रोजगारी मेरो पहिलो प्राथमिकता हो ः अध्यक्ष पदका उम्मेदवार खत्री – Karnali News

रोजगारी मेरो पहिलो प्राथमिकता हो ः अध्यक्ष पदका उम्मेदवार खत्री

 २१ बैशाख २०७९, बुधबार १८:२१  

एनिसा हमाल, वैशाख २१ जुम्ला
नेकपा एकिकृत समाजवादि तातोपानी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हिमालय खत्रीले आफ्नो पहिलो प्रथामिकता रोजगारी भएको बताउनु भयो । उहाँले भन्नुभयो जब मानिस रोजागार हुन्छ सुखि र सम्बृद्ध गाउँपालिका आफै बन्छ । त्यसैले मेरो पहिलो प्रथामिकता सबैलाई स्वरोजगार बनाउने हो ।

बाँझो रहेको खेतियोग्य जमिनलाइ सिंचित गरी उत्पादनमा जोड्ने दिने र कृषिमा आधुनिकिकरण गरि उत्पादन बढाइ सबैलाई कृषिमा आत्मनिर्भर बनाउने पनि उहाँको प्रतिबद्धता रहेको छ । आर्थिक सम्बृद्धिमा जोड्नका लागि पालिका भित्रको जल, जमिन, जंगल र जडिबुटिको संरक्षण गर्ने पनि उहाँले बताउनु भयो ।

तातोपानी गाउँपालिकामा पाटन प्रशस्त भएकाले गोठालो भत्ताको व्यवस्था गरी भेडा, बाख्रा पालक कृषकलाई प्रोत्सानको व्यवस्था गर्ने, आर्थिक अवस्थाका कारण डाक्टर पढ्न नपाएका गरिब, जेहन्दार विद्यार्थीलाइ छात्रवृत्तिको व्यवस्था गर्ने, तातोपानी धारामा केवुलकारको व्यवस्था गर्ने, जाँडरक्सी र जुवातास रहित गाउँपालिका बनाउने पनि उहाँको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

६० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई निशुल्क उपचारको व्यवस्था गर्ने, जटिल खालका शल्यक्रियाहरु निशुल्क गर्ने, पालिका बासिलाइ ५० युनिट सम्म विद्युत निःशुल्क रुपमा दिने, एक घर एक धारोको व्यवस्था गरी ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने आफ्नो प्रमुख एजेण्डा रहेको पनि उहाँले सुनाउनु भयो ।

सुशासन कायम गरी स्थानीय तहहरुमा हुने अनियमितता र भ्रष्टचार रोक्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको उहाँले सुनाउनु भयो । अध्यक्ष पदका उम्मेदवार खत्रीले भन्नुभयो आम्दानीको मुल जरा भ्रष्टचार रोकिएमा त्यो पैसा जनतामा आउँछ र उद्योगा कलकारखाना खुल्छ अनि रोजगारी सिर्जना हुन्छ । तातोपानी गाउँपालिकाको विकास हेर्नको लागि एक पटक आफुलाई मतदान गर्न उहाँले सम्पूर्ण पालिका बासिलाइ आग्रह गर्नुभएको छ ।

यस्तै उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका नारायणी चौलागाइले आफु निर्वाचित भएमा छुवाछुत रहित गाउँपालिका बनाउने बताउनु भयो । कुरीति र कुसंस्कार न्युनिकरण गर्नु आफ्नो पहिलो प्रथामिकता हुने उहाँले बताउनु भयो । गाउँघरमा हुने छुइ प्रथा, जातीय विभेद, बालविवाह जस्ता कुसंस्कारलाई जरै देखि निर्मुल पार्न आफु लागि पर्ने उहाँले प्रतिबद्धता गर्नु भएको छ ।

आफुले विगत १५ वर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आएकोले गाउँ समाजका समस्या केहि हल गर्न सक्छुकि भनेर उम्मेदवारी दिएको पनि उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो मेरो साझा उम्मेदवारी हो । सत्ता बाहिर हुँदा आफुले चाहेको जस्तो समाज सेवा गर्न नसकिने भएकाले पनि दलको टिकट लिएको उहाँले सुनाउनु भयो ।

आफुले पहिले देखि नै सबैलाइ समेटेर साझा तरिकाले काम गर्ने गरेकोले आफ्नो उम्मेदवारी साझा भएको उपाध्यक्षका उम्मेदवार चौलागाइले बताउनु भयो । तातोपानी बासिले आफुलाइ विश्वास गरेर जिताएमा महिला, बालबालिका, युवा, पछाडि पारिएका वर्ग र समग्र त्यहाँका नागरिकहरुका समस्या समधान गर्न आफु कहिले पछि नहट्ने पनि उहाँको प्रतिबद्धता गर्नु भएको छ ।

विगतका दिन देखि घाटा र फाइदा नहेरी समाज सेवामा लागेकाले तातोपानी गाउँपालिकालाई भ्रष्टचार मुक्त बनाउने आफ्नो पहिलो अभियान हुने पनि उहाँले सुनाउनु भयो । हिंसा परेका महिला, टुहुरा अपाङ्ग हरुलाई आवासको व्यवस्था गर्ने, युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने उहाँले बताउनु भयो ।

वालवालिकाको लागि गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने चौलागाइले बताउनु भयो । सबैले उच्च शिक्षालाइ जोड दिन्छन । बालविकास अस्तव्यस्त हुन्छ । उहाँले भन्नुभयो बालबालिकाले गुणस्तरिय शिक्षा पाएमा पछि गएर उनिहरु उच्च शिक्षाको लागि आफै योग्य हुन्छन । त्यसैले आफुले ससना कुरालाइ समेटेर काम गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको छ ।