका निर्णयहरु विपरित क्याम्पस प्रमुखले मनोमानी ढंगले कार्य गर्दै आउनु भएकपछि विरोध गर्नुपरेका बताएका छन् ।

क्याम्पस प्रमुख अधिकांश समय बाहिर बस्दा क्याम्पसका तमाम कामहरु प्रभावित भएको सभापति महतले बताउनु भयो । देशको शासन व्यवस्था र संघीयताको मर्म विपरीत जुम्ला बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सारेर सुर्खेत पुगाई विकेन्द्रीकरणको सिद्धान्तको खिल्ली उड्दा समेत उहाँले कुनै पनि खालको पहल चल्नुभएन, उहाँले भन्नुभयो, उहाँ बेलाबेला क्याम्पसको स्तरउन्नतीको बाहानामा टिएडिए समेत लिइ काठमाडौं जाने गर्नुहुन्छ । तर उपलब्धि शुन्य हुने गरेका तमाम उदाहरण छन् ।

क्याम्पस प्रमुखबाट कुर्सीको दुरुपयोग गरि विगतका गठन भएको क्याम्पस संचालक समिति मानोमानी ढंगबाट विघटन गरि तीन जनाले नियम विपरीत आर्थिक अनियमितता गर्ने मनसाय नसुध्रिएसम्म, हरेक कार्य क्याम्पस संचालन समितिको निर्णय बमोजिम मात्र गर्ने प्रतिबद्धता नभए सम्मको लागि क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनहरुमा आजैका मिति देखि तालाबन्दी गरिएको कुरा जानकारी गराउदछौं । तालाबन्दी गर्नुअघि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यता क्याम्पस प्रमुख डा. ओम प्रकाश आचार्यले प्राध्यापक र कर्मचारीले समसामयिक मागहरु राखि तालाबन्दी गरेको भएपनि आपसी छलफल र सहमतिबाट अगाडि बड्ने बताउनु भयो ।