
एनिसा हमाल, वैशाख २५ जुम्ला
आईतबारका दिन जुम्ला बजारको कालेखालीमा रहेका चाउमिन र पाउरोटी उद्योगहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको संयोजकत्वमा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र उद्योग वाणिज्य संघको संयुक्त टोलीले अनुगमन गरेको हो ।
कालेखोलीमा रहेका नविना चाउमिन उद्योग, सन्देश एण्ड जेनिस पाउरोटि चाउमिन उद्योग र कैलाश एण्ड विमल चाउमिन उद्योगहरुमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिनुभयो । अनुगमनका क्रममा सन्देश एण्ड जेनिस पाउरोटि तथा चाउमिन उद्योग र कैलाश एण्ड विमल चाउमिन उद्योगमा खाद्य ऐन नियम विपरित विना लेबल विक्रि वितरण गर्ने गरेका पाउरोटि र चाउमिन पाइएकाले उक्त सामान बरामद गरी नष्ट गरिएको उहाँले बताउनु भयो ।
यस अघि वैशाख महिनाको ८ गते पनि उक्त पसलहरुमा अनुगमन गरि उत्पादन र उपभोग्य मिति राख्न सुझाब दिएको र सोहि सुझावलाई अटेर गरेकाले यो अनुगमन बाट सामान बरामद गर्नु परेको सहायक प्रजिअ रिजालले बताउनु भयो । यस पटकको अनुगमनमा सामान मात्र बरामद गरेको र एक हप्ता भित्र पाउरोटि, चाउमिनमा लेबल राख्न र खाद्य अनुज्ञापन जारी गर्न निर्देशन दिएको उहाँले जानकारी गराउनु भयो ।
यदि एक हप्ता भित्र दिएको निर्देशनलाई पालन नगरि नियम विपरित विक्रि वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाहि गरिने चेतावनी समेत दिइएको उहाँको भनाइ छ ।
उत्पादन र उपभोग्य मिति नराखेका सन्देश एण्ड जेनिस पाउरोटि चाउमिन उद्योगबाट ७४ प्याकेट पाउरोटि र कैलाश एण्ड विमल चाउमिन उद्योगबाट ८४ के.जि चाउमिन बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख डाक्टर इश्वर सुवेदिले जानकारी गराउनु भयो । ११ हजार २ सय रुपँैया बराबरको सामान बरामद गरि नष्ट गरिएको उहाँले बताउनु भयो ।