
वैशाख २८ जुम्ला
नेपाली काङ्ग्रेसले चन्दननाथ नगरपालिका २ नम्बर वडामा रुपियाँ बाड्न लागेको भन्दै बनाइएको भिडियोमा कुनै सत्यता नभएको नेपाली काङ्ग्रेस जुम्लाले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले यसलाई चुनावी प्रप्रोगाण्ड मात्रै बनाएको आरोप लगाएको छ । विज्ञप्तिमा लेखिएको छ, ’मिति २०७९ वैशाख २७ गते साझ ७ः३० बजे नेपाली काङ्ग्रेसका नेता देबेन्द्र बहादुर शाही, दिल बहादुर महत,
उपमेयर पदकी उम्मेदवार रामदेवी खड्काका श्रीमान चन्द्र बहादुर खड्का लगायतको टिम खड्का ज्वाइँ तथा नेपाली काङ्ग्रेसका क्रियासिल सदस्य र क्षेत्रीय प्रतिनिधि मक्कर बहादुर बुढ्थापाको घरमा भेटघाटका निम्ति गएको बेला मतदाता नामावली समेत नभएका मदिरा सेवन गरेका केही अराजक केटाहरूको समूहले पैसा बाड्न आएको भनी समाजिक सञ्जालमा फैलाएको भ्रामक समाचार प्रति नेपाली काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्तै, आफ्नै पार्टीका जिम्मेवार कार्यकर्ता र आफन्त भेट्न गएको विषयलाई अनावश्यक अतिरञ्जित गरि कुनै आधार र प्रमाण विनाको भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पैसा बाड्न आएको आरोप लगाउनेले आवश्यक प्रमाण जुटाउन जरुरी हुन्छ कि नाई ? के हामीलाई पैसा बाड्दै गरेको भेटाइएको हो ? वा पैसा बरामद गरिएको छ ? जस्ता प्रश्न गरिएको छ । साथै आफ्ना सम्मानित नेतालाई दलाल, गुण्डा जस्ता अपशब्दमा गाली गरि अपमान गरेको आरोप लगाएको छ ।
जुन फौजदारी अपराध भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यता प्रतक्ष्यदर्शी नवीन बुढ्थापाका अनुसार आफुहरुले राती करिब पौने एघार बजेतिर उक्त टोलिलाई नियन्त्रणमा लिइएको हो । उनले भने, ’हामीले कुनै मदिरा सेवन गरेका थिएनौं । यदि मदिरा सेवन गरेको भए त हामीले उनिहरुको गाडी तोडफोड गरि उनिहरुका हाट कुट्टा भाच्थ्यौ होला ।
तर त्यसो नभई हामीले नियन्त्रणमा मात्र लिएर सकुशल जान दियौं । नेकपा माओवादी केन्द्र बाट मेयरका उम्मेदवार जीवन बुढ्थापाका अनुसार अहिले समाजले नै उनीहरुको नियत बुझेको बताउनुभयो । मौन अवधिमा यसरी रातरात गाडी लिएर आउनु गम्भीर विषय भएको बताउनु भयो ।