नव निर्वाचित नगर प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिए – Karnali News

नव निर्वाचित नगर प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिए

 ६ जेष्ठ २०७९, शुक्रबार १३:२३  

नौरते नेपाली, जेठ ६ जुम्ला
जुम्लाका आठ वटा स्थानीय तहका नव निर्वाचित नगर प्रमुख तथा अध्यक्षहरुले मुख्य निर्वाचन अधिकृत जवाफ प्रसाद सिंहबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रममा चन्दननाथ नगरपालिका नगर प्रमुख राजुसिंह कठायत, गुठीचौर गाउँपालिका अध्यक्ष दानवहादुर बुढा, पातारासि गाउँपालिका अध्इक्ष पूर्णसिंह बोहोरा, तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई, तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही, सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र कनकासुन्दरी गाउँपालिका अध्यक्ष दमोदर आचार्यले मुख्य निर्वाचन अधिकृत सिंहबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नगर प्रमुख तथा पालिका अध्यक्षले शपथ लिएपछि पालिकाका उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई नगर प्रमुख तथा पालिक अध्यक्षले शपथ गराउने व्यवस्था छ । शुक्रबारदेखि नव निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेका छन् । शपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सिंहले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नव निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । नव निर्वाचित आठ वटै स्थानीय तहका प्रमुखहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

नवनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको हो । नव निर्वाचित पदाधिकारीलाई अबिर र माला लगाई मुख्य निर्वाचन अधिकृत सिंहले सम्मान गर्नु भएको थियो । सिंहले नवनिर्वाचित पदाधिकारीलाई आ–आफ्नो पालिकाको समग्र विकास, पारदर्शिता सुशासन कायम भूमिका खेल्ने भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

६० वटा वडा रहेको जुम्लामा ३०० जना पदाधिकारी निर्वाचित भएका छन । प्रत्येक वडामा ५ जना जनप्रतिनिधि र पालिका प्रमुख तथा उपप्रमुख सहित ३१८ जना जनप्रतिनिधि निर्वाचित भएका हुन् ।

नगरपालिकामा ४७, पातारासिमा ३७, गुठीचौरमा २७, तातोपानीमा ४२, तिलामा ४७, हिमामा ३७, सिंजामा ३२ र कनकासुन्दरी गाउँपालिकामा ४२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । चन्दननाथ नथरपालिका जुम्लाका नव निर्वाचित मेयर राजुसिंह कठायतले नगरपालिका भित्रको सुशासन र विकासका लागि कटिवद्ध भएर लाग्ने बताउनु भयो । उहाँले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिने बताउनु भएको छ । नगरबासिले माया गरि दिएको मतलाई सम्मान गर्ने उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले नव निर्वाचित अध्यक्षहरुलाई पाँच वर्षको समयलाई उपलब्धीमुलक बनाउन आग्रह गर्नु भएको छ । प्रत्येक पालिकामा पर्ने विद्यालय र प्रहरी चौकिको निरिक्षण गरि दिन उहाँले अनुरोध गर्नु भएको छ । प्रसाईका अनुसार प्रविधि मैत्री सेवा प्रवाहमा ध्यान दिन सुझाव दिनु भएको छ ।

स्थानीय सरकार संचालन ऐनले उपाध्यक्षलाई दिएको अधिकारलाई भरपुर रुपमा प्रयोग गर्न दिने वातावारण मिलाई दिन उहाँले अध्यक्षहरुलाई ध्यानकर्षण गराउनु भएको छ । निर्वाचन जिति सकेपछि स्थानीय सरकारका प्रमुखहरु साझा भएकाले सेवा दिने विषयमा पक्ष र विपक्ष नगर्न प्रसाईले अनुरोध गर्नु भएको छ ।

जुम्लामा ७६ दशमलव ७३ प्रतशित मत खसेको थियो । नव निर्वाचित जनप्रतिनिधहरुले कार्यभार सम्हालेको १५ दिनभित्र कार्यपालिकाका अन्य सदस्यको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यपालिकाको गठन सँगै नयाँ जनप्रतिनिधिले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्नुपर्ने हुन्छ ।