
कालीवहादुर परियार, जेठ १५ जुम्ला
विश्वको अग्लो स्थान हिमाली जिल्ला जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा सुधारीएको कालीमार्सी धान रोपीएको छ । २८ सय मिटर अग्लो स्थानमा रहेको तथा गिनिजबुकमा रेकडेट छुमचौर ज्युलोमा ८ प्रकारका कालीमार्सी धानको बिउ आईतबारका दिनमा एक कार्यक्रम गरी रोपीएको हो । कालीमार्सी धान संरक्षण तथा प्रबद्र्धनकर्ता स्थानीय कलिमान महताराका अनुसार २०१९ सालमा जग्गा दर्ता गरी २०२१ सालदेखि रोपाई सुरु गरिएको बताउनु भयो ।
उहाँका अनुसार करिब एक दशक जति धान रोपाई भएन अहिले एक दुई साल भयो रोपाई सुरु भएको छ । पहिलो बल बहादुर महताराका पालामा चन्दननाथ मन्दिरको शेरा ज्युलोबाट धानको बेर्ना अर्थात बिउ ल्याएर यस छुमचौर ज्युलोमा रोपाई सुरु भएको हो । तर पछि धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिंचाई सुविधा नभएको र धान रोपाई हुने सिजन र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाई गर्न छोडिएको स्थानीय महताराको भनाइ छ ।
उहाँका अनुसार विश्वको अग्लो ठाउँमा धान फल्ने ठाउँको महत्वका विषयमा पनि स्थानीयमा बुझाईको कमी रहेकोले पनि यो खेती हराउदै गएको थियो । तर, कालीमार्सी धानको महत्वको विषयमा बुझ्दै गएपछि अहिले दुई सय रोपनी जति धान रोपेका उहाँले बताउनु भयो । कृषि अनुसन्धान केन्द्रको आयोजना र कृषि बिकास कार्यालय जुम्लाको समन्वयमा पातारासीको छुमचौरको ज्युलोमा ८ किसीमको धानको बिउ खेतमा रोपाई गरिएको कृषि अनुसन्धान केन्द्रका बरिष्ठ बैज्ञानिक रेशम बाबु अमगाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्वको अग्लो स्थान छुमचौर ज्युलोमा धान फल्ने कुराले संसारको ध्यान केन्द्रीत गरेको बताउनु भयो । यो ठाउँको नाम गुनिजबुकमा पनि रेकड रहेको उहाँले बताउनु भयो । गत बर्षमा कारोनाका कारणले धान रोपाई हुन नसकेको बताउँदै उहाँले यस पटक धुमधामका साथ धान रोपिएको बताउनु भयो ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशवहादुर अधिकारीले विश्वको अग्लो स्थानमा धान रोपाई हुनु जुम्लाको लागि गौरव भएको बताउनु भयो । उहाँका अनुसार छुमचौर ज्युलोमा फल्ने कालिमार्सि चामललाई विश्वका ठुला शहरमा पठाउने वातावारण बनाउनु पर्ने बताउनु भयो ।