एक घर एक धारो व्यवस्थापन गर्ने मानबहादुर रोकायाको प्रतिबद्धता – Karnali News

एक घर एक धारो व्यवस्थापन गर्ने मानबहादुर रोकायाको प्रतिबद्धता

 २० बैशाख २०७९, मंगलवार १६:५८  

एनिसा हमाल, वैशाख २० जुम्ला
नेकपा एमाले कनकासुन्दरी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मानबहादुर रोकायाले एक घर एक धारो अभियानलाई पुरा गर्ने प्रतिबद्धता गर्नुभएको छ । आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्ने क्रममा उहाँले आफ्नो पहिलो प्रथामिकता खानेपानी र सरसफाईमा भएको बताउनु भयो ।

आफुले खानेपानी तथा सरसफाई क्षेत्रमा १४ वर्ष काम गरेको भन्दै उहाँले जुम्लामा एक घर धारा र एक घर चर्पी निर्माणको अभियान्ता भएको नाताले खानेपानी र सरसफाइलाई प्रथामिकतामा राखेको हुँ । व्यक्तिगत सरसफाइलाई जीवन उपयोगी शिक्षाको रुपमा विकास गर्ने, स्वच्छ खानेपानीका मुहान संरक्षणका कार्यक्रम समन्वयात्मक ढंगले अघि बढाउने आफ्नो प्रतिबद्धता रहेको उहाँले बताउनु भयो ।

सबै विद्यालयको भौतिक तथा प्रविधि मैत्री कार्यलाई विशेष जोड दिइने, छोरी शिक्षा कार्यक्रमलाई प्राथमिकता दिने, विद्यालयको पठन पाठन तथा भौतिक सौन्दर्यतालाई हेरी मूल्याकन प्रणालीको विकास गर्ने, उच्चशिक्षा अध्ययन र लोकसेवा तयारीको लागि विभिन्न कक्षा सन्चालन गरिने, खस भाषालाई विद्यालयको पाठय सामाग्रीमा आवद्ध गर्ने र खस इतिहासलाई जर्गेना गर्न खस सामुदायिक सिकाइ केन्द्र विद्यालयमा स्थापना गरिने पनि उहाँको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

आफु अध्यक्ष पदमा निर्वाचित भएमा पालिकाका वस्तीहरुमा मासिक घुम्ती स्वास्थ्य शिविर सन्चालन गर्ने, घातक रोगको उपचारको लागि विरामीलाई राहतको कार्यक्रम सन्चालन गर्ने, पालिका भरिका स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा आवश्यक पूर्वाधारर तथा दक्ष जनशक्तिको व्यवस्था गर्ने पनि उहाँले बताउनु भयो ।

पर्यटकिय क्षेत्रको विकास गरि आम्दानी बढाउनको लागि सिंजाको जिउदो इतिहासलाई संरक्षण गरि अनुसन्धानात्मक कार्य अघि वढाउने, सिंजा सभ्यतालाई देश विदेशमा चिनाउन श्रब्यदृश्य, छापाको माध्यमबाट आवश्यक कार्यको थालनी गर्ने, पुराना ताम्रापत्र, शिलापत्रको खोजि तथा संरक्षण संवद्र्धन गर्ने, ऐतिहासिक र पुरातात्विक महत्व भएका स्थानहरुको पहिचान तथा संरक्षण गर्ने लगायतका काम पनि आफ्नो प्रथामिकतामा रहेको अध्यक्ष पदका उम्मेदवार रोकायाले सुनाउनु भयो ।

आफ्नो पालिकालाई उज्यालो बनाइ राख्न कनकासुन्दरी बृहत्त हाइडो प्रोजेक्ट सन्चालनको लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरि कार्यान्वयन गर्ने, न्याउरिगाड माथिल्लोको आवश्यक सर्वेक्षण गर्ने उहाँको भनाइ छ । यस्तै नागरिकलाई कृषि क्षेत्रमा जोड दिइ आत्मनिर्भर बनाउन परम्परागत रैथाने बालीको संरक्षण र विकासको लागि भकारी कार्यक्रम संचालन गर्ने, पालिका भित्र कृषि उत्पादनलाई बृद्धि गर्न कृषि पकेट क्षेत्र घोषण गर्ने,

पशुपालनको लागि वास्तविक किसान पहिचान गरी किसान संरक्षण कार्यक्रम सन्चालन गर्ने र चरिचरन क्षेत्रलाई व्यवस्थित गर्दै एकिकृत भेडापालन कार्यक्रम सन्चालन गर्ने आफ्नो लक्ष्य रहेको पनि उहाँले बताउनु भयो । पालिका वृद्ध भत्ता, अपाङ्गता, एकल महिला भत्ता, बाल स्याहर भत्तालाई सहज तथा पारदर्शि बनाई सहज पहुँच योग्य बनाइने र पालिकाले साप्ताहिक रुपमा आफुले गरेका गतिविधिकको सार्वजनिकिकरण गर्ने पनि उहाँले प्रतिबद्धता गर्नुभएको छ ।

विभिन्न सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव आफुसंग भएकाले पनि समाजमा अझै केहि नयाँ गर्न सक्छु भन्ने विश्वास भएको उहाँले सुनाउनु भयो ।