
नौरते नेपाली, जेठ १५ जुम्ला
जुम्लाको हिमा गाउँपालिकाको नव निर्वाचित सरकारले विद्यालयका प्रधानाध्यापकहरुसँग पहिलो बैठक बसेको छ । शिक्षा क्षेत्र सुधारका लागि प्रधानाध्यापकहरुसँग नव निर्वाचित सरकार पहिलो बैठक बसेको हो । शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई घनिभूत रुपमा छलफल गर्दै सुधार गर्नको लागि नव निर्वाचित जनप्रतिनिधि, प्रधानाध्यापक र शिक्षा सेविहरुको उपस्थितमा बैठक बसिएको अध्यक्ष लक्ष्मण शाहीले बताउनु भयो । उहाँका अनुसार पहिलो बैठकबाट १३ वटा महत्वपूर्ण निर्णयहरु भएको बताउनु भयो ।
विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षण सिकाई उपलब्धि वृद्धि गर्ने, विद्यालयमा देखा पर्ने अस्वभाविक राजनीतिक हस्तक्षेप र शिक्षकहरुको राजनैतिक संलग्नता पूर्ण रुपमा अन्त्य गर्ने, विद्यालय शिक्षाको समग्र पक्षको विकासमा सम्पूर्ण रुपमा समर्पित हुन र विद्यालयमा रहेको पेस्की फस्र्याैट गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।
शिक्षकहरु राजनीतिमा सहभागि हुने भएकाले पूर्ण रुपमा अन्त्य हुनु पर्ने निर्णय भएको अध्यक्ष शाहीले बताउनु भयो । यस्तै लेखा परिक्षण प्रतिवेदन निर्धारीत समयमा पेश गर्ने, नेपाल सरकारद्धारा तयार गरिएको शिक्षकका आचारसंहिता कार्यान्वयन गर्ने, सारमा हिमा गाउँपालिकाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने, शिक्षामा आमूल परिवर्तन गर्न हिमा गाउँपालिकाले ल्याएका कार्यक्रम कार्यान्वयनमा प्रतिवद्ध रहने, विद्यालयमा विद्युतिय हाजिरीलाई पूर्ण रुपमा लागु गर्ने, ईसिडि देखि कक्षा ३ सम्म अँग्रेजी माध्यममा पढाई संचालन गर्ने, हरेक विद्यालयमा खेलकुद गतिविधि र कम्प्युटर शिक्षा लागु गर्ने,
सरकारद्धारा परिक्षणको रुपमा लागु गरिएको आईतबार बिदा लागु नगर्न प्रतिबद्ध रहेको र सिसि क्यामारा, वाईफाई जडान गरि विद्यालय हाता भरि सरसफाई कायम राख्न हामी प्रतिबद्ध रहने भनि सबै विद्यालयका प्रधानाध्यापकहरुले निर्णयमा हस्ताक्षर गरेका छन् । हिमा गाउँपालिकामा रहेको २० वटा विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त बैठकबाट माथिका निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत रणवहादुर बुढाले बताउनु भयो ।
उहाँका अनुसार स्थानीय सरकारले प्रधानाध्यापकहरुसँग गरेको सबै निर्णयहरु हुबहु कार्यान्वयनका लागि परिपत्र गरिने जानकारी गराउनु भयो । शिक्षा क्षेत्र सुधारका लागि भएका निर्णयले सकरात्मक सन्देश दिएको उहाँको बुझाइ छ । विद्यालयमा उपस्थित नभएर राजनीतिक गतिविधिमा सहभागिह हुने शिक्षकहरुको हकमा गाउँपालिकाले कडा कदम चाल्ने बुढाको भनाइ छ । शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि भएका निर्णयहरु कार्यान्वयन भएमा बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने उहाँले बताउनु भयो ।