महासंघका विरुद्धमा जुम्लाका क्रियासिल पत्रकारहरु एकजुट – Karnali News

महासंघका विरुद्धमा जुम्लाका क्रियासिल पत्रकारहरु एकजुट

 ११ जेष्ठ २०७९, बुधबार ०७:५५  

जेठ ११ जुम्ला
जुम्लाका क्रियासिल पत्रकाहरु महासंघलाई प्रेस सेन्टरको पेवा बनाउने गतिविधिको विरुद्धमा एकजुट भएका छन् । पत्रकार महासंघलाई प्रेस सेन्टरको पेवा बनाउने गतिविधि विरुद्धमा क्रियासिल पत्रकाहरु एकजुट भएका हुन् । पत्रकार महासंघको अगुवाईमा हुने कुनै पनि कार्यक्रममा जिल्लामा रहेका क्रियासिल पत्रकारहरु सहभागि नहुने घोषणा गर्दै संयुक्त प्रेस विज्ञप्ती जारी भएको छ ।

जुम्लामा रहेका विभिन्न संचार माध्यममा आवद्ध पत्रकाहरु पत्रकार महासंघका विरुद्धमा खनिएका छन् । नेत्र शाहीको वर्तमान नेतृत्व नसच्चिने हो भने आगामी दिनमा थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिने पत्रकारहरुले चेतवानी समेत दिएका छन् ।

विज्ञप्तीमा लेखिएको बाँकि विषय जस्ताको तस्तै
चन्दननाथ नगरपालिका जुम्लाका उपमेयर रामदेवी खड्काले मिति २०७९ जेठ ०७ गते शनिबारका दिन दिउसो १ बजे आयोजना गरेको पत्रकार सम्मेलन अन्तिम समयमा सोमबारका लागि सारिएको कुरामा हामी सबै जानकार नै छौं । कार्यक्रम स्थलमा उपस्थित भइसकेका पत्रकारलाई खाजा र चिया खान आग्रह गरि उहाँ निस्कनु भएको हो । खाजा खाने क्रममा पत्रकारका पेशा, व्यवसाय र मर्यादाको विषयलाई लिएर भएको छलफल, बहस र व्यक्ति व्यक्ति बीचको चर्काचर्की उपमेयरसँग असम्बन्धित छ । यसैलाई निउ बनाई पत्रकार महासंघ जस्तो गरिमामय संगठनबाट उपमेयरको कार्यक्रम बहिस्कार गर्नु पेशागत अमर्यादाको पराकाष्ठ हो ।

शनिबार दिउसो झण्डै एक घण्टा बढी समय पत्रकार महासंघका अध्यक्ष नेत्र शाही, महिला उपाध्यक्ष दिलमाया शाही, सहसचिव सागर परियार, पूर्व केन्द्रीय सदस्य पुर्ण चौलागाई, कर्णाली प्रदेश सदस्य ईश्वरीप्रसाद देवकोटा पत्रकारहरु कृष्णमाया उपाध्याय, दिपक बुढथापा, महेश नेपाली लगायत साथीहरुबीच पत्रकारले पत्रकारितासँगै अरु काम गर्न हुने वा नहुने भन्ने विषयमा छलफल भएको हो । यही विषयमा भएको चर्काचर्कीमा कहीँकतै पनि उपमेयरका विषयमा एक शब्द कसैले बोलेको थिएन । तर अनावश्यक रुपमा उपमेयरको कुरा जोडी उहाँको कार्यक्रम बहिस्कार गर्नु समग्र पत्रकारको पेशागत मर्यादा माथि गरिएको घिनलाग्दो प्रहार हो ।

पत्रकारका बीच मनमुटाव र तिक्तताहरु मेटाउँदै पेशागत मर्यादाको उचाइ बढाउने काम महासंघ आफैले गर्नुपर्नेमा कुनै प्रेस सेन्टरको झोले भइ साझा व्यक्तित्वको छविलाई धमिल्याउन खोज्नु खेदजन्य छ । नेत्र शाही नेतृत्वको पत्रकार महासंघबाट व्यक्ति केन्द्रित घृणित गतिविधि भएको यो पहिलो घटना होइन । यो भन्दा अगाडि पत्रकारहरुबीच मनमुटाव गराउने, सामाजिक संजालमा असभ्य प्रस्तुति देखाउने, राजनीतिक आस्थाको आधारमा पक्षपातपूर्ण व्यवहार गर्ने, मनपरि गर्ने जस्ता गतिविधि सामान्य बनाउँदै लगिएको विषय जगजाहेरै छ । महासंघकि महिला उपाध्यक्ष जस्तो पदमा आशिन व्यक्तित्वले पत्रकारहरु अम्मरनाथ योगी र सपना रावतलाई जहाँ भेट्यो त्यहीँ हान्छु, मार्छु भन्नू अपराधिक मानसिकता सिवाय केही होइन् ।

छलफल र बहसका माध्यमबाट समाधान गर्नुपर्ने विषयलाई भौतिक आक्रमण जस्तो अस्त्र प्रयोग गरिनुले के को संकेत गरिरहेको छ ? महासंघले पत्रकारहरुको हकहितमा वकालत गर्दै पत्रकारको संरक्षण गर्नुको साटो पत्रकारलाई धम्काउने, थर्काउने लगायतका क्रियाकलापको घोरर्भत्सना गर्दछौँ । यी विविध घटनाक्रमले जिल्लामा क्रियासिल पत्रकारलाई बोल्न बाध्य बनाएको छ । महासंघलाई एक निश्चित संगठनको पेवा बनाउने, साझा सम्पत्तिको दुरुपयोग गर्ने, आर्थिक अनियमितता गर्ने लगायतका कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैनन् । वैचारिक रुपमा स्खलित नेतृत्वले गौरवशाली संगठन हाक्न सक्दैन । यो आफैले आफैलाई सकाउने मेसो हो । समुद्रमा ढुब्न लागेको जहाजलाई मुसाले पनि साथ छोड्छ भनेझैं सकिन लागेको नेतृत्वले एक दिन जुम्राको पनि साथ पाउन मुस्किल पर्ने निश्चित छ ।

बारम्बार हुने यी र यस्ता गतिविधिको विरुद्धमा जिल्लामा क्रियाशील पत्रकारहरु एक भएर बोल्नुको विकल्प छैन । यो न्याय र समानताको लडाइँ हो । तसर्थ यो लडाइँ लडिरहने संकल्प गर्दै जिल्लाका क्रियासिल पत्रकाहरु महासंघलाई प्रेस सेन्टरको पेवा बनाउने गतिविधिको विरुद्धमा एकजुट भएका छौँ । तसर्थ आगामी दिनमा पत्रकार महासंघको अगुवाईमा हुने कुनै पनि कार्यक्रममा जिल्लामा रहेका क्रियासिल पत्रकारहरु सहभागि नहुने घोषणा गर्दछौँ । यदि वर्तमान नेतृत्व नसच्चिने हो भने आगामी दिनमा थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिनेछ ।