
वैशाख २२ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर १ का सचेत युवाहरुले वडाध्यक्ष पदका उम्मेदवारहरुसँग संयुक्त रुपमा साक्षात्कार गरेका छन् । वडाध्यक्ष पदका उम्मेदवारहरुसँग चुनावी एजेण्डा र प्रतिवद्धताका विषयमा संयुक्त साक्षात्कार गरेका हुन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारको एजेण्डा र मुद्दाका आधारमा मतदान गर्नको लागि उम्मेदवारहरुसँग युवाहरुले साक्षात्कार गरेको युवा प्रकाश न्यौपानेले बताउनु भयो ।
नेकपा एमालेका अमृत कृष्ण आचार्य, नेकपा एकिकृत समाजवादि पार्टी दयादत्त हमाल, नेकपा माओवादि केन्द्रका राज बहादुर भक्री, नेपाली काँग्रेसका तिलक प्रसाद न्यौपाने र स्वतन्त्र उम्मेदवार कालो सार्कीसँग छलफल भएको उहाँले बताउनु भयो । वडाध्यक्ष पदका उम्मेदवारहरुका चुनावि प्रतिवद्धता र एजेण्डाका विषयमा छलफल भएको न्यौपानेले बताउनु भयो ।
चन्दननाथ नगरपालिका वडा नम्बर १ का युवाहरुले गरेको यो अभ्यास नयाँ र नौलो हो । चुनावी मुद्दाका विषयमा छलफल गरेको हुनाले उम्मेदवारलाई रचनात्मक सहयोग पुगेको उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका वडा नम्बर १ को विकास र केहि गर्न सक्ने उम्मेदवारको खोजीमा युवाहरु लागि परेका छन् ।
हाम्रो नभइ राम्रो उम्मेदवार छनोटको खोजिमा रहेको युवा रबिन्द्र महताराले बताउनु भयो । उहाँका अनुसार करिब ५० जना युवाहरुको सहभागितामा वडाध्यक्ष पदका उम्मेदवारसँग चुनावी मुद्दाका विषयमा छलफल भएको जानकारी गराउनु भयो । जनपक्षिय र राम्रो चुनावी घोषणा पत्र भएका उम्मेदवारलाई युवाहरुले मतदान गर्ने उहाँको भनाइ छ ।
उम्मेदवारहरुले प्रस्तुत गरेको घोषण पत्रमा युवाहरुले सुझाव समेत दिएका छन् । महताराका अनुसार उम्मेदवारहरुको घोषणा पत्रका आधारमा सहयोग हुने बताउनु भयो । वडा नम्बर १ लाई विकास गर्न सक्ने सक्षम नेतृत्वको खोजिमा युवाहरु रहेको उहाँको भनाइ छ ।